राष्ट्रघाती एमसीसी र कालीगण्डकी डाइभर्सन परियोजनाविरुद्ध सशक्त सङ्घर्ष सञ्चालन गरिने

राष्ट्रघाती एमसीसी र कालीगण्डकी डाइभर्सन परियोजनाविरुद्ध सशक्त सङ्घर्ष सञ्चालन गरिने

पाल्पा : नेकपा (बहुमत) पाल्पाले पार्टीको आह्वानमा संसदीय चुनाव अवज्ञा गर्ने जनसमुदायलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टी जिल्ला समितिको बैठकले चुनाव अवज्ञाको समीक्षा गर्दै ५२ प्रतिशत मतदाताले चुनावमा सहभागी नभई मतदान नगरी अवज्ञा गरेर पार्टी आन्दोलनलाई साथ दिएको भन्दै जनसमुदायलाई हार्दिक धन्यवाद दिने निर्णय गरेको हो ।
पार्टी जिल्ला संयोजक दिग्दर्शनले बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन अवज्ञाका क्रममा ‘संसदीय चुनावको अवज्ञा गरौँ !, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को चुनाव अवज्ञा किन ?, संसारका श्रमिक र उत्पीडित जनता एक होऔँ ! माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !, वैज्ञानिक समाजवाद– जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)– जिन्दावाद !’ लेखिएका दसबुँदे कारणसहितका काला ब्यानरहरू सार्वजनिक स्थल र सामाजिक सञ्जालहरूमार्फत प्रचार गरिएको, प्रदर्शन, पर्चा, अपिल वितरण गरिएको, पम्प्लेट–पोस्टरिङ गरिएको उल्लेख छ ।
त्यसैगरी पार्टीको कार्यक्रमअनुसार तीन चरणमा निर्वाचन अवज्ञा कार्यक्रम सम्पन्न गरिएको, निर्वाचन आयोग पाल्पाले ६०.९४ प्रतिशत मत खसेको दाबी गरे पनि ५२ प्रतिशत न्यायप्रेमी जनसमुदायले चुनाव अवज्ञा गरेको र सरकारी कपोलकल्पित र मिथ्या प्रचारलाई बहुमतका साथ खारेज गरिदिएको उल्लेख छ । प्रशासनले ठाउँठाउँबाट अवज्ञा पोस्टरहरू च्यातेर फ्यालेकोमा जिल्ला पार्टीले घोर भत्र्सना पनि गरेको छ ।
विज्ञप्तिमा बैठकले जिल्लामा एक महिनासम्म राजनीतिक–वैचारिक अभियान चलाउने, सङ्गठन सुदृढीकरण, विस्तार, भित्तेलेखन, छलफल, भेटघाट, बहस, मन्थन र अन्तरक्रिया गर्ने निर्णय गरेको पनि उल्लेख छ ।
बैठकले राष्ट्रियता लुट्ने एमसीसीलगायत राष्ट्रघाती सम्झौताविरुद्ध जनतालाई सङ्घर्षमा उत्रन आह्वान गर्दै राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा साथ दिने, भारतको उत्तरप्रदेश सरकारको चाहना पूरा गर्ने उद्देश्यले गर्न लागिएको कालीगण्डकी डाइभर्सनविरुद्धको आन्दोलनमा पाल्पाको पूर्वी भेगका जनतालाई साथ दिने, भ्रष्टाचार, महँगी, तस्करी, माफिया, शैक्षिक व्यापारी, स्वास्थ्य व्यापारी, मेडिकल माफिया, मिटरब्याजी, सूदखोर र लघुवित्तको चक्रीय शोषणमूलक ब्याजविरुद्ध जनताको सङ्घर्षमा साथ दिने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :