आजको बिहान र उद्देश्यको सगरमाथा

कविता

सङ्घर्षमय बनिरहेकै छ जीवन
लक्ष्य चुम्ने जुन मेरो उद्देश्य हो ।

कतै थाकेँ, गलेँ वा सुस्ताएँ कि ?!
सोध्छु आफैँलाई
परीक्षण गर्छु प्रियजनहरूसँग
र जाँच्छु नजिकदेखि टाढासम्मका वर्गवैरीहरूसँग
अहँ छैन हारेको र थाकेको
घटेको छैन, उचाइ छोइरहेकै छ माया प्रियजनहरूको
बढिरहेकै छ दुस्मनको र दुस्मनहरूप्रतिको घृणा
यसको अर्थ लगाउन कुनै कठिनाइ पर्दैन मलाई–
म ठीक छु र अझ ठीक हुँदैछु ।

छैन कुनै गुनासो जीवनप्रति
केही उपहार छ यसमा
केही उद्देश्य छ र यत्न छ ।
जहानियाँ शासनविरुद्ध लड्दालड्दा थाकेर
रित्तो हात घर फर्किएका मेरा बाबाले
देखेका थिए होलान् सपना–
मेरोजस्तो सिसिफस कहर नकाटोस् यसले…
तर यतिचाहिँ ठोकेरै भन्छु–
उनले चाहेका थिए– म कसैको दास नबनूँ
गुमाएर अस्तित्व र स्वाभिमान ।
हो, यसैमा गर्व छ मलाई
सार्थक जीवनका लागि
माग्नुपरेको छैन परायासँग भिक ।

सङ्घर्ष, सङ्घर्ष, सङ्घर्ष…
जीवनलाई सङ्घर्षको पर्यायवाची बनाएकी मेरी आमाले
सोचेकी थिइन् अवश्य–
मिसिनु परे पनि माटोमा
नगुमाओस् धैर्य
र जोगाइराखोस्, बढाइराखोस् जीवनसङ्घर्ष, विचारसङ्घर्ष…
हो, यसमै अति गौरवशाली ठान्छु म आफूलाई
जीवनका अन्तिम पलहरूमा
तिनका लोलाएका आँखाहरूले जे चाहेका थिए मसँग
छैन मैले तिनको विश्वास डगमगाएको
म जान्दछु
तिनै र त्यस्तै आशा र विश्वासहरू छन्
मेरा प्रिय कमरेडहरूका पनि मसँग
जन्मिए त के गर्नु एकाध कुलङ्घार विभीषणहरू
देखिए त के गर्नु एकाध शकुनी र जुडासहरू
पराजित त भइरहेकै छन् नि उनीहरू
तब न छ जीवन प्रिय–प्रिय
गर्दै सङ्घर्ष
भित्रदेखि बाहिर, पर–परसम्म निरन्तर
झन्–झन् स्पातिलो बनेको छ जीवन ।

घुमिफिरी आउँछन् शिशिर र वसन्तहरू
जीवनमा थप्दै आशामाथि आशा
ल्याउँछन् बोकेर गर्विला इतिहास
पल्टाउँछु पाना जीवनका
घुम्छन् चलचित्रका दृश्यहरूझैँ झन्झन् नवीन दृश्यहरू ।
मुखिया विष्णुप्रसादसँग मल्लयुद्ध लडिरहेका
शिवलाल–चन्द्रलालहरू आउँछन् घरिघरि
पुष्पलाल–गङ्गालाल–कृष्णलालका सपना बोकेर
र गर्छन् खबरदारी ।
जिम्मल ज्ञानप्रसाद र डम्बरजङ्गहरूसँग लडिरहेका
हितप्रसाद र जूनमायाहरू आउँछन्
र गराउँछन् सावधान–
झुकेर, लत्रेर, लम्पसार परेर
ठगेर, ठगिएर बाँच्नु पनि के बाँच्नु !
हो, यसैले त स्पातिलो बनाएको छ जीवन
हो, यसैले त सार्थक बनाएको छ जीवन !

इतिहास र वर्तमानका रक्तिम पानाहरू भन्छन्–
वसन्त ल्याउन त अनन्त तुसारे शिशिरहरू पार गर्नुपर्छ…
यो निश्चित हो
अब पटाक्षेप बनिरहेका छन् निरन्तर यत्न–प्रयत्नले
वसन्त आउने बाटोका अवरोधक शिशिरे कहरहरू ।
उद्देश्यका क्षितिज र सगरमाथा
पर्यटक बनेर दृश्यपान गर्नका लागि अवश्य होइनन्
ती त विजयको उद्देश्य चुम्नका लागि हुन् ।

त्यसैले छैन जीवनप्रति कुनै गुनासो
किनकि
दैनन्दिन निकट बनिरहेका छन्
उद्देश्यका क्षितिज र सगरमाथाहरू
यिनैले पुर्याउनेछन् हामीलाई
सार्थक जीवनका उद्देश्य बनेका
विचार र आस्थाका सगरमाथाहरूसम्म ।

३ मङ्सिर, २०७९, सिर्जनानगर, नयाँघर

प्रतिक्रिया दिनुहोस्