आज सत्ताईसौँ बेथान वीरता दिवस

आज सत्ताईसौँ बेथान वीरता दिवस

नेपालमा सामन्तवाद तथा सबै किसिमका शोषण, दोहन र व्यभिचारविरुद्ध जनताले उठान गरेको वर्गसङ्घर्ष जनयुद्धले पहिलो सफलता प्राप्त गरेको र विजयपताका हल्लाएको महान् र सफल विद्रोहको उदाहरण हो बेथान मोर्चा । बेथान पानीघाटको सफल फौजी मोर्चाले २६ वर्ष पार गरी सत्ताईस वर्ष टेकेको छ । २०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धका क्रममा बेथान पहिलो सफल फौजी मोर्चा हो । त्याग, शौर्य, बलिदान र सफलता चारवटै दृष्टिले बेथान मोर्चालाई उच्च र सफल मोर्चाका रूपमा संश्लेषण गरिएको छ । जनयुद्धका महान् योद्धाहरू तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जन तीनजनाको साहसिक र वीरतापूर्ण बलिदानसँगसँगै बेथान मोर्चा सफल भएको थियो । बेथान मोर्चाको सफलतापछि महान् जनयुद्ध तीव्रता र उचाइमा अघि बढेको थियो । बेथानमा तीनजना योद्धाको रगतसँग साटिएका हतियार लिएर निस्किएको माओवादी त्यसपछि विजयको झन्डा फहराउँदै देशभर विस्तारित भएको थियो । मरणोन्मुख दलाल पुँजीवाद र साम्राज्यवादको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि बेथान वीरता दिवस अत्यन्त महत्वपूर्ण सन्देश र ऊर्जाका रूपमा रहेको छ ।

विश्व–सर्वहारा वर्गका महान् गुरु दार्शनिक कार्ल मार्क्सले एउटा सन्दर्भमा भनेका थिए– इतिहास दुईपटक दोहोरिन्छ : पहिलोपटक वियोगान्तका रूपमा र दोस्रोपटक मजाक वा प्रहसनका रूपमा । आज नेपालमा संसद्वादको पहरेदार बनेका दलाल पुँजीवादका पक्षधरहरूले कार्ल मार्क्सले डेढ सय वर्षभन्दा पहिले भनेको उक्त उक्तिलाई चरितार्थ गरिरहेका छन् । कुनै दिन संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखाना हो भन्ने प्रशिक्षण दिँदै ‘कम्युनिस्ट’ बनेका र झापा विद्रोह तथा जनयुद्धको नेतृत्व गरेका केपी वली र पुष्पकमल दाहालहरूले दलाल पुँजीवाद टिकाउन बारम्बार गरेको नौटङ्की र कलाविहीन नाटकले कार्ल मार्क्सको महान् उक्ति साबित गरिरहेका छन् । आज मुलुक आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रबाट झन्झन् जर्जर बनिरहेको छ । अमेरिकी साम्राज्यवाद एमसीसीलगायत साम्राज्यवादी उद्देश्य र लक्ष्य बोकेका विषाक्त योजनाहरू लाद्दै देशभित्र छिरेको छ । भारतीय साम्राज्यवाद नग्नतापूर्वक नेपालको राजनीतिक सत्तामा हस्तक्षेप गरिरहेको छ । उसले नेपालको भूगोलमाथि समेत निरन्तर अतिक्रमण, कब्जा र दादागिरी मच्चाउँदै आएको छ । यस्तो अवस्थामा राजनीतिक सङ्कटको समाधानका लागि पनि बेथानको बलिदान र विजय स्मरण र अनुकरणयोग्य छ ।

दलाल पुँजीवादले देश र जनतामाथि झन्झन् उत्पीडन थोपरिरहेको छ । नेपाललाई युद्धमैदान बनाउन, आफ्नो साम्राज्यवादी स्वार्थ पूर्ति गर्न अमेरिकी साम्राज्यवाद एमसीसीलगायत खतरनाक सम्झौता गराएर देशमा भित्रिएको छ भने भारतीय साम्राज्यवाद नेपालको भूमि मात्र होइन, राजनीतिमाथि पनि डोजर चलाइरहेको छ । यस्तो अवस्थामा नेपाली जनताका सामु आफू मुक्त हुन र देशलाई मुक्त बनाउन प्रतिरोध गर्नुको विकल्प छैन । यस किसिमको प्रतिरोधी चेतना र क्षमताको विकास बेथानको शक्तिशाली मोर्चाबाटै प्राप्त हुनसक्नेमा दुईमत हुन सक्तैन ।

नेपालका दलाल पुँजीवादका मतियार राजनीतिक दलहरू इतिहासमै सबैभन्दा बढी असफल, बदनाम र विवादित बनेका छन् । सत्तास्वार्थका लागि विचार, सिद्धान्त, राजनीतिक इमानदारी, न्यूनतम मूल्यमान्यता सबैलाई स्वाहा पार्दै कहिले यता र कहिले उता झुल्नाले जनताको मनमा यो व्यवस्था र यसका सञ्चालकहरूप्रति अत्यन्त ठूलो घृणा र निराशा उत्पन्न भएको छ । बेथानको बलिदानकै कारण शक्तिमा आएको पार्टी माओवादीकै मुख्य नेता नै गतिछाडा बनेर दलाल पुँजीवादी सत्ताको मतियार बनेको र तुच्छ स्वार्थका लागि कहिले यो छेउ र कहिले ऊ छेउ पुगेर जनतामा चरम निराशा र घृणा उत्पन्न गराएको अवस्था छ । यति बेला नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले आस्था र निष्ठाको रक्षा र विकासका लागि पनि बेथानको बलिदानलाई मानक बनाउनुपर्छ ।

असली मालेमावादी क्रान्तिकारीहरूले मङ्गलबार २७ औँ बेथान वीरता दिवस मनाएका छन् । बेथान वीरता दिवस नेपालमा राजतन्त्रात्मक दलाल संसदीय व्यवस्थाविरुद्ध नेपाली जनताले हतियारबद्ध लडाइँ लडी विजय प्राप्त गरेको पहिलो सफल फौजी मोर्चाको सम्मानमा स्थापित जनयुद्ध सिर्जित नयाँ पर्व हो । रामेछाप जिल्लाको बेथान पानीघाटमा रहेको तत्कालीन सत्ताको रक्षक प्रहरीचौकीमाथि धावा बोलेर तत्कालीन नेकपा (माओवादी) ले २०५३ साल पुस १९ गते ऐतिहासिक विजय प्राप्त गरेको थियो भने उक्त विजयका लागि तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनजस्ता होनहार योद्धाहरूको बलिदान भएको थियो । राजतन्त्रात्मक पुरातन सामन्ती व्यवस्थाको अन्त्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भएको उक्त बलिदानपछि नेकपा (माओवादी) को विजय अभियान देशैभरि आरम्भ भएको थियो । बेथान वीरता दिवसको आरम्भ गर्नेमध्येका पुष्पकमल दाहाल, बाबुराम भट्टराई र रामबहादुर थापाहरू यति बेला पानीघाटबाट पतन आरम्भ भएर दलाल पुँजीवादमा भ्रष्टीकरण भएको पुरानो सत्ताको पहरेदार बनेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले विद्रोहको झन्डा बोक्दै त्यति बेलाको माओवादीको स्थान ग्रहण गरेको छ । हिजोको जनयुद्ध र आजको एकीकृत जनयुद्धको कार्यदिशाको स्वरूप फरक भए पनि उद्देश्य र लक्ष्य एउटै हो । राज्यबाट खेप्नुपरेको कहर उस्तै हो । विकसित कार्यदिशामा गन्तव्य एउटै हो । तीफदिलगायत बेथानमा बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै २७ औँ वीरता दिवसको स्पिरिटलाई नयाँ उचाइमा लग्नुपर्ने आवश्यकता झन् बढेको छ । वैकल्पिक क्रान्तिकारी सत्ताको पहलमा लागेका शक्तिहरूले बेथान वीरता दिवसको मर्म र भावलाई आत्मबोध गर्दै नयाँ निकासका लागि पहल गर्ने र क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकताका माध्यमबाट त्यो वीरता र बलिदानको सच्चा अर्थमा सम्मान गर्ने आशा र विश्वास गर्न सकिन्छ । त्याग, शौर्य र बलिदानशिवाय अरू बाटोबाट मुक्तिको सपना देख्नु मृगमरीचिका शिवाय केही होइन । बेथानका तीफदिलगायत वर्गसङ्घर्षका महान् सहिदहरू लामसलाम ! बेथान बलिदान दिवस अमर र प्रेरणादायी रहोस् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :