ऐतिहासिक बेथान वीरता दिवस

नेकपा (बहुमत) द्वारा तीर्थ, फत्त, दिलमायालगायत महान् सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली

ऐतिहासिक बेथान वीरता दिवस

सन्दर्भ : २७ औँ बेथान वीरता दिवस

काठमाडौँ : नेकपा (बहुमत) ले २७ औँ बेथान वीरता दिवसका सन्दर्भमा ऐतिहासिक मोर्चा रामेछापको बेथानमा वीरता र साहस प्रदर्शन गरी बलिदान गर्ने महान् सहिदहरू तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता सुदर्शनले २७ औँ वीरता दिवसका सन्दर्भमा मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै बेथानको मोर्चा नै जनयुद्धको पहिलो सफल कारबाही रहेको र यसले नै फौजी कारबाहीका ढोकाहरू खोलिदिएको स्मरण गराउँदै पार्टीले उक्त दिनलाई वीरता दिवसका रूपमा स्मरण गर्दै आएको पनि प्रस्ट पारेका छन् ।

प्रेस वक्तव्यमा प्रवक्ता सुदर्शनले भनेका छन्, ‘तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले महान् जनयुद्धको उद्घोष गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य किटान गरेको थियो । तत्कालीन अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यप्रणालीका विरुद्ध नेपाली आमाका असल सन्तानले हतियारसहित विद्रोह गरेका थिए । त्यही क्रममा राज्यद्वारा गरिएका सबैखाले दमनलाई चिर्दै जनताका दुस्मनका विरुद्ध २०५३ साल पुस १९ गते तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनको उच्च बलिदानबाट बेथान प्रहरी चौकी कब्जा भएको थियो । यो नै जनयुद्धको पहिलो सफल कारबाही थियो र यसले नै फौजी कारबाहीका ढोकाहरू खोलिदिएको थियो । हामीले उक्त दिनलाई वीरता दिवसका रूपमा स्मरण गर्दै आएका छौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘वास्तवमा त्यो फौजी कारबाही र त्यहाँ भएको बलिदानले बसालेको जगले नै नेपालमा सामन्ती राजतन्त्रको अन्त्य सम्भव भएको हो । यसै वीरता दिवसका अवसरमा हामीले बेथान आक्रमणबाट शिक्षा लिएका छौँ । २७ औँ बेथान वीरता दिवसका सन्दर्भमा नेपालका सबै उत्पीडित, शोषित र दमित जनताका पक्षमा सचेततापूर्वक बलिदान गर्ने आदरणीय सहिदहरू कमरेड तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।’

पुस १९ गते अर्थात् बेथान वीरता दिवस । यो दिन नेपालको वर्गसङ्घर्षको इतिहासमा एक ऐतिहासिक महत्वको दिन हो । नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते आकाश–धर्ती हल्लाउँदै महान् जनयुद्ध आरम्भ गरेपछि आफ्नो पहिलो थालनीको योजनाका प्रमुख तीन उद्देश्यमध्ये पहिलो उद्देश्य ‘सङ्घर्षको रूप युद्ध, पार्टीको रूप फौजी कार्य’ निर्धारण गरेको थियो । सोही उद्देश्य कार्यान्वयन गर्ने क्रममा माओवादी जनछापामारहरूले रामेछापको बेथान पानीघाटमा रहेको प्रहरीचौकीमाथि आक्रमण गरी तीर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनको बलिदानीका साथ जनयुद्धको पहिलो फौजी मोर्चा सफल बनाएका थिए । सामन्तवाद र दलाल पुँजीवादको अन्त्य गरी हिमालयको देशबाट जनयुद्धको सफलताको सुखद सन्देश दिन सफल भएकाले बेथान पानीघाट मोर्चा जितेको दिनलाई बेथान वीरता दिवसका रूपमा चित्रित र स्थापित गरिएको थियो । नेकपा (बहुमत) लगायत नेपालका क्रान्तिकारी शक्तिले २७ औँ बेथान वीरता दिवसका दिन उक्त विजयको सन्देशलाई नेपालमा क्रान्ति सम्पन्न नभएसम्म जारी राख्ने उद्घोष गरेका छन् ।

जनयुद्ध आरम्भ भएपछि नेकपा (माओवादी) ले देशव्यापी फौजी–गैरफौजी कारबाही अघि बढाएको थियो । फौजी–गैरफौजी कारबाही सफल पार्न माओवादीले स्वयम्सेवक दल, सुरक्षा दल र लडाकु दल निर्माण गरेर जनसेना निर्माणको प्रारूप खडा गरेको थियो । बेथान पानीघाटको मोर्चा माओवादीको त्यही छापामार दलले सम्पन्न गरेको थियो ।

२०५३ साल पुस १९ गते राती नेकपा (माओवादी) पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथानमा छापामार दस्ताबाट सशस्त्र फौजी कारबाही सम्पन्न भएको थियो । उक्त फौजी कारबाहीमा पूर्वाञ्चल उपक्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर तीर्थ गौतम, छापामार सदस्य दिलमाया बम्जन र फत्तबहादुर स्माली मगरले तत्कालीन सत्ताका प्रहरीसँग लड्दालड्दै युद्धमैदानमै वीरगति प्राप्त गरेका थिए । जनयुद्धको पहिलो सफल फौजी मोर्चा भएकाले माओवादीले जनयुद्धकालभर उक्त मोर्चालाई बेथान वीरता दिवसका रूपमा मनाउँदै र वीरता दिवसका दिन विशेष फौजी कारबाही गर्दै आएको थियो । माओवादी जनयुद्धबाट आएका क्रान्तिकारी शक्तिहरूले अहिले पनि बेथान मोर्चालाई बेथान वीरता दिवसका रूपमा जनयुद्धसिर्जित त्याग, शौर्य, वीरता, बलिदान र ऐतिहासिक सफलताको नयाँ पर्वका रूपमा मनाउँदै आएका छन् ।

माओवादीले जनयुद्ध आरम्भ गर्दा थालनीको योजनाअन्तर्गत ‘योजनाबद्ध ढङ्गले छापामार इलाका निर्माण गरौँ’ भन्ने मूल नारासहित २०५३ साउन महिनादेखि नै दोस्रो योजना शानदार ढङ्गले अघि बढाइरहेको थियो । उक्त योजनाको मूल उद्देश्य (क) छापामार इलाकाको निर्माण गर्ने, (ख) युद्धसामग्री कब्जा गर्ने र दुस्मनको शक्ति छिन्नभिन्न गर्ने र (ग) छापामार इलाका निर्माणका लागि व्यापक जनपरिचालन गर्ने रहेका थिए । जनयुद्धका एक कुशल कमान्डर सहिद रीतबहादुर कार्की ‘प्रताप’ ले बेथान मोर्चाको दोस्रो वर्ष अर्थात् दोस्रो वीरता दिवसका सन्दर्भमा आफ्नो संस्मरणमा लेखेका छन्, ‘प्रारम्भिक अवस्थामै दोस्रो योजना अद्भुत ढङ्गले देशव्यापी रूपमा सफल भइरहेका थिए । यसका विरुद्ध दुस्मनको शक्तिसमेत हत्या, हिंसा, दमन र धरपकड नयाँ–नयाँ हथकण्डाहरू अवलम्बन गर्दै जनयुद्धको गला रेट्ने भगीरथ कोसिस गरिरहेको थियो । दुस्मन दोस्रो योजनालाई हरतरहले विफल पार्न र माओवादीलाई तहसनहस पार्न प्रयत्नशील थियो । यस्तो कठिन परिस्थितिमा उच्च साहस, शौर्य र विवेकको उचित सन्तुलनबेगर दुस्मनको फौजी अखडामा धावा बोलेर घरेलु र कमसल हतियारले परास्त पार्न प्रायः सम्भव थिएन । जब सिङ्गो पार्टी र योजनाको उद्देश्यले उच्च फौजी कारबाहीको अपेक्षा गरिएको थियो ठीक त्यही परिस्थितिमा बेथान फौजी कारबाहीका बारेमा उत्कर्ष बन्न पुग्यो ।’

नेता प्रतापले मालेमावादप्रति प्रतिबद्ध बेथान कारबाही, सर्वहारावादी उच्च नैतिकता र आदर्शको प्रतीक बेथान, क्रान्तिकारी वीरता, साहस र विवेकको अनुपम सङ्गमको प्रतीक बेथान, छापामार युद्धकौशलको भरपूर उपयोग भएको बेथान, जनसेना निर्माणको उद्गम–बिन्दुका रूपमा बेथान, दोस्रो योजनाको उत्कर्ष बिन्दु बेथानका रूपमा संश्लेषण गरेका छन् । यानप्रसाद गौतम ‘आलोक’ ले पनि बेथान मोर्चालाई ऐतिहासिक सफल मोर्चा भनेर उल्लेख गरेका छन् ।

सहिद प्रतापले २०५३ सालको पुस १९ गते रामेछापको बेथानमा भएको ऐतिहासिक सफल कारबाही क्रान्तिकारीहरूका निम्ति अत्यन्तै अनुकरणीय र प्रेरणापुञ्जकारी युगान्तकारी घटनाका रूपमा स्थापित भएको र यसको दूरगामी महत्व झन्–झन् अभिव्यक्त भइराखेको पनि संश्लेषण गरेका छन् । बेथान पानीघाट मोर्चामा बलिदान गर्ने महान् सहिद तीफदि नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको गोरेटो बनेका छन् । बेथानको वीरता, शौर्य र बलिदानको स्मरण गर्नु र बेथान वीरता दिवस मनाउनुको अर्थ तत्कालीन सन्दर्भमा महान् आधारइलाकालाई निर्माण, रक्षा र सुदृढीकरणका निम्ति उचित ढङ्गले सचेततापूर्वक रगत बगाउनका लागि लागिपर्नु थियो भने दलाल पुँजीवादको अत्यन्त निकृष्ट र भद्दा रूप अघि आइरहेको र साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणहरू बढिरहेको वर्तमानमा महान् जनयुद्धका कार्यभार पूरा गर्न एकीकृत जनयुद्ध अर्थात् नयाँ जनवादी र वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने निरन्तर क्रान्तिको अभियानमा निरन्तर इमानदारीपूर्वक लामबद्ध हुनु हो र क्रान्तिलाई सम्पन्न गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :