महान् माओ–स्टालिनको सम्मानमा

महान् माओ–स्टालिनको सम्मानमा

युग परिवर्तनको नेतृत्व गर्ने महान् विचारक, योद्धा र नेतृत्वहरू युगौँगुगमा वर्गसङ्घर्षले जन्माउँछ । यो एक साता संसार परिवर्तनको नेतृत्व गर्ने दुई महान् विचारक र योद्धाहरूको जन्मदिवसको साता हो । माक्र्सवादका सफल प्रयोगकर्ता महान् लेनिनका विचारहरूलाई लेनिनवादका रूपमा संश्लेषण गर्ने र विश्वको करिब एकतिहाइ भूभाग समेटेको सोभियत सङ्घमा फहराएको वैज्ञानिक समाजवादको लालझन्डाको रक्षा र विकासका साथै नाजिवाद र फासिवादलाई ध्वस्त पार्ने क्षमताका कमरेड जोसेफ स्टालिन र लेनिनवादलाई माओवादमा विकास गर्दै साम्राज्यवादलाई हावाकावा खेलाउने र करोडौँ चिनियाँ श्रमिक किसान वर्गलाई वैज्ञानिक समाजवादको फल चखाउँदै मालेमालाई नयाँ उचाइमा उठाउने कमरेड माओ त्सेतुङको जन्मदिवसको साता हो यो । संसारभरका मालेमावादीहरू यति बेला एकैसाथ कमरेड माओ र स्टालिनका योगदानहरूको सम्झना गर्दै र मालेमाको प्रयोग गर्दै माओ र स्टालिन दिवस मनाइरहेका छन् । मरणोन्मुख साम्राज्यवाद अन्तिम निःस्वास लिइरहेको समयमा त्यसको अन्त्य र उत्पीडित वर्ग, जनता र देशहरूको मुक्तिका लागि पनि महान् स्टालिन र माओका विचारहरूको आवश्यकता बढिरहेको छ । त्यसैले संसारकै उत्पीडित वर्गले महान् स्टालिन र माओलाई हृदयैदेखि स्मरण गर्दै उहाँहरूले अघि सारेको विचार र व्यवहारलाई हृदयङ्गम गर्नु आवश्यक छ । दुवैजना अग्रज, बौद्धिक, विचारक र योद्धाहरू विश्वसर्वहारा वर्गका गुरु तथा महान् नेता हुनुहुन्थ्यो । पुस ६ गते विश्व सर्वहारा वर्गका महान् नेता कमरेड जोसेफ स्टालिन र पुस ११ गते अर्का युगपुरुष माओ त्सेतुङको जन्मोत्सवको दिन हो । नेपालबाट, श्रमिक वर्गका तर्फबाट हामी उहाँहरूलाई सम्झन चाहन्छौँ र उहाँहरूले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने प्रण गर्दछौँ ।
क. स्टालिन एकजना गरिब, सार्की परिवारमा जन्मेर हुर्केका नेता हुनुहुन्थ्यो । उहाँ जर्जियाको गरिब परिवारबाट आन्दोलनमा आउनुभयो र सधैँभरि महान् लेनिनको निकट रहेर बोल्सेबिक क्रान्तिको नेतृत्व गर्नुभयो । क. लेनिन र क. स्टालिनका बीचमा अनुपम एकता थियो । अदम्य विश्वास थियो । जनजाति पृष्ठभूमिका नेता भएका कारण रुसको जनजाति आन्दोलनका विषयमा विचार निर्माणको काम लेनिनले स्टालिनलाई सुम्पिनुभएको थियो । आन्दोलनका क्रममा उहाँ पटकपटक गिरफ्तार हुनुभयो र साइबेरिया निर्वासनमा पठाइयो । निर्वासनको घेरा तोडेर उहाँ पटकपटक पार्टी सम्पर्कमा आउनुभयो । क्रान्तिका कठिन क्षणमा जहाँ समस्या हुन्छ, त्यहाँ लेनिनले स्टालिनलाई पठाउनुहुन्थ्यो । हरेक निर्णयमा स्टालिनको उपस्थिति लेनिनका लागि अनिवार्य थियो । महान् लेनिनको असामयिक निधनपछि हिटलरको नेतृत्वमा बेलायत र अमेरिकाको अप्रत्यक्ष सहयोगमा समाजवादी शिविरको केन्द्र सोभियत सङ्घमाथि आक्रमण भयो । हिटलरसँगको लडाइँको अग्रीम मोर्चामा स्टालिन आफैँ भिड्नुभयो । हिटलरलाई सोभियत सङ्घले पराजित मात्र गरेन, पूर्वीयुरोपभरि क्रान्तिको विस्तार भयो । स्टालिनले सर्वहारा वर्गको अधिनायकत्वलाई दह्रोसँग लागू गर्नुभयो । समाजवादी सत्ताको निर्माण गर्नुभयो । आज स्टालिनलाई क्रान्तिकारीहरूले क्रान्तिनायकका रूपमा र दुष्टहरूले अधिनायकवादीका रूपमा हेर्छन् । सर्वहारा वर्गको अधिनायकत्व लागू गर्ने स्टालिन आफ्नो वर्गका लागि सदा प्रेरणादायी व्यक्तित्व रहिरहनुहुनेछ ।

कमरेड माओ त्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा भएको थियो । माओको जन्म चीनको साओसान हुनानको एक किसान परिवारमा भएको थियो । जीवनको पूर्वाद्र्धमै माओ देशभक्त र साम्राज्यवादविरोधी हुनुहुन्थ्यो । १९११ को सिन्हाई क्रान्ति र १९१९ को चौथो मई आन्दोलनले उहाँको जीवनमा निकै नै प्रभाव पा¥यो । पेकिङ विश्वविद्यालयमा काम गर्दै गर्दा उहाँ माक्र्सवाद-लेनिनवादलाई अङ्गीकार गर्दै १९२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापक सदस्य बन्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक कमरेड माओले चिनियाँ क्रान्तिको कार्यदिशालाई लिएर १२ वर्षसम्म पार्टीभित्र भीषण अन्तरसङ्घर्ष चलाउनुभयो । त्यसक्रममा उहाँलाई ‘सैन्य अवसरवादी’ को आरोप लगाएर पार्टीभित्र कारबाही पनि गरियो । अरू नेताहरू आफूलाई सही क्रान्तिकारी भएको भन्दै साङ्घाईमा लुकेको बेलामा दुर्गम पहाडी गाउँ चिङकाङसानमा गरिब किसानहरूका बीचमा रहेर माओले विचारको प्रचार गर्नुभयो । किसान सङ्गठनहरू निर्माण गर्नुभयो । १९२८ मा नै उहाँले ‘जब दुस्मन बलियो हुन्छ हामी फर्किन्छौँ, जब दुस्मन आराम गर्छ हामी उसलाई सताउँछौँ । जब दुस्मनले युद्धमैदान छाड्छ हामी उसमाथि आक्रमण गर्दछौँ, जब दुस्मन भाग्छ अनि हामी बलियो हुन्छौँ’ भन्नुभएको थियो । यो च्याङ काइसेकले नेतृत्व गरेको कोमिन्ताङ सत्ताका विरुद्धको माओको उद्घोष थियो । उहाँको यो भनाइमा चिनियाँ जनवादी क्रान्तिको नयाँ कार्यदिशा बोलेको थियो— दीर्घकालीन जनयुद्ध । त्यसैले माओको पहिलो योगदान भनेको तत्कालीन चीनजस्तो अर्धसामन्ती र अर्धऔपिनवेशिक देशमा गाउँले सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति गर्ने सिद्धान्तको प्रतिपादन हो ।

लेनिनले प्लेखानोभ, कार्ल काउत्स्कीजस्ता संशोधनवादीहरूसँग वैचारिक सङ्घर्ष गर्दा भन्नुभएको थियो, ‘माक्र्सवाद कुनै जीवनहीन जडसूत्र होइन ।’ माओले दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादमा जाने नयाँ बाटो निर्माण गर्नुभयो । यसका लागि उहाँले आफूभन्दा योग्य भनिएका, धेरै पढेका र बुझेका भनिएका माक्र्सवादी पण्डितहरूसँग लगातार १२ वर्ष लड्नुप¥यो । माओले लि लि सानदेखि लिन प्याओसम्म १० वटा भीषण अन्तरसङ्घर्षहरूलाई झेल्नुभएको छ ।
१९२७ मा जब माओलाई कारबाही गरिएको थियो, त्यो समयमा उहाँले हुनान किसान आन्दोलनको रिपोर्ट तयार पार्नुभएको थियो । त्यही रिपोर्ट नै चीनको वर्गविश्लेषणको आधार दीर्घकालीन जनयुद्धको कार्यदिशाको मार्गदर्शक थियो । त्यसपछि उहाँले ‘व्यवहारबारे’ लेख्नुभएको थियो । यी तीनवटै रचना चिनियाँ क्रान्तिका सैद्धान्तिक पक्ष निर्माणका आधारहरू हुन् । चीनमा चलेको वर्गसङ्घर्ष र पार्टीभित्र लामो समयसम्म चलेको अन्तरसङ्घर्षको अनुभवलाई सैद्धान्तिकीकरण गर्दै १९३७ मा एउटा दार्शनिक लेख लेख्नुभयो-अन्तरविरोधहरूबारे ।
माओको अर्को योगदान भनेको राष्ट्रिय मुक्ति आन्दोलनका लागि संयुक्त मोर्चाको अवधारणा विकास गर्नु र लागू पनि गर्नु हो । त्यसैको फलस्वरूप १९३५ देखि १९४० सम्म जापानी साम्राज्यवादविरुद्ध च्याङ काइसेकको सरकारसँग संयुक्त मोर्चा निर्माण भएको थियो । च्याङ काइसेकसँगको संयुक्त मोर्चा भङ्ग भएपछि पुनः १९४० देखि १९४९ सम्म माओले गृहयुद्धको नेतृत्व गर्दै एकैचोटि सबैखाले साम्राज्यवाद, घरेलु प्रतिक्रियावादी च्याङ काइसेकको कोमिन्ताङ सत्तालाई विस्थापित गरी नयाँ जनवादी गणतन्त्र चीनको स्थापना गर्नुभएको थियो । जनवादी गणतन्त्रको स्थापनासँगै चिनियाँ कम्युनिस्ट पार्टी र सत्तामा फेरि फरक रूप र रङमा पुँजीवादले ल्यु साओ चिको नेतृत्वमा टाउको उठाउन थाल्यो । १९५६ मा भएको पार्टीको आठौँ महाधिवेशनमा त माओ नै अल्पमतमा पर्नुभयो । त्यसको लगत्तै उहाँले पार्टीभित्रका पुँजीवादीहरूविरुद्ध १९५८ मा महान् अग्रगामी छलाङ अभियान सञ्चालन गर्नुभएको थियो । त्यसैको विकसित रूप १९६६ बाट सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति हो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य भनेको निरन्तर क्रान्ति हो । माओले पार्टीभित्र विकसित हुन थालेको प्रतिक्रान्ति र सत्तामा पुँजीवादको पुनस्र्थापनालाई लिएर विद्रोह बोल्नुभयो-विद्रोह गर्नु जनताको अधिकार हो । साथै पुँजीवादी बन्दै गरेको मुख्यालयविरुद्ध धावा बोल्न पनि आह्वान गर्नुभयो-बुर्जुवा हेडक्वार्टरमा बमबार्ड गर भनेर । उक्त सर्वहारा सांस्कृतिक क्रान्ति पूरा हुनुभन्दा पहिला नै माओको १९७६ मा निधन भयो । माओको निधनको २ वर्षपछि १९७८ मा तेङ सियाओ पिङले सुधारका नाममा प्रतिक्रान्ति गरी क्रान्तिकारी विचारमाथि दमन आरम्भ गरेका थिए ।
माओले माक्र्सवाद-लेनिनवादलाई माक्र्सवाद-लेनिनवाद-माओवादमा विकास गर्नुभयो जुन सार्वभौम नियमहरूका रूपमा अहिले पनि विश्वमा प्रयोग भैराखेको छ । माक्र्सवादका तीनवटा सङ्घटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र त्यसमा मुख्यतः नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद र राजकीय पुँजीवादका विशेषताहरूको पहिचान र चित्रण गर्नुभयो भने वैज्ञानिक समाजवादमा नयाँ जनवाद हुँदै समाजवादसम्म पुग्ने बाटोको खोज गर्नुभयो । त्यसैले माओको १ सय ३० औँ जन्मदिवस मनाइरहँदा विश्वका क्रान्तिकारीहरूले माओका योगदानहरूको स्मरण गर्दैगर्दा माक्र्सवाद-लेनिनवाद-माओवादमा माक्र्सवादका आधारभूत कुराहरूलाई दह्रोसँग पक्डेर विकास गर्नुपर्छ भन्ने कुरालाई आत्मसात गर्न जरुरी छ । महान् स्टालिन र महान् माओका विचारहरू अमर रहून् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :