बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

बन्द गर साम्राज्यवादी अतिक्रमण, हैकम र दादागिरी

भारतीय साम्राज्यवादले नेपाल र नेपाली जनतामाथिको अतिक्रमण, दमन, हैकम र दादागिरी झनै बढाउँदै लगेको छ । जबजब नेपालको शासनसत्ता अस्थिरतातर्फ लाग्छ वा जबजब नेपालको सत्तामा आफूअनुकूल पात्रहरू आउँछन्ल्या/इन्छन् तबतब भारतीय साम्राज्यवादले सीमादेखि सत्तासम्म र बजारदेखि चुलोसम्म हस्तक्षेप र अतिक्रमण गर्छ । कालापानीदेखि लिपुलेक–लिम्पियाधुरासम्मको नेपाली भूमिमाथिको अतिक्रमण बन्द नगरेको र अझै अघि बढाइरहेको भारतीय साम्राज्यवादले फेरि दार्चुला सदरमुकाम नै डुबाउने गरी महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्नुका साथै प्रहरी र कर्मचारी नै लगाएर साम्रज्यवादी ज्यादतीको विरोध गर्ने नेपाली जनतामाथि आक्रमण गरेर फेरि नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमाथि धावा बोलेको छ । यो अत्यन्त निन्दनीय, खेदजनक मात्र होइन, प्रतिरोध गर्नलायक घटना हो । डेढ वर्षअघि भारतीय साम्राज्यवादी एसएसबीले तुइन काटिदिँदा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको अझै कुनै खुटखबर छैन । जयसिंहको घाउ आलै रहेको समयमा फेरि भारतीय साम्राज्यवादबाट नेपाली जनताले कुटिनुपरेको छ । सीमारक्षाकै विषयमा गोविन्द गौतमले बलिदान गरेको र देवनारायण यादवहरूले रगत बगाएको इतिहास धेरै पुरानो छैन । भारतीय साम्राज्यवादले नेपाली जनताको नालापानीदेखि गोविन्द गौतमको बलिदानसम्मको इतिहास राम्ररी पढ्नु आवश्यक छ ।

नेपालको कायर र साम्राज्यवादको मतियार बनिरहेको देउवा नेतृत्वको गठबन्धन सरकार नेपाल र नेपालीमाथि भारतीय पक्षबाट भौतिक आक्रमण हुँदासमेत किन मौनता साधिरहेको छ, यो रहस्यमय मात्र होइन, खेदजन्य छ । हामी नेपाल र नेपाली जनतामाथिको भारतीय साम्राज्यवादी हमला, आक्रमणको घोर निन्दा र भत्र्सना गर्दै घटनाप्रति खेद व्यक्त गर्दछौँ र साम्राज्यवादी पाल्तुहरूको आक्रमणबाट घाइते बालबालिकालगायत सबैको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गर्दै उनीहरूको अविलम्ब उपचारको व्यवस्था गर्न सम्बन्धित पक्षहरूसँग माग गर्दछौँ ।

नेपालमाथि निरन्तर साम्राज्यवादी अतिक्रमण र हमला जारी छ । नेपालको दलाल पुँजीवादी सत्ता कमजोर बन्दै गएको र कथित संसदीय निर्वाचनबाट निर्माण हुने सरकार पनि अन्योलग्रस्त भइरहेको सन्दर्भ पारेर नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको हमला व्यापक रूपमा बढाइएको छ । देशभक्त नेपाली जनताको व्यापक विरोध र असहमति हुँदाहुँदै जनताको रगत बगाएर साम्राज्यवादी ‘कलो’ एमसीसी पारित गरिएको छ र जनतालाई बेवास्ता गर्दै त्यो कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ । एकातिर एमसीसी पारित गरेर अमेरिकी साम्राज्यवादलाई रिझाइँदैछ र उसको नेपालमाथि टेकेर चीनमाथि आक्रमण गर्ने उद्देश्य पूरा गराइँदैछ भने अर्कातिर भारतीय नागरिकलाई नेपालको नागरिकता दिने उद्देश्यसहित संसद्बाट नागरिकता विधेयक पारित गरिएको छ । राष्ट्रपतिले प्रमाणीकरण नगरेको कारण मात्रै उक्त विधेयक लागू हुनबाट बचेको छ । नेपालको नक्सामा समेटिइसकेका नेपालका कालापानी–लिपुलेक–लिम्पियाधुरामाथिको साम्राज्यवादी हस्तक्षेप र अतिक्रमण जारी छ भने भारतीय साम्राज्यवादले नेपालको भूगोलमाथि बुल्डोजर चलाइरहेको छ । संयोग कस्तो परेको छ भने उता नेपालको भूगोलमाथि भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेप र अतिक्रमण बढिरहेको छ, यता देशभित्र आफ्नो टेक्ने जमिन नभएर दुर्गन्धित खोलाकिनारमा अभावैअभावमा अपमानित र चुनौतीपूर्ण जीवन गुजारिरहेका सुकुमबासीहरूमाथि हमला गरिएको छ । ‘मर्नैपर्ने भएपछि खुट्टा तानेर मर्ने’ भन्ने नेपाली उखान चरितार्थ गर्दै काठमाडौँका नदीकिनारका सुकुमबासीहरूले घरेलु हतियारले दमनकारी निकायमाथि बहादुरीपूर्वक प्रतिरोध गरेर आफ्नो अस्तित्व कायम राखेका छन् र नेपाल र नेपालीको अस्तित्वमाथि धावा बोल्ने साम्राज्यवादी तत्वहरूमाथि वीरतापूर्ण लड्न प्रेरितसमेत गरेका छन् । शासकहरू यता आफैँ आफ्नै जनतामाथि अतिक्रमण र हमलामा उत्रिएका छन् तर उता आफ्ना जनता र आफ्नो देशको भूगोल नै डुब्न लाग्दा मूकदर्शक बनेर साम्राज्यवादलाई नै सघाइरहेका छन् । नेपालका उत्पीडित नागरिकले अब सचेत जनताका रूपमा आफूलाई विकसित गराउनुपर्छ र देशभक्तिपूर्ण आन्दोलनको एक अङ्ग बन्दै नालापानीको लडाइँको विकसित रूप प्रदर्शन गर्नुपर्छ । शासकहरू त आफ्नो सत्तास्वार्थका कारण साम्राज्यवादसँग मिलिरहेका हुन्छन् र उनीहरू आफ्ना मालिकहरूको स्वार्थसँग स्वार्थ बझाएर आफ्नो सत्तालाई जोखिममा पार्न चाहँदैनन् । जनता मात्र बिनाबर्दीको राष्ट्रसेवक र सच्चा पहरेदार हो । त्यसैले भारतीय साम्राज्यवादी हमला र अतिक्रमणका साथै अमेरिकी साम्राज्यवादको एममसीसी÷एसपीपीलगायत हमला र अतिक्रमणका विरुद्ध पनि नेपाली जनताले अब शक्तिशाली प्रतिरोध गर्ने समय भइसकेको छ ।

नेकपा (बहुमत) ले दार्चुला घटनापछि विज्ञप्ति नै जारी गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव नेपालको दार्चुला जिल्ला सदरमुकामतर्फ फर्केको विषयलाई लिएर दुवैतिरका जनताबीच आइतबार झडप भएको र भारतका प्रहरी र कर्मचारीसमेत संलग्न भई नेपाली जनतामाथि ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको विषयले पार्टीलाई गम्भीर बनाएको भन्दै निरीह बनेर यसप्रकारका असैह्य घटनाक्रम नसहन र भारतसँग स्पष्ट रूपमा छलफल गरी समस्याको समाधान गर्न विशेष आग्रह गरेका छन् । नेकपा (बहुमत) ले भारतीय प्रहरी र कर्मचारीको आक्रमणबाट घाइते भएका नेपालीको शीघ्र उपचार गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय सन्धि र विशेषतः दुवैतर्फका प्राविधिकहरूको सर्वेक्षण भएपछि मात्र तटबन्ध निर्माण गर्ने सहमतिविपरीत भारतले अङ्ग्रेजकालीन दमनकारी प्रवृत्तिलाई नै निरन्तरता दिएकाले यसको घोर भत्र्सना पनि गरेको छ । पार्टीले नेपाल सरकारलाई निरीहता प्रदर्शन नगरी यसबारे भारतसँग स्पष्ट रूपमा छलफल गरी समस्याको समाधान गर्न पनि विशेष आग्रह गरेको छ ।

नेकपा (बहुमत) ले देश र जनताको आवाज बुलन्द पार्दै भारतीय साम्राज्यवादलाई अङ्ग्रेजकालीन दमनकारी नीति अख्तियार नगर्न चेतावनी दिनु नेपालको राष्ट्रियताको रक्षाका लागि देशभक्त र क्रान्तिकारी शक्ति जस्तोसुकै आन्दोलन सिर्जना गर्न र अघि बढ्न तयार रहेको सङ्केत हो । क्रान्तिकारी र देशभक्त शक्तिहरू साम्राज्यवादी हैकम र ज्यादतीका विरुद्ध एकजुट भएर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि तयार हुनुपर्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :