नेकपा (बहुमत) द्वारा फणिनारायण पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले ८४ वर्षको उमेरमा निधन भएका महान् सहिद शिव पौडेलका बुवा फणिनारायण पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित समवेदना व्यक्त गर्दै चितवन जिल्ला सम्मेलन आयोजक समितिका सदस्य गोपाल पौडेललाई समवदेनापत्र हस्तान्तरण गरेका छन् । भरतपुर महानगरपालिकास्थित ११ नं. वडामा बुधबार श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय संयोजक कञ्चनले वि.सं. १९९५ साउन २४ गते कुर्घा, पर्वतमा जन्मनुभएका फणिनारायण पौडेलको २५ गते भएको दुःखद निधनले हाम्रो पार्टी स्तव्ध एवम् मर्माहित भएको बताएका हुन् ।

फणिनारायण पौडेलको स्मृतिमा आयोजित उक्त श्रद्धाञ्जली सभामा पार्टीका सचिवालय सदस्य दिपक, चितवन जिल्ला इन्चार्ज महेशलगायत जिलाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई चितवन जिल्ला संयोजक विजय शर्माले सञ्चालन गरेका थिए ।

संयोजक कञ्चनद्वारा हस्ताक्षरित समवेदना पत्रमा भनिएको छ, ‘महान सहिद क. शिव पौडेल तथा हाम्रो पार्टीका जिल्ला सम्मेलन आयोजक समितिका सदस्य क. गोपाल पौडेल, बामपन्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नु भएका क. नारायण पौडेल तथा क. कुन्दन पौडेलका बुवा फणिनारायण पौडेलको यहि मिति २०७९ मङ्सिर २५ गतेका दिन भएको दुःखद निधनले हाम्रो पार्टी नेपाल कयुनिस्ट पार्टी (बहुमत) स्तव्ध एवम् मर्माहित भएको छ । यस दुःखद घडीमा सम्पूर्ण शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने हिम्मत प्राप्त होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :