पार्टी पुनर्गठनका ५ महिना र प्रारम्भिक उपलब्धिहरू

पार्टी पुनर्गठनका ५ महिना र प्रारम्भिक उपलब्धिहरू

आरम्भ

इतिहासको संकेन्द्रण र विस्तारको नियम के रहेको छ भने कुनै–कुनै निश्चित वर्ष, महिना र दिनहरू दशक र शताब्दीकै संकेन्द्रण (संश्लेषण) बन्न जान्छन् । अर्कोतिर निश्चित घण्टा, दिन र महिनाहरू दशक र शताब्दीमा विस्तारित (विश्लेषण) हुन पुग्छन् । २०५२ सालको वर्ष, फागुनको महिना र १ गतेको दिन जसले नेपाली समाजमा अन्तर्निहित सयौँ वर्षदेखिको क्रान्तिकारी आन्दोलन र सङ्घर्षलाई एउटा दिनमा संकेन्द्रित गरिदिएको थियो । बितेका पछिल्ला दिनहरू, वर्षहरू र झन्डै तीन दशकको समय नकारात्मक–सकारात्मक यसकै निरन्तर विस्तारको समय हो । भौतिक जगत्को ‘महाविस्फोट’ र ‘महासङ्कुचन’ जस्तै हुन् सामाजिक जगत्मा यी केही दिन, दशक र शताव्दीहरू ! दुनियाँ र नेपालकै इतिहासमा यस्ता अरू केही दिन र दशकहरू पनि छन् जसले समयको त्यो स्थान ग्रहण गरेका छन् ।

२०५२ फागुन १ गतेको दिन नेपालको कम्युनिस्ट आन्दोलन र विशेषतः माओवादी आन्दोलनको इतिहासका लागि एउटा विशिष्ट दिन हो जसले नेपालको कम्युनिस्ट आन्दोलनका ४६ वर्षहरूलाई एउटा दिनमा संश्लेषण गरिदिएको थियो । त्यसपछिको समय यसको नकारात्मक–सकारात्मक विस्तार हो । समयावधिको हिसाबले नेपालको इतिहासमा फेरि अर्को एउटा महाविस्फोट वा महासङ्कुचन अवश्यम्भाबी भइसकेको छ । राजनीतिक, आर्थिक, सामाजिक हरक्षेत्रमा यो महाविस्फोटका पूर्वसङ्केतहरू गम्भीर अनुभूत भइरहेका छन् । एउटा देशभक्त, एउटा बुद्धिजीवी, एउटा कर्मचारी (निजामती÷जङ्गी), एउटा राजनीतिकर्मी, एउटा व्यवसायी, एउटा किसान, एउटा मजदुर, एउटा युवा अनि त्यसरी नै महिला, दलित, आदिबासी–जनजाति सम्पूर्ण तप्कामा यो अनुभूति एकपछि अर्को तीव्र हुँदै गइरहेको छ । तीव्रताको यो स्तर अस्तिको भन्दा हिजो र हिजोको भन्दा आज ज्यादा घनीभूत हुँदै गइरहेको छ ।

भौतिक जगत्मा हुने महाविस्फोट वा महासङ्कुचन एक स्वतस्फूर्त प्रक्रिया हो तर सामाजिक जगत्मा हुने विस्फोटन वा सङ्कुचनमा मानिसको क्रियाशील भूमिकाले महत्वपूर्ण स्थान लिन्छ । माक्र्सवादले यो भूमिकालाई बल प्रयोगको ऐतिहासिक आवश्यकता र अनिवार्यताका रूपमा ग्रहण गर्दछ र अनुशरण गर्दछ ।

नेपाली इतिहासमा क्रान्तिकारी आन्दोलनको पछिल्लो पहलकदमी माओवादी आन्दोलनका रूपमा अघि बढ्यो । भलै त्यसले सार्थक पूर्णता लिन सकेन जसको परिणाम आज त्यसको मुख्य नेतृत्व र सिङ्गो आन्दोलनमाथि कैयौँ प्रश्नका तीर सोझिएका छन् । समयका यिनै ‘यक्ष’ प्रश्नहरूको जबाफका लागि अघि बढेको पङ्क्तिबाट क्रमशः ‘जनयुद्धको जगमा जनविद्रोह’ र ‘एकीकृत जनक्रान्ति’ नामक कवच निर्माण भयो तर परीक्षण र प्रयोगका केही वर्षभित्रै ती कवचहरू निष्प्रभावी हुन पुगे । तत्पश्चात् ऐतिहासिक आवश्यकताको अनिवार्य भट्टीबाट फेरि अर्को नयाँ कवच निर्माण भएको छ– एकीकृत जनयुद्ध ! २०७९ वैशाख २१ गते एकीकृत जनयुद्धको कवच आरनबाट निकालियो जसको ‘विश्वकर्मा’ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रहन गयो ।

२१ वैशाख के त्यस्तो दिन हुन सक्ला जसले नेपाली इतिहासको नयाँ संकेन्द्रणलाई आफूमा निहित गर्न सकोस् ? जबाफको पूर्णताका लागि केही समय अवश्य पर्खनु पर्नेछ तर आवश्यकता के हो भने कुनै न कुनै अग्रगामी शक्तिले यो भार बहन गर्नै पर्नेछ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) यो आवश्यकतालाई खुला चुनौतीका साथ आत्मसात गर्दछ । त्यसप्रति आफूलाई दृढताका साथ समर्पित गर्दछ ।

इतिहासको अग्रगामी प्रवाहसँगै अघि बढ्नुका चुनौतीहरू सामान्य हुँदैनन् । हाम्रासामु सर्वहारा आन्दोलनको विजय र पराजयका थुप्रै दृष्टान्तहरू छन् । त्यहाँ अभिव्यक्त चुनौती र सम्भावनाहरू एवम् सकारात्मक र नकारात्मक शिक्षाहरू छन् । सामान्यतः आन्दोलनहरूको पराजय हुनुमा वस्तुगत परिस्थितिको विकासलाई सही दिशानिर्देश गर्नसक्ने चेतना (विवेक) को अपुगता एवम् आन्दोलनमा पैदा हुने स्वाभाविक जटिलताहरूसँग जुध्नसक्ने साहस र इमानदारीको अभाव आधारभूत कारण देखिन आउँछ । हाम्रो पार्टी यो तीतो वास्तविकतालाई गम्भीरतापूर्वक आत्मबोध गर्दछ । हामी सगौरव भन्न चाहन्छौँ– हाम्रो पार्टीको यो पुनर्गठन त्यसखाले चुनौतीको सामना गर्न अर्को एउटा नवीन सुरुआत हो, नयाँ अठोट र प्रतिबद्धता हो । पार्टी गठनका पाँच महिना पूरा हुँदैछन् । चुनौती र सम्भावनाका सयौँ शृङ्खलाहरू बाँकी नै छन् । तथापि ‘बिहानीले दिउँसोको सङ्केत गर्छ’ भनेझैँ छोटो अवधिमै विकसित घटनाक्रमहरूमार्फत अभिव्यक्त उपलब्धिहरूलाई यो आलेखमा सङ्क्षेपीकरण गर्ने प्रयास हुनेछ ।

१. क्रान्तिकारी मूल्यको रक्षा

संसदीय व्यवस्थाभित्र हुने आवधिक चुनाव बहिष्कारको स्पष्ट दृष्टिकोणसहित संसद्वादको फोहोरी दलदलबाट आफूलाई जोगाउन सक्नु नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को उच्च सफलता हो । यो एक सर्वाधिक महत्वको सैद्धान्तिक र राजनीतिक पहलकदमी हो । वैचारिक दूरदर्शिता हो ।

सामान्यतः चुनावलाई माक्र्सवादीहरूले कार्यनीतिक विषयका रूपमा स्वीकार गर्दछन् तर पार्टी पुनर्गठनको एउटा महत्वपूर्ण कारक मानिएको संसदीय व्यवस्थाको चुनावमा भाग नलिनु हाम्रा पूर्वसहकर्मी कमरेडहरूले भनेजस्तो यो नितान्त कार्यनीतिक विषय अर्थात् विचार, राजनीति र कार्यदिशासँग सरोकार नै नराख्ने अति सामान्य विषय भने पक्कै होइन । चुनाव प्रयोग र बहिष्कारको सन्दर्भ विगतदेखि नै एउटा स्पष्ट रणनीतिक उद्देश्यका साथ हुने गरेको छ । जस्तो कि लेनिनले चुनाव (दुमा) मा त्यति बेला भाग लिनुभयो जति बेला सन् १९०५ को क्रान्तिमा बोल्सेभिकहरू नराम्ररी हारेका थिए, पार्टीको शक्ति छिन्नभिन्न र कमजोर भएको थियो । जनतामा निकै ठूलो निराशाको स्थिति छाएको थियो । त्यसरी नै माओले सन् १९४५ मा संयुक्त सरकारको कार्यनीति अघि सारेर चुनावको विषय त्यति बेला उठाउनुभयो जति बेला जापानी साम्राज्यवाद विश्वभर नराम्ररी पराजित भएको थियो र चीनमा समेत थिलथिलो भइसकेको थियो ।

हाम्रो आफ्नै इतिहासलाई फर्केर हेर्दा पनि वि.सं. २०४८ मा देशमा निरङ्कुश राजतन्त्र अन्त्य भएको र बहुदलीय प्रणाली स्थापना भएको परिस्थिति एवम् वि.सं. २०६४ मा नेकपा (माओवादी) र संसद्वादी पार्टीहरूको संयुक्त पहलमा गणतन्त्र स्थापनाको साझा सहमतिसहित सडकबाट स्थापित अन्तरिम विधायिकाको नेतृत्वमा भएको चुनावमा पार्टीले भाग लिएको थियो । ती दुवै चुनाव संसदीय व्यवस्थाअन्तर्गतका कुनै आवधिक चुनाव थिएनन् ।

गत वैशाख ३० मा गरिएको स्थानीय चुनाव होओस् वा आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको चुनाव, यो त यथास्थितिको निरन्तरताअन्तर्गत दलाल संसदीय व्यवस्थाको आवधिक चुनाव हो । यति बेला न कुनै ठूलो राजनीतिक उथलपुथल छ, न त कुनै भयङ्कर ठूलो पराजय वा विजयको स्थिति छ, बरु यो बेला आमजनता र कार्यकर्तासमेतले विगत दसबर्से जनयुद्ध विघटनको पीडा सहन गरिसकेको पनि डेढ दशक पूरा भइसकेको अवस्था छ । प्रचण्ड, बाबुराम, बादललगायत विगत दसबर्से माओवादी आन्दोलनको शीर्ष नेतृत्वको एउटा उल्लेख्य हिस्सा संसदीय व्यवस्थाको हिलाम्मे दलदलमा भासिएको अवस्थामा उही चुनावमा ‘मरिहत्ते’ गरी भाग लिन खोज्नु नियत जतिसुकै ‘शुद्ध’ मानिए पनि यो एक अदूरदर्शी र निकै अपरिपक्व दुष्कार्य थियो र हो । यथास्थितिमा चुनावमा भाग लिनु संसद्वादका सामु घुँडा टेक्नु र जनतालाई धोका दिनुबाहेक अरू केही पनि होइन । नेकपा (बहुमत) ले संसद्वादका विरुद्धको यो वैचारिक लडाइँमा आफूलाई बेदागी साबित गरेको छ । यो पहलकदमीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रत्येक नेता, कार्यकर्ता र शुभेच्छुकहरू तथा देशभक्त एवम् क्रान्तिकारी जनताको शिर उचो भएको छ र छाती चौडा भएको छ । यो क्रान्तिकारी मूल्य रक्षाको अहम् प्रश्न हो । नैतिकता र मनोबलको प्रश्न हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यो प्रथम लडाइँमा शानदार विजय हासिल गरेको छ ।

२. कार्यदिशाको व्यावहारिक साबिती

जब पार्टीको गठन भयो हाम्रा नीति तथा कार्यक्रमहरूमार्फत जनतामा हामीले हाम्रो विचार, राजनीति र कार्यदिशालाई पु¥याउने कोसिस ग¥यौँ । यसक्रममा धेरै प्रकारका कार्यक्रमहरू अघि बढेका छन् जसअन्तर्गतका दुईवटा विशिष्ट कार्यक्रमहरू– मिटरब्याजलगायतको लघुवित्तीय शोषणविरुद्धको सङ्घर्ष र देशव्यापी जागरण अभियानको सञ्चालनले कार्यदिशालाई आमजनतामा जोड्न ठूलो मद्दत गरेको छ । यसले हजारौँ कार्यकर्ता र लाखौँ जनतालाई अभियानमा लामबद्ध बनाएको छ ।

जागरण अभियानले पार्टीलाई सङ्गठनात्मक रूपमा जिल्ला स्तरसम्म सुदृढ गरेको छ । विद्यार्थी, युवा, किसान, मजदुर, महिला, दलितलगायत जनवर्गीय सङ्गठनहरूमार्फत जनताको एउटा तप्कासम्म पार्टी विस्तारित भएको छ । राजनीतिक भेटघाट, अन्तरक्रिया र छलफलहरूले विरोधी र सहयोगी दुवै तप्काको सचेत पङ्क्तिमा पार्टीलाई स्थापित गरेको छ । जागरण अभियान देशव्यापी एक सशक्त प्रचारात्मक अभियानमा रूपान्तरण भएको छ ।

पार्टी पुनर्गठनको सुरुदेखि नै मिटर ब्याजलगायतको वित्तीय शोषण र भ्रष्टाचारका विरुद्ध पार्टी देशव्यापी परिचालित भयो । कैयौँ ठाउँमा विविध प्रकृतिका जनकारबाहीहरूसमेत सम्पन्न भएका छन् । यो कार्यक्रमले आधारभूत जनतामा पार्टीप्रतिको अपनत्वलाई संस्थागत गरेको छ भने जनविरोधी तप्का पार्टीप्रति त्रसित भएको छ । एक प्रकारको पेचिलो वर्गसङ्घर्षको आरम्भ भएको छ । सत्ता र पैसाको बलमा लुट मच्चाउँदै आएको पङ्क्ति निकै सतर्कतापूर्वक हामीलाई नियालिरहेको छ ।

प्रत्येक सङ्घर्षमा जनतालाई जोड्नु र त्यसको कुशल नेतृत्व गर्नु पार्टीको तत्कालिक आधारभूत आवश्यकता हो । सङ्घर्ष यसर्थ कि यसले एकातिर पार्टीलाई शुद्धीकृत गर्न मद्दत गर्दछ भने अर्कोतिर जनतालाई सङ्घर्षशील र जुझारु बनाउन मद्दत गर्दछ । हरेक सङ्घर्षलाई राजनीतिक औचित्यद्वारा साबित गर्नु र त्यसलाई अर्थवाद र सुधारवादको भड्खालोबाट जोगाउनु सङ्घर्षसम्बन्धी पार्टीको विगतको महत्वपूर्ण शिक्षा हो । हरेक तहको पार्टीपङ्क्तिमा यो कार्यभार हिजोभन्दा आज झन् बढेर गएको छ । पाँच महिनाको छोटो अविधिमै सम्पन्न कार्यक्रमहरूले पार्टी जुन स्तरमा स्थापित, सुदृढ र विस्तार भएको छ यसले पार्टी कार्यदिशाको सहीपनालाई व्यावहारिक साबित गरेको छ ।

३. एकता र ध्रुवीकरणको उत्साह

पुनर्गठनको आरम्भदेखि नै पार्टीले क्रान्तिकारी पङ्क्ति र व्यक्तित्वहरूसँगको एकता र ध्रुवीकरणलाई महत्वका साथ अघि बढायो । परिणामस्वरूप पार्टीमा एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भएको छ । जनसमाजवादी मञ्चसँग भएको एकता र विभिन्न पार्टीबाट विद्रोह गरेर आउनुभएका कमरेडहरूसँगको एकताले पार्टीको सङ्गठित ताकतमा थप बल पैदा गरेको छ । यो प्रक्रिया निरन्तर जारी छ । पार्टी एकताअन्तर्गत विशेषतः नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सँग एकताप्रक्रियाको थालनीले देशव्यापी उत्साह पैदा गरेको छ । त्यसका साथै पार्टीमा अन्यायपूर्ण तवरले थोपरिएका कारबाहीहरूलाई पार्टीले विशेष भेलाबाटै खारेज गरेर पार्टीमा क्रान्तिकारी न्यायप्रणालीलाई जीवन्तता प्रदान गरेको छ । यसले पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउनुका साथै बाह्य एकताको ढोकालाई सुस्पष्ट र फराकिलो बनाइदिएको छ ।

अन्त्यमा

राजनीतिक दृष्टिबाट हेर्दा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठन संसद्वादका विरुद्धको विद्रोह हो किनकि संविधानसभाको दोस्रो निर्वाचन, लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गठित स्थानीय तह, प्रदेश र सङ्घको प्रथम चुनाव चिहानमा पुगिसकेको संसद्वादको पुनर्जीवन हो । यो स्थितिमा संसदीय व्यवस्थाको कुनै पनि तहको चुनावमा भाग लिनु संसद्वादसँग घुँडा टेक्नु हो । हास्यास्पद कुरा त के भयो भने ती सबै चुनावहरू बहिष्कार गरेर यहाँसम्म आइपुगेको पार्टी र नेतृत्वले हठात् स्थानीय तहको दोस्रो औचित्यहीन चुनावमा भाग लियो । के कारणले हिजोको चुनावमा भाग लिनु संसद्वाद थियो र के कारणले अहिले चुनावमा भाग लिनु क्रान्तिकारी पहलकदमी थियो ? जति बेलासम्म यस विषयमा हाम्रा पूर्वसहकर्मी कमरेडहरू इमानदार हुन सक्दैनन् तबसम्म उनीहरूलाई यो प्रश्नले डसिरहनेछ, पीडा दिइरहने छ र प्रगतिको बाटो अवरुद्ध भइरहनेछ ।

दार्शनिक दृष्टिकोणबाट हेर्दा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठन सारसङ्ग्रहवादका विरुद्धको विद्रोह हो । एकीकृत जनक्रान्ति संश्लेषणको आरम्भमा जुन प्रकारको उत्साह थियो त्यसमा थप जरुरत थियो स्पष्टता र मुर्तता तर आरम्भदेखि नै कार्यदिशाको सैद्धान्तिक स्पष्टता र त्यसलाई लागू गर्ने कार्यनीति र कार्यक्रमको जुन मूर्त शृङ्खला आवश्यक थियो त्यो भएन । सुरुआतमा सामरिक कार्यदिशा मानिएको एकीकृत जनक्रान्तिलाई पछि गएर आमराजनीतिक कार्यदिशा बनाइयो । पार्टीमा दुई लाइन सङ्घर्ष हुँदैन भन्ने अधिभूतवादी दर्शन र निषेधात्मक सङ्गठनात्मक पद्धति सुरु गरियो । अर्थहीन ‘उत्तरसाम्राज्यवादी’ अर्थप्रणालीको व्याख्याअन्तर्गत व्यक्तिगत र सामूहिक पुँजी समिश्रणको बुर्जुवा अर्थ दृष्टिकोण पार्टीमा जबर्जस्त थोपरियो । ‘राजनीतिलाई शीर्ष स्थानमा राख’ भन्ने मालेमावादी मूल्य ‘अर्थलाई शीर्ष स्थानमा राख’ भन्ने प्रतिक्रान्तिकारी मूल्यमा फेरियो ।

अतः पार्टी पुनर्गठनको हाम्रो यो प्रयत्न सम्राट्लाई नग्न बनाउने ‘धृष्टता’ नभएर सम्राट्लाई स्वयम्को नग्नताप्रति बोध गराउने ‘शिशुप्रयत्न’ मात्र हो । अतः हामीले सारसङ्ग्रहवादलाई परित्याग गर्दै ‘जनवादी क्रान्तिको कार्यभारसहितको समाजवादी क्रान्ति’ को राजनीतिक कार्यदिशा तथा ‘एकीकृत जनयुद्ध’ को सामरिक कार्यदिशा तय गरेका छौँ । राजनीतिक कार्यदिशालाई लागू गर्ने कार्यनीति ‘स्वाधीन संयुक्त सरकार’, त्यसका कार्यक्रमहरू ः राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता सूत्रबद्ध गरेका छौँ । सामरिक कार्यदिशाअन्तर्गत दीर्घकालीन जनयुद्ध र आमसशस्त्र विद्रोहको एकीकृत प्रयोग तथा विकासको एउटा निश्चित अवस्थामा ती दुईबीच प्रधान र सहायकको स्थानमा हुने रूपान्तरणबारे स्पष्ट परिभाषा गरेका छौँ । त्यसलाई प्राप्त गर्ने शृङ्खलाका रूपमा जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोहलाई मूर्त गरेका छौँ ।

हाम्रो धृष्टता यो कदापि होइन– हामीबाहेक अरू कसैले पनि क्रान्ति गर्न सक्दैन, गर्नु हुँदैन । क्रान्ति नेपाली समाज र विश्व मानव जातिको अनिवार्य आवश्यकता हो । हाम्रो कर्तव्य केवल त्यसलाई इमानदारीपूर्ण स्वीकार गर्नु र लागू गर्ने प्रयत्न गर्नु मात्र हो । पाँच महिनाको छोटो अवधिमै पार्टी जुन प्रकारको वैचारिक राजनीतिक पक्षधरता र आधारभूत स्पष्टता कायम गर्न सफल भएको छ, वैज्ञानिक समाजवादको लक्ष्य भेदन गर्ने कार्यदिशा, कार्यनीति र कार्यक्रमको शृङ्खला तय गर्न सफल भएको छ, संसद्वादविरुद्धको बलियो मोर्चाबन्दी कायम गर्ने गरी एकताको अभियान आरम्भ गर्न सफल भएको छ, यसप्रति गौरव गरौँ । बाटो कठिन छ तर भविष्य उज्ज्वल छ !

१८ असोज, २०७९

प्रतिक्रिया दिनुहोस्