अखिल (क्रान्तिकारी) को सदस्य यस्तो हुनुपर्छ

अखिल (क्रान्तिकारी) को सदस्य यस्तो हुनुपर्छ

पृष्ठभूमि
सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण इतिहास निर्माण गरेको विद्यार्थी आन्दोलन यति बेला आशङ्का, अविश्वास र नैतिक सङ्कटको उत्कर्षमा छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा समग्र विद्यार्थी आन्दोलनलाई पुनर्सङ्गठित गर्नुपर्ने आवश्यकता सिर्जना भएको छ । समग्र समाज र स्वयम् विद्यार्थीले विद्यार्थी आन्दोलनमाथि उठाएको प्रश्नको जबाफ मात्र दिएर पुग्दैन, समाधानसमेत दिनुपर्नेछ । स्थापनाकालदेखि नै न्याय, मुक्ति र समानताका लागि हजारौँ योद्धाको बलिदानी बेहोर्दै समस्त समाजको क्रान्तिकारी पुनर्संरचना गर्ने आन्दोलनको पहिलो पहलकर्ता र अग्रदस्ताको ऐतिहासिक भूमिका निर्वाह गरेको विद्यार्थी आन्दोलनमाथि प्रश्न उठ्नुले समग्र विद्यार्थी आन्दोलनले गम्भीर समीक्षा गर्न आवश्यक भएको छ । प्रश्न र आशङ्काको बीचबाट प्रतिगामी, यथास्थितिवादी, प्रतिक्रियावादी, संशोधनवादी, संसद्वादी र अवसरवादी धारका विरुद्ध निरन्तर सङ्घर्ष र विद्रोह गर्दै अग्रगामी र क्रान्तिकारी धारको पक्षपोषण तथा नेतृत्व गर्दै अखिल (क्रान्तिकारी) ले आफ्नो जुझारु र क्रान्तिकारी विशेषता कायम गरेर क्रान्तिकारी विद्यार्थी आन्दोलनको विरासत कायम गरिराखेको छ। जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा खरो उत्रिने प्रयत्न गरिरहेको छ ।
विषय प्रवेश
सङ्घर्षको आँधीबेहरीमा जन्मिएको अखिल (क्रान्तिकारी) वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीको साझा र नेतृत्वदायी सङ्गठन हो । यो सङ्गठन क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हो । शिक्षामा आमूल रूपान्तरणका लागि राजनीतिक सत्ताको समग्र रूपान्तरणको वैज्ञानिक सत्यप्रति स्पष्ट र दृढ रहँदै वर्तमानमा आमशैक्षिक सुधारका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादी क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गरिरहेको छ । वैज्ञानिक समाजवादी क्रान्तिमा सङ्गठनले आफ्नो ऐतिहासिक भूमिका पूरा गर्न सङ्गठनको वैज्ञानिक कार्यदिशा, कार्यक्रमसँगै दृढ, प्रतिबद्ध, जुझारु र प्रतिभावान् नेता–कार्यकर्ताको आवश्यकता पर्छ । जनताको अपेक्षा र क्रान्तिको आवश्यकतामा खरो उत्रिन सङ्गठनका हरेक सदस्य कस्तो हुनुपर्छ भन्ने विषयमा यहाँ चर्चा गरिनेछ ।
हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) ले समग्र विद्यार्थी आन्दोलनमाथि आशङ्का र अपेक्षासहित गरेका प्रश्नहरूलाई, विदेशीको डलर डकारेर विद्यार्थी आन्दोलनको आवश्यकता छैन भन्नेहरूलाई र नैतिक मूल्य–मान्यता र आदर्शबाट च्यूत भएर क्रान्तिकारीलाई खिसीट्युरी गर्नेहरूलाई बोलेर, लेखेर र सबैभन्दा बढी काम गरेर जबाफ दिनुपर्नेछ । शिक्षामा आमूल रूपान्तरणको आन्दोलनलाई वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा एकाकार गर्न आवश्यक छ । विद्यार्थी आन्दोलनको गौरवमय विरासत कायम गर्न र नयाँ इतिहास निर्माण गर्न अखिल (क्रान्तिकारी) को हरेक सदस्य कस्तो हुनुपर्छ, निम्नानुसार उल्लेख गरौँ :
१. विचारमा स्पष्ट र क्रान्तिमा प्रतिबद्ध
अखिल (क्रान्तिकारी) मालेमावादी विश्वदृष्टिकोणबाट प्रेरित मुलुककै सबैभन्दा अग्रगामी एजेन्डा र कार्यदिशायुक्त सङ्गठन हो । सङ्गठनका हरेक सदस्यले सङ्गठनले अङ्गीकार गरेको राजनीतिक–शैक्षिक कार्यदिशामा स्पष्ट हुनुका साथै आमूल परिवर्तनको सङ्घर्षमा प्रतिबद्ध हुनुपर्छ । समाजमा रहेको वर्गीय विभेदको हल नहँुदासम्म वर्गसङ्घर्ष अनिवार्य हुन्छ र क्रान्तिको सम्भावना रहिरहन्छ भन्ने कुरामा पनि प्रस्ट हुन जरुरी छ । वैज्ञानिक समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवादी सत्ताको अनिवार्यतालाई आत्मसात गर्नुपर्छ । विचारमा स्पष्ट र क्रान्तिमा प्रतिबद्ध भएर मात्र क्रान्तिकारीका सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दछन् । नियमित अध्ययन गर्नुका साथै नियमित स्कुलिङ, प्रशिक्षणमा सहभागी भएर विचारमा स्पष्टता हासिल गर्न सकिन्छ र हरेक न्यायिक सङ्घर्षमा अग्रभागमा रही सहभागी भएर क्रान्तिप्रतिको प्रतिबद्धता जाहेर गर्न सकिन्छ ।
२. सङ्घर्षमा जुझारु र साहसी
शोषण, उत्पीडन र विभेदको स्रोत पुँजीवादी सत्ता जी–हजुरी र अनुरोधमा बदल्न सकिँदैन । पुरानो सत्ता फालेर नयाँ जनताको सत्ता स्थापना गर्न भीषण सङ्घर्ष गर्नुपर्छ । ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओको भनाइको मर्मबोध गर्दै अखिल (क्रान्तिकारी) सबैखाले भीषण सङ्घर्षका लागि तयार हुनुपर्छ । प्रत्येक सदस्यको मुख्य प्रवृत्ति सङ्घर्ष गर्ने हुनुपर्छ । सङ्घर्षको हरेक मोर्चामा अग्रभागमा रहेर सहभागी बन्ने, निर्णायक सङ्घर्षका लागि पहिलो पहल लिने, उत्प्रेरक बन्ने साहस गर्नुपर्छ । बलिदानका हजारौँ कोटा चुक्ता गरेको अखिल (क्रान्तिकारी) का हरेक सदस्यले सङ्घर्षको दौरानमा बलिदान हुनसक्ने सम्भावनालाई साहसर्पुूक स्वीकार गर्नुपर्छ । पिठ्युँ फर्काएर भाग्ने क्रान्तिकारी हुन सक्दैन । आवश्यकतामा छाती थाप्नसक्ने योद्धा वास्तविक क्रान्तिकारी हुन्छ ।
३. प्रयत्नमा निरन्तरता, नयाँ खोज गर्ने र सिर्जनशील
हरेक क्रान्तिकारीमा धैर्य हुनुपर्छ र कोसिस निरन्तर रहनुपर्छ । अधैर्य निम्नपुँजीवादी चिन्तनको उपज हो । शीघ्र विजयको मानसिकता र मनोविज्ञानले ठूलो क्षति पुग्नसक्ने र विचलन ल्याउनसक्ने सम्भावना रहन्छ । धैर्य र निरन्तरतासँगसँगै क्रान्तिकारी सिर्जनशील हुनुपर्छ । पाएको जिम्मेवारी, भूमिकालाई परिवेश, सापेक्षताका आधारमा सिर्जनशीलतामा निर्वाह गर्नुपर्छ । सिर्जनशीलताका लागि सधैँ सकारात्मक रहने प्रयत्न गर्नुपर्छ । सिर्जनाशीलताका नाममा मूलभूत मान्यता र आदर्शबाट अलग हुने खतरा पनि हुन्छ, त्यसबाट भने सचेत रहनुपर्छ । सिर्जनशील भएर मात्र नयाँ परिवेश र फरकफरक चुनौतीको सामना गर्न सकिन्छ । विद्यार्थी उमेरले युवा, व्यवहारले र प्रयोगले नयाँ प्रवृत्ति, प्रविधि र नयाँ परिवेशमा अभ्यस्त हुने हुँदा अखिल (क्रान्तिकारी) का सदस्यले क्रान्तिको आवश्यकतामा नयाँनयाँ विषयको खोज गर्नुपर्छ । नयाँ प्रविधि, नयाँ विचार, नयाँ सङ्गठनात्मक पद्धति, नयाँ सङ्घर्ष र नयाँ प्रवृत्तिलगायतको विषय खोज गरी नेतृत्वलाई सहयोग गर्नुपर्छ । अखिल (क्रान्तिकारी) वर्षायाममा आउने भेलजस्तो होइन, निरन्तर बगिरहने नदीजस्तो हुनुपर्छ ।
४.पहलमा गतिशील र स्वभावमा विद्रोही
अखिल (क्रान्तिकारी) को सदस्य हेर्दै टिठलाग्दो, अल्छीलाग्दो हुनु हुँदैन । हरेक सङ्कटमा समाधान देख्ने, चुनौतीलाई अवसरमा बदल्नसक्ने हुनुपर्छ । अनुहारमा ऊर्जा, अभिव्यक्तिमा उत्साह झल्कनुपर्छ । गतिविहीनता असन्तुष्टि, कुण्ठा र निराशाको कारण हो । गतिशीलताले नयाँ सम्भावनाहरू देखाउँछ । कामहरू गर्दा औपचारिकतामा होइन, स्वपहल र सिर्जनशीलता देखिनुपर्छ । गतिशीलताका लागि आन्दोलन, क्रान्तिप्रति विश्वस्त हुन जरुरी छ । समस्याको छिटो पहिचान गर्न सक्ने, समाधानको विधि छिटो खोज्नसक्ने, नयाँ परिवेशमा छिटो घुलमिल हुनसक्ने, परिस्थितिको समयमै आकलन गर्नसक्ने, परिवर्तनलाई सहजै अङ्गीकार गर्नसक्ने हुनुपर्छ । देश, जनता र विद्यार्थीका हरेक समस्यामा समाधानको पहिलो पहलकर्ता हुन सक्नुपर्छ । गतिशील सदस्यले मात्र क्रान्तिको आवश्यकतामा आफ्नो भूमिका पूरा गर्न सक्दछ । काममा औपचारिकता आलस्यको उपज हो, समयको बर्वादी हो । क्रान्तिका लागि गतिशीलता अनिवार्य सर्त हो ।
अखिल (क्रान्तिकारी) स्वभावले विद्रोही हुनुपर्छ । विचार र ज्ञानको कसीमा, क्रान्तिको सापेक्षतामा हुने विरोध वा सङ्घर्ष मात्र विद्रोह हुन्छ, भावना, चाहना र बहकावमा गरिने विरोध, सङ्घर्ष अराजकता हुन्छ । अन्यायपूर्ण कार्यका विषयमा मौन बस्नु कि कायरता हुन्छ, कि त अवसरवाद । अखिल (क्रान्तिकारी) का हरेक सदस्यले जुनसुकै अन्यायपूर्ण कार्यका विरुद्ध विद्रोह गर्नुपर्छ । गलत र अन्यायका विरुद्ध विद्रोह गर्नु जनताको अधिकार हो ।
५. अभिव्यक्तिमा आत्मविश्वास, दृढता र मिठास
अखिल (क्रान्तिकारी) को सदस्यको अभिव्यक्तिमा आत्मविश्वास झल्कनुपर्छ, विषयप्रतिको दृढता प्रस्तुत हुनुपर्छ र सुन्दा मिठासपुर्ण र आकर्षण पैदा गर्ने हुनुपर्छ । आत्मविश्वास नभएको अभिव्यक्तिले प्रभावकारिता हासिल नगर्न सक्छ, दृढताको अभावमा विश्वसनीयता प्राप्त नगर्न सक्छ, मिठासको अभावमा स्रोतामा अनिच्छा पैदा गर्ने र दिक्कलाग्दो बनाउने हुनसक्छ । क्रान्तिकारीको सदस्य आफैँमा वक्ता पनि हो, हरेक सदस्यले कुशल वक्ता बन्ने मेहनत गर्नुपर्छ । अभिव्यक्ति भाषा सरल, सबैले बुझ्नसक्ने, मिठासपूर्ण र कलात्मक हुनुपर्छ । राम्रो अभिव्यक्तिले जनतामा आकर्षण पैदा गर्छ, आशा जगाउँछ भने कार्यकर्तामा उत्साह पैदा गर्दछ ।
६. व्यवहारमा सरलता र कार्यशैलीमा चुस्तता
क्रान्तिकारीहरूको व्यवहार सरल र जनमैत्री हुनुपर्छ । जनताको जीवनव्यवहारसँग मिल्दो हुनुपर्छ । जनता र विद्यार्थीसँग छिटो घुलमिल हुन सक्नुपर्छ । माओले भन्नुभएझैँ जनताबाट सिक्ने व्यवहार अवलम्बन गर्नुपर्छ । माछा र पानीको झैँ सम्बन्ध निर्माण गर्नुपर्छ । जनताको दैनिकीमा सहकार्य गर्ने व्यवहार अपनाउनुपर्छ । जनतासँग नम्र भएर बोल्नुपर्छ । जनतालाई सम्मानपूर्ण व्यवहार गर्नुपर्छ । क्रान्तिकारी सरल र विनम्र हुनुपर्छ र जनप्रिय बन्ने प्रयत्न गर्नुपर्छ ।
भद्दा र अस्तव्यस्त कार्यशैलीले गोपनीयता कायम गर्न सकिँदैन र उपलब्धि पनि हासिल गर्न सकिँदैन । क्रान्तिकारीको कार्यशैली लचकदार र चुस्त हुनुपर्छ । चुस्त कार्यशैलीमा क्रान्तिप्रतिको गम्भीरता झल्कन्छ । चुस्त कार्यशैलीले जनतालाई आकर्षित गराउँछ, स्वयम्लाई अनुशासित बनाउँछ र गोपनीयताको रक्षा हुन्छ, चष्नजत तष्mभ चष्नजत धयचप गर्न सकिन्छ ।
७. भावनाले समर्पणभाव भएको र सहयोगी
आन्दोलन र क्रान्तिमा समर्पणभाव भएको सदस्यले मात्र क्रान्तिको सच्चा सेवा गर्न सक्दछ । क्रान्तिप्रतिको योगदानलाई व्यक्तिगत उपलब्धिसँग दाँज्ने र व्यक्तिगत उपलब्धिमा खोज्ने कार्यले कि त आदर्शमा भ्रष्टीकरण गराउँछ, कि त निराश गराएर पलायन । क्रान्तिमा गरिने योगदान विशुद्ध सेवा हो । क्रान्ति विश्व–मानवजातिको हितसँग सम्बन्धित छ । जहाँ लिने कुराको कुनै स्थान हुँदैन र दिने कुरा महत्वपूर्ण हुनुपर्छ । त्याग र समर्पण क्रान्तिकारीको पहिलो सर्त हो ।
क्रान्तिकारी सबैभन्दा सहयोगी हुनुपर्छ । विद्यार्थी र जनतालाई सङ्कट पर्दा सबैभन्दा पहिला सहयोगका लागि क्रान्तिकारी पुग्नुपर्छ । जनताको दुखःसुखमा साथ दिनुपर्छ । अखिल (क्रान्तिकारी) लाई आवाजविहीनहरूको आवाज, कमजोरको भरोसा, गरिब–दुःखीको विश्वास, साथीविहीनको साथी बनाउनुपर्छ । जनता सङ्कटमा पर्दा सबैभन्दा पहिला अखिल (क्रान्तिकारी) लाई सम्झने परिस्थिति निर्माण गर्नुपर्छ । अखिल (क्रान्तिकारी) जहाँ छ त्यहाँ कोही जनतालाई असहाय बन्न नदिने प्रण गर्नुपर्छ ।
८.आर्थिकमा मितव्ययी र पारदर्शी
क्रान्तिकारीको वास्तविक परिचय मितव्ययी र पारदर्शी हुनुमा हुन्छ । थोरै खर्चमा धेरै काम गर्न सक्नु क्रान्तिकारीको विशेषता हो । भड्किलो र अनावश्यक खर्च पुँजीवादीहरूको विशेषता हो । सामूहिकतामा सोच्ने र सामूहिकतामा समाधान खोज्नाले मितव्ययी हुन मद्दत गर्दछ । मितव्ययी कार्यकर्ता र आर्थिक पारदर्शिताले क्रान्तिको भविष्यलाई दिशाबोध गर्दछ । आर्थिक विषय भ्रष्टीकरण र विचलनको प्रमुख कारण बन्दै आएको छ । सहयोद्धामा वर्ग देखिनु हुँदैन । जनताको जीवनशैलीभन्दा माथिको जीवनशैली अपनाउनु हुँदैन । आम्दानी र खर्च सम्बन्धित समितिमा अनुमोदन गराउने, समयसमयमा लेखा परीक्षण गर्ने गर्नुपर्छ ।
९. गलत र खराबीको आलोचक
आन्तरिक होस् वा बाह्य हरेक गलत कार्य र खराबीको आलोचना गर्नुपर्छ । गलत र खराबीमा अपनाइने उदारताले गैरक्रान्तिकारी प्रवृत्तिलाई प्रोत्साहित गर्दछ । नजिकको मित्र होस् वा टाढाको सबैको खराबीविरुद्ध निर्मम बन्नुपर्छ । आन्तरिक समितिमा आलोचना रचनात्मक हुनुपर्छ, खराबीलाई सुधार्न प्रोत्साहन र सहयोग हुनुपर्छ । आन्तरिक खराबीको सम्बन्धित समितिमा आलोचना गर्नुपर्छ र बाह्य खराबीको सार्वजनिक रूपमै आलोचना गर्नुपर्छ । जथाभाबी आलोचना र विरोधले विरोधीलाई सहयोग पुग्ने कुरामा सचेत हुन जरुरी छ । चाकडी, चाप्लुसी अखिल (क्रान्तिकारी) को विशेषता होइन । नेता होस् वा कार्यकर्ता हरेकको खराबी र गलत कार्यको विरोध र आलोचना गर्नुपर्छ ।
१०. नीति र निर्णयको रक्षक
महाधिवेशन, सम्मेलन, भेला र बैठकमा उच्च जनवादको प्रयोग गरी अङ्गीकार गरिएको नीति र लिइएको निर्णयको दृढतापूर्वक कार्यान्वयन गर्नु र उक्त नीति र निर्णयको रक्षा गर्नु हरेक सदस्यको कर्तव्य हुन्छ । छलफलमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपताको विधिलाई आत्मसात गर्नुपर्छ । सम्मेलन, भेला र बैठकले लिएको निर्णय हरेक सदस्यको निर्णय हुन्छ । कहिलेकहीँ निर्णयप्रति चित्त नबुझ्दा पद्धति र समितिमा असहमति व्यक्त गर्न पाइन्छ तर बहुमतले गरेको निर्णय कार्यान्वयन गर्नु, पक्षमा वकालत गर्नु र रक्षा गर्नु हरेक क्रान्तिकारी सदस्यको कर्तव्य हो, अनुशासन हो ।
निष्कर्ष
शैक्षिक आन्दोलन राजनीतिक आन्दोलनको पूरक आन्दोलन हो । तसर्थ वैज्ञानिक समाजवादी शिक्षाको आन्दोलनलाई वैज्ञानिक समाजवादी क्रान्तिसँग एकाकार गर्नुको विकल्प छैन । अखिल (क्रान्तिकारी) मुलुकको सबैभन्दा क्रान्तिकारी र नेता सङ्गठन हो । तसर्थ विद्यार्थी आन्दोलनमाथि उठेको प्रश्नको जबाफ हामीले दिनुपर्छ । अबको हाम्रो आन्दोलन नयाँ पुस्तालाई आकर्षित, सङ्गठित र आन्दोलित गर्दै अघि बढ्नेछ । जनताका छोराछोरी अखिल (क्रान्तिकारी) को नारालाई मर्मबोध गर्दै हरेकको घरघरमा अखिल (क्रान्तिकारी), हरेकको मनमनमा अखिल (क्रान्तिकारी) र हरेक शिक्षालयलाई अखिल (क्रान्तिकारी) मय बनाउन हामी सबैले मेहनत गर्न आवश्यक छ । हामी हाम्रा सबै कर्तव्य पूरा गरौँ । वास्तविक अखिल (क्रान्तिकारी) बनौँ । क्रान्ति सुनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :