मेरो अध्ययनको खोज

कविता

मेरो अध्ययनको खोज
अभाव पीडा दुःखमा रुमलिएका
भुइँतहका मानिसहरू ।
प्रहार गर्छु
शोषक, सामन्ती, दलाल
माफिया, बिचौलियामाथि
अनेक लेखकीय शिल्पी
प्रयोग गरी ।
मेरो अध्ययनको खोज
प्रकृतिप्रदत्त सम्पदाहरू
हावापानी, जङ्गल, जमिन ।
सबै चीज
सबैका लागि समान
न कि मुठीभर औँलामा
गन्न सकिने मानिसमा मात्र
नहोस् कसैगरी ।
मेरो अध्ययनको खोज
मानिस किन गरिब हुन्छ
विभेद किन मानिस–मानिसमा ?
किन सधैँ
पुँजीवादी दासता स्वीकार्न
बाध्य छौँ हामी
के यसलाई चिर्न सक्दैनौँ
कहिल्यै कसै गरी ?
मेरो अध्ययनको खोज
किन घुँडा टेक्छन्
पटकपटक सम्झौता गर्छन्
कम्युनिस्ट क्रान्तिकारीहरू ?
निजी सम्पत्तिको समूल नष्ट गरी
हिँड्ने कम्युनिस्ट क्रान्तिकारीहरू
किन जोड्छन् अकुत सम्पत्ति
भाबी पुस्ताका लागि ?
मेरो अध्ययनको खोज
कसरी हुन्छ मानिस
शान्ति, विवेकी र आनन्दी ?
गर्छु अठोट
न्याय, समानता, सहिष्णुता
यी हुन् औजार
सुन्दर, शान्त बनाउन
जादुगरी प्रयोग गरी ।
मेरो अध्ययनको खोज
मानिस ईश्वरले बनायो कि
ईश्वर मानिसले ?
निष्कर्षमा पुग्छु
मानिस ईश्वरले होइन
ईश्वर मानिसले पो बनायो
यसो भन्दा मूर्ख भन्छन्
समाजका अहंंकारी ।
मेरो अध्ययनको खोज
जीवन त देखिन्छ
मृत्यु किन देखिँंदैन ?
किन सधैँ
आवाज त सुनिन्छ
मौन सुनिँदैन ?
भेटेको छुइनँ अहिलेसम्म
प्रश्नहरू छन् अनुत्तरी ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :