चुनावी बितण्डा र घिनलाग्दा प्रहसनहरू

‘संसदीय व्यवस्था (प्रजातन्त्र) पुँजीपति वर्गको देखाउने दाँत मात्र बन्न पुगेको छ । संसदीय व्यवस्था भएको जुनसुकै देशमा पनि नजर लगाउनोस्–वास्तविक ‘राजकीय’ कार्य त पर्दापछाडि हुन्छ र विभिन्न विभागहरू, कार्यालयहरू र अड्डाखानाहरूले त्यो कार्य पूरा गर्दछन् । संसद्मा चाहिँ ‘सर्वसाधारण जनताको’ आँखामा छारो हाल्ने विशेष उेद्दश्य राखेर खालि गफ मात्रै हाँकिन्छ ।’

–क. लेनिन

उसै त संसदीय व्यवस्था पुँजीपतिहरूको गफ, ठट्टा, भद्दा मजाक गर्ने थलोका रूपमा बदनाम छ । यो खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखानाका रूपमा पनि कुख्यात नै छ । अझ यसको भ्रष्टीकरण दलाल पुँजीवादी व्यवस्थामा भएको छ । अब यो व्यवस्था र यसलाई टिकाउन गरिएका हरेक प्रपञ्चहरूले के साबित गरिदिएका छन् भने दलाल पुँजीवादी व्यवस्था कुकुरकै मासु देखाएर कुकुरको मासु बेच्ने कसाईखानाका रूपमा पतीत भएको छ । दलाल संसदीय व्यवस्थाका अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा देखिएको भ्रष्टाचार, तीनै अङ्गले देश र जनतामाथि लादेको व्यभिचार र राष्ट्रघात–जनघातमा तिनले प्रदर्शन गरेको भूमिका कुनै पनि स्वाभिमान, चेतनशील, देशभक्त, क्रन्तिकारी तप्काका लागि पाच्य होइन, सह्य पनि छैन । यो व्यभिचारी, लूट र झूटमा आधारित व्यवस्था केवल सीमित दलालका लागि दलालद्वारा चुनावका नाउँमा गरिने ब्रह्मलूट हो र समाजवादी क्रान्तिको माध्यमबाट यो व्यवस्थाको चिहानमा वैज्ञानिक समाजवादी सत्ता निर्माण नगर्दासम्म देश र उत्पीडित वर्गले ‘नियति’ का नाउँमा यसलाई स्वीकार्नुपर्ने बाध्यता छ । तर पुरानो व्यवस्थाको अन्त्य र नयाँ, जनवादी, समाजवादी सत्ता निर्माणका लागि भएका हरेक आन्दोलन, सङ्घर्ष, युद्ध र क्रान्तिहरू सीमित व्यक्ति र समूहको स्वार्थमा सम्झौतामा टुङ्ग्याइने, एउटा सानो झुण्ड पुरानै सत्तासँग आत्समर्पण गर्न र उतै विलीन हुनपुग्ने दुःखद् यथार्थको पुनरावृत्तिले गाँजिरहेको छ । यो दलदलबाट उन्मुक्तिका लागि नेकपा (बहुमत) सहित चार कम्युनिस्ट/वामपन्थी दल यो व्यवस्थाले आफ्नो रक्षाका लागि गराउने कथित चुनावको अवज्ञा/बहिष्कार गर्ने घोषणा गर्दै देशव्यापी अभियानमा उत्रिएका छन् । उत्पीडित जनता र क्रान्तिकारी तप्काका लागि यो खुसीको कुरा हो । अवज्ञासभामा मानिसहरूको उत्साहजनक सहभागिता र सिर्जनात्मक प्रतिक्रियाले अब नेपालमा दलाल पुँजीवादी शोषण, दोहन र लूटका विरुद्ध भरपर्दो क्रान्तिकारी आन्दोलन उठिरहेको सन्देश दिएको छ । यसलाई अझै क्रियाशील र सशक्त बनाएर जनताबीच पुग्नुपर्छ र संसदीय संशोधनवादी दलालहरूले पूर्णविराम लगाएको क्रान्तिकारी आन्दोलन र परिवर्तनप्रतिको जनताको आशा र विश्वासलाई अझै उचाइमा उठाउनुपर्छ ।

दलाल पुँजीवादी राज्यव्यवस्थाका रक्षक घिनलाग्दा अनुहारहरू फेरि कथित प्रदेश र सङ्घको निर्वाचनका नाउँमा देश र जनतालाई दोहन गर्न माखेसाङ्लाहरू बुन्दै हिँडेका छन् । दुर्गन्धित व्यवस्थाका सडेगलेका अवयवहरूका विचारविहीन, सिद्धान्तविहीन, आदर्शच्यूत नितान्त दलाल सत्ता केन्द्रित गठबन्धन र मोर्चा निर्माणका घिनलाग्दा प्रहसनहरू हेर्दा डम्पिङसाइटको फोहोरले समेत नाक थुन्ने र भौतिक दृष्टिविहीनहरूले समेत आँखा छोप्ने अवस्था उत्पन्न भएको छ । जनयुद्धका नायक भनिएका तर आफैँले जनयुद्ध र त्यसका उपलब्धिहरूको घाँटी निमोठेर दलाल पुँजीवादी सत्ताका रक्षक बनेका पुष्पकमल दाहालको समूहले जनयुद्धकालमा आफ्नै टाउकाको मोल तोक्ने नेपाली काङ्ग्रेस र त्यसका नायक शेरबहादुर देउवासँग सिद्धान्तहीन गठबन्धन बनाएर यो व्यवस्थाको दुर्दशाको आफैँले पर्दाफास गरिदिएका छन् । इतिहासका कुडाकर्कटका रूपमा पतीत भइसकेका केपी वली, माधव नेपाल वा झलनाथ समूहका त कुरै छोडौँ, तिनले आफ्नो अस्तित्वरक्षाका लागि प्रदर्शन गरेको छट्पटी, चिच्याहट र क्रन्दनले उग्राएर बसिरहेको खच्चड पनि हाँसिरहेको प्रतीत हुन्छ, चेतनशील मानिसको त कुरै छोडौँ । नग्नता र भद्दापनको पराकाष्टा संसद्वादी समूहहरूले प्रदर्शन गरिरहेका छन् । देश र जनताका लागि तत्काल यसको नकारात्मक असर रहे पनि वैज्ञानिक समाजवाद स्थापनाका लागि जारी आन्दोलनका लागि यसले आफ्नै ठाउँबाट नकारात्मक रूपमा सहयोग पनि गरिरहेको छ । दलाल संसदीय व्यवस्थामा अब पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी वली, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र लिङ्देन, कमल थापा, राजेन्द्र महतो वा उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी नाउँका समूहहरूका बीचमा कुनै भेद छैन । के नाउँ गरेको समूहले कुन पार्टीको लोगो वा झन्डा देखाएर कति स्वार्थ पूरा गर्न सक्यो भन्ने मात्र फरक छ । आज यो पार्टीको झन्डा बोकिरहेको पात्र चुनावमा टिकट नपाएपछि रातारात अर्को पार्टीको झन्डा बोक्न पुगेको छ । भ्रष्ट र पतीतहरूले विभिन्न बहानामा कम्युनिस्ट पार्टीको झन्डाको समेत हुर्मत लिइरहेका हृदयविदारक र बीभत्स दृश्यहरूले समग्र समाजलाई नै दिगमिग उत्पन्न गराइदिएका छन् । राज्यस्रोतको दुरुपयोग, दोहन र ब्रह्मलूट एक मात्र स्वार्थ भएका कारण दलाल पुँजीवादका पक्षधरहरूबीच विचार र सिद्धान्तको अब कुनै सीमारेखा रहेन । व्यवस्थाको रक्षाका नाउँमा तिनले गर्ने हर्कतमा कुनै अन्तर रहेन । संसदीय पार्टी र पात्रहरू आआफैँ नग्न भएर सडकमा उत्रिएपछि अब जनतालाई पनि कुनै भ्रम हुनुपर्ने ठाउँ छैन । आमूल परिवर्तनका लागि निरन्तर जारी त्याग, शौर्य, साहस र बलिदानहरू खेर जाने छैनन् । संसदीय व्यवस्थाको भण्डाफोर र वैज्ञानिक समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि देशभर जारी अवज्ञा/बहिष्कार सभा, दलाल व्यवस्थाको धज्जी उडाउँदै भ्रष्टहरूविरुद्ध दिइएका ज्ञापनपत्र, जनताको आँखामा देखिएको क्रान्तिप्रतिको आशा र दलालहरूविरुद्धको घृणाले अवश्य पनि क्रान्तिको सुन्दर र उज्ज्वल भविष्य सन्निकट रहेको प्रतीत हुन्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :