विप्लव समूहको अराजकता र गुन्डागर्दी : वैचारिक पतनको पराकाष्टा

दलाल पुँजीवाद, पुँजीवाद, साम्राज्यवादका विरुद्ध जब क्रान्तिकारी आन्दोलन र मुक्तिसङ्घर्षहरू अघि बढ्न थाल्छन्, जब क्रान्ति र युद्धलाई एउटा नेतृत्वले आत्मसमर्पणमा समाप्त पारेपछि निराश भएका जनतामा क्रान्तिप्रति फेरि विश्वास जाग्छ र क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुन थाल्छन्, जब मुलुकको देशभक्त, उत्पीडित, श्रमिक सर्वहारा वर्ग मुक्तिआन्दोलनप्रति सचेत भएर लामबद्ध हुन थाल्छ अनि साम्राज्यवादले एउटा न एउटा प्रतिक्रान्तिकारी समूह ‘कोन्ट्रा’ जन्माउँछ, लगानी गर्छ र क्रान्तिकारी तप्कामाथि आक्रमण गर्ने, प्रकारान्तरले क्रान्ति धराशयी बनाउने र बदनाम गर्ने षड्यन्त्र गर्छ । प्रतिक्रान्तिकारी वा प्रतिविद्रोही ‘कोन्ट्रा’ हरू साम्राज्यवाद–पोष्य, प्रायोजित आपराधिक शक्तिहरू हुन् । ती फिरोती लिएर ज्यान मार्ने अपराधीजस्तै हुन् भाडामा परिचालित हत्यारो जत्था । संसारभरका क्रान्तिकारी आन्दोलनहरूमाथि युगैपिच्छे कुनै न कुनै आपराधिक समूह जन्माएर नरसंहार मच्चाएको छ साम्राज्यवादले । नेपालमा पनि त्यसको बढ्दो प्रभाव देखिन थालेको छ । क्रान्तिका लागि यो अत्यन्त खतरनाक अवस्था हो । क्रान्तिकारीहरूले बेलैमा यसबाट सावधान हुनुपर्छ ।

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा कहिले साम्राज्यवादले, कहिले विस्तारवादले, कहिले सामन्तवादले प्रतिविद्रोही तप्का जन्माएर क्रान्तिविरुद्ध उभ्याएका र क्रान्तिकारीहरूलाई षड्यन्त्रपूर्ण ढङ्गले आपराधिक आक्रमणहरू गर्दै हत्या गरेका, अङ्गभङ्ग गराएका, समाजमा अराजकता र अन्योल उत्पन्न गरी जनतालाई क्रान्तिबाट विमुख बनाउने षड्यन्त्र गरेका उदाहरणहरू छन् र त्यसकै पछिल्लो कडीका रूपमा पछिल्लो समयमा ‘एकीकृत जनक्रान्ति’ का नाउँमा खडा गराइएको विप्लव समूह देखिएको छ । त्यो समूहले दलाल पुँजीवादविरुद्ध वैज्ञानिक समाजवादी क्रान्तिको स्पष्ट खाका कोरेर क्रान्तिकारी आन्दोलन अघि बढाइरहेको र एकीकृत जनयुद्धको वैज्ञानिक कार्यदिशा अघि सारेर मूर्त रूप दिँदै गरेको नेकपा (बहुमत) का विभिन्न जिम्मेवारीका नेता–कार्यकर्तालाई भौतिक आक्रमण गर्नेजस्तो निन्दनीय, जघन्य र आपराधिक हर्कत गरेर त्यो समूह कोबाट परिचालित छ भन्ने कुरा कार्यरूपमै देखाएको छ । क्रान्तिकारीहरूलाई विभिन्न किसिमका धम्कीहरू दिने शृङ्खलाको पछिल्लो कडीका रूपमा उक्त समूहले नेकपा (बहुमत) कपिलवस्तुका सचिवालय सदस्य टुकलाल पुनमगरमाथि साङ्घातिक भौतिक आक्रमण गरी मरणासन्न बनाएको छ । नेपाल र उत्पीडित नेपाली जनताको जिम्मेवार सञ्चारमाध्यम हुनुको नाताले हामी यसप्रकारको आततायी, आपराधिक कार्य र गुन्डागर्दीको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ र कम्युनिस्ट पार्टीको झन्डामुनि साम्राज्यवादको सेवक बनी क्रान्तिकारीहरूमाथि आक्रमण गरेर दुस्मनलाई सेवा पुर्याउने विप्लव समूहलाई आत्मालोचना गरी राजनीतिक लयमा फर्किन सुझाव दिन्छौँ ।

दलाल पुँजीवादले आफ्नो सकिनै लागेको सत्ताको धुकधुकी बचाउन चुनावरूपी पाशा फ्यालेको छ र सिङ्गो क्रान्तिकारी जनसमुदाय र शक्तिहरू उक्त नौटङ्कीको अवज्ञा गर्दै सडक आन्दोलनमा छन् । यति बेला देशभक्त र क्रान्तिकारीहरूको साझा दुस्मन यो दलाल पुँजीवादी व्यवस्था, यसलाई टिकाउन मरिहत्ते गरेर लागेका साम्राज्यवाद पक्षधर दलाल पुँजीवादी शक्तिहरू र उसले घोषणा गरेको संसदीय चुनाव हो तर क्रान्तिकारी विचार, दर्शन र राजनीति छोडेर संसदीय संसद्वादी बनेको विप्लव समूह उसको संसद्‌वादी राजनीतिक चरित्र उदाङ्गिएपछि पागलपन देखाउँदै नेकपा (बहुमत) माथि आइलागेको छ र उसले सगर्व क्रान्तिकारीहरूमाथि गरिएको आक्रमण अनुमोदन गर्दै थप भौतिक आक्रमणहरू अघि बढाउने निकृष्ट ऐलान गरेको छ । यो उसको पतनको पराकाष्टा हो । मालेमावादी विचार र राजनीति समाप्त भएपछि र मालेमाको ब्यानरमा उसभित्र रहेको आपराधिक चरित्र नाङ्गेझार भएपछि उसले सबैभन्दा शत्रुशक्ति घोषणा गर्दै नेकपा (बहुमत) लाई निशाना बनाएको देखिन्छ । अब उसको निशाना दलाल पुँजीवाद र साम्राज्यवाद रहेन । क्रान्ति, सहिद, घाइते र क्रान्तिकारीहरूका नाउँमा दसौँ अर्ब रुपैयाँ सङ्कलन गरेर व्यक्तिगत बनाएपछि र आफ्ना सन्तान, नातागोता र एउटा सानो झुण्डलाई त्यसको मालिक बनाएपछि विप्लव समूह संसद्‌वादमा छिरेको थियो । नेकपा हुँदै त्यसभित्रका क्रान्तिकारीहरूले विप्लव र उनको समूहको संसद्‌वादमा पलायनका विरुद्ध विद्रोह गर्दै तिनलाई कारबाही गरी नेकपा (बहुमत) पुनर्गठन गरेपछि क्रान्तिको नाउँ लिँदै अर्बौंबाट खर्बौं सम्पत्ति कुम्ल्याउने त्यो समूहका मुख्य भनिएका नेताहरूको योजना र षड्यन्त्र भण्डाफोर हुँदै चकनाचुर हुन पुगेको थियो । पार्टीलाई संसद्‌वादी बनाएर क्रान्तिबट भाग्ने र क्रान्तिका नाउँमा सङ्कलन गरेको सम्पत्ति निजीकरण गर्ने योजना र उद्देश्य भण्डाफोर भएपछि उक्त समूहमा एकाएक पागलपन बढेको उसका पछिल्ला हर्कतहरूले पुष्टि गर्छन् । तीनबुँदे सहमतिअघिसम्म क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी नेतृत्वका रूपमा स्थापित बनिसकेको नेकपालाई संसदीय संशोधनवादी बनाएर क्रान्तिविरुद्ध भड्काउन साम्राज्यवाद र दलाल पुँजीवादले कति लगानी गरेका छन् भन्ने कुराको दृश्य नेकपाको विघटन र नेकपा (बहुमत) को पुनर्गठनका ६ महिनामा मोटामोटी देखिएको छ । अब विप्लव समूहमा क्रान्तिविरोधी कुनकुन शक्तिबाट कतिकति लगानी भएको छ भन्ने प्रमाण जुटेर सार्वजनिक भएपछि भने त्यो समूह एक आपराधिक जत्थाका रूपमा सर्वाङ्ग हुनेछ । एकीकृत जनक्रान्तिका नाउँमा बलिदान गर्ने १२ जना योद्धा, सयौँ घाइते र हजारौँ–लाखौँ उत्पीडितहरूले उक्त समूहका व्यक्तिका नाउँमा किनिएका जग्गा, निर्माण गरेका महल र लुकाएको रकममाथि हस्तक्षेप गर्नेछन् र त्यसमा उत्पीडित वर्गको स्वामित्व कायम हुनेछ । ‘लुटको धन फुपूको श्राद्ध’ भन्ने चलनचल्तीको नेपाली उखानजस्तै क्रान्तिका नाउँमा सङ्कलन गरेको रकम र त्यसबाट पालितपोषित आवारा–गुण्डाहरूको तुजुककै कारण यतिबेला क्रान्तिकारी शक्तिमाथि आक्रमण गर्न साम्राज्यवादले दिइरहेको ऊर्जा वास्तविक भनेर रहस्यहरू बाहिर आउनासाथ पानीको फोकासरह फुट्नेछन् र विप्लव समूह र त्यसका नाइकेहरू एक युगका अपराधी जत्थाका रूपमा इतिहासमा दर्ता हुनेछन् ।

नेपाली जनताका प्रधान शत्रु यतिबेला दलाल पुँजीवाद र त्यसलाई टेको दिएर साम्राज्यवादको सेवा गरिरहेका शक्तिहरू हुन् । यतबेला त्यो शक्तिले आफ्नो दीर्घजीवनका लागि चुनाव घोषणा गरेको छ । क्रान्तिकारी, देशभक्त शक्तिहरूले दलाल पुँजीवाद र त्यसका टेकाहरूका रूपमा उभिएका बुख्याँचा दलहरूका विरुद्ध वैचारिक, राजनीतिक र साङ्गठनिक विद्रोह बोल्नुपर्नेछ । नेपाललाई सधैँ साम्राज्यवादको गुलाम बनाएर केही पात्रहरूलाई किन्दै व्यवस्था बचाउने दलाल पुँजीवादको चिहानमा नै वैज्ञनिक समाजवादको फूल फुलेर फल लाग्नेछ । वैज्ञानिक समाजवादी क्रान्तिको भट्टीमा नै साम्राज्यवादका सबै किसिमका दलालहरूको अन्त्य हुनेछ । त्यसैले नेकपा (बहुमत) का संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले काठमाडौँमा आयोजित कार्यक्रममा साम्राज्यवादका सबै षड्यन्त्र र दलाल पुँजीवादका सबै उत्पीडिनका विरुद्ध वैज्ञानिक समाजवादी क्रान्तिमा लामबद्ध हुन र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न आह्वान गरेका छन् । नेकपा (बहुमत) का नेताहरूले साम्राज्यवादको निर्देशनमा क्रान्तिकारी शक्तिमाथि आपराधिक र गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रिने काम बन्द गरेर रूपान्तरित हुन र संसदीय संशोधनवादी विप्लव समूहबाट विद्रोह गरी क्रान्तिकारी आन्दोलन अर्थात् नेकपा (बहुमत) मा समाहित हुन पनि आह्वान गरेका छन् । आपराधिक आक्रमण, प्रतिक्रान्तिकारी कोन्ट्रा शैली त्यागेर क्रान्तिकारी आन्दोलनमा सामेल हुनु नै विप्लव समूहका लागि पनि राम्रो हुनेछ । अन्यथा भिरबाट लड्ने गोरुलाई कठै भन्नु र ढुङ्गाको जबाफ इँटले दिनुको विकल्प नै के हुन्छ र क्रान्तिकारीहरूसँग ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :