नेकपा (बहुमत) द्वारा जनतामारा लघुवित्त संस्थामाथि कारबाही सुरु

नेकपा (बहुमत) द्वारा जनतामारा लघुवित्त संस्थामाथि कारबाही सुरु

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लघुवित्त संस्थाहरूमाथि कारबाही सुरु गरेको छ । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ चौमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाको कार्यालय तोडफोड गरेर नेकपा (बहुमत) ले सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटरसमेत जलाएको छ ।

नेकपा (बहुमत) ले लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा महिला समूह बनाएर नयाँ साहूमहाजनको शैलीमा पैसाको व्यापार गरिरहेको, समूहमा ऋण प्रवाह गरिसकेपछि जुन शीर्षकमा ऋण लिएको हो त्यही शीर्षकअनुसार काम गरेनगरेको अनुगमन–नियमन गर्नुको साटो आफ्नो संस्थाको जसरी पनि किस्ता असुली गरेर संस्थाको हितमा मात्र केन्द्रित गरेको, कैलालीका विभिन्न नगर, गाउँबस्तीमा अर्धवार्षिक क्लोजिङका नाममा ऋणीबाट गाई, भैँसी, बाख्रा, कुखुरा कब्जा गरी ल्याउने, घरजग्गाको फोटो खिचेर मानसिक तनाव दिँदै डरधम्की दिने गरेकाले कारबाही आरम्भ गरिएको जनाएको छ ।

एकाधिकार पुँजीवादले धनी र गरिबबीचको खाडल झन्झन् बढाउँदै लगेको अवस्थामा लघुवित्त उसको पिछलग्गु बनेको, वित्तीय पुँजीको विकासले पुँजी केही मुठीभर मालिकको हातमा केन्द्रित गर्ने र जनता र राष्ट्रलाई कङ्गाल बनाउने गरेकाले आफूहरूले कारबाही गरी नयाँ अनुहारका साहूमहाजनको पैसाको व्यापार रोकी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वैज्ञानिक समाजवादी राज्यव्यवस्था र त्यसअनुरूपको समाजवादी अर्थनीतिमा लाग्न चेतावनीस्वरूप कारबाही गरिएको पनि नेकपा (बहुमत) कैलालीले जनाएको छ ।

नेकपा (बहुमत) ले लघुवित्तमाथि कारबाही गर्नुका नौवटा कारण उल्लेख गर्दै भनेको छ :

१. गौरीगङ्गा १ निवासी रेश्मा चौधरीलाई मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारेको,
२. समूहमा ऋण प्रवाह गरिसकेपछि जुन शीर्षकमा ऋण लिएको हो त्यही शीर्षकअनुसार काम गरेनगरेको अनुगमन–नियमन नगरी कर्जा लगानी गरेको,
३. अर्धवार्षिक क्लोजिङका नाममा विभिन्न ऋणीहरूवाट गाई, भैँसी, बाख्रा, कुखुरा कब्जा गरी ल्याउने, घरजग्गाको फोटो खिचेर मानसिक तनाव, डरधम्की दिने गरेको व्यापक जनगुनासो तथा निवेदन आएको,
४. लघुवित्तीय संस्थाका नाममा गाउँगाउँमा महिला समूह बनाएर नयाँ साहूमहाजनको शैलीमा अवैध पैसाको व्यापार गरेको,
५. ३५, १५, ७ दिने सूचनाबिना घरमा गुन्डागर्दी शैलीमा गालीबेइज्जत गर्दै तालाबन्दी गरेको,
६. बस्ने घरको कोठामा ताला लगाई बालबच्चासहित सम्पूर्ण परिवारको बिचल्ली बनाएको,
७. हालसम्म पनि पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध नगराएको,
८. पीडित पक्षले लगाएको तालाबन्दी प्रशासन लगाएर तोडेको र
९. प्रशासन लगाएर ने.क.पा.(बहुमत) का कार्यकर्ता गिरप्तार गराएको ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :