भ्रष्ट, मिटरब्याजी, ठेकेदार र शैक्षिक माफियाहरूको उम्मेदवारी अस्वीकार गर्न माग गर्दै युवा जनस्वयम्सेवकद्वारा निर्वाचन आयोगलाई ज्ञापन

भ्रष्ट, मिटरब्याजी, ठेकेदार र शैक्षिक माफियाहरूको उम्मेदवारी अस्वीकार गर्न माग गर्दै युवा जनस्वयम्सेवकद्वारा निर्वाचन आयोगलाई ज्ञापन

भ्रष्टाचारको अभियोगमा प्रमाणित वा आरोपित व्यक्तिहरूलाई, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरूलाई, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरूलाई तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरूलाई उम्मेदवार नबन्न, बनाउन नदिन जोडदार माग ।

काठमाडौँ : युवा जनस्वयम्सेवक नेपालले विभिन्न क्षेत्रका भ्रष्टहरूको उम्मेदवारी नलिन निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष हरिश भट्टको नेतृत्वमा गएको टोलीले बुधबार थपलियालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भ्रष्टाचारको अभियोगमा प्रमाणित वा आरोपित व्यक्तिहरूलाई, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरूलाई, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरूलाई र शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरूलाई उम्मेदवार नबन्न, बनाउन नदिन जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारद्वारा यही मङ्सिर ४ गते सङ्घ र प्रदेश तहका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । संसदीय व्यवस्थाको २०० वर्षको विश्वव्यापी प्रयोग र सामान्यतः २००७ सालदेखि २०१७ तथा विशेषतः २०४६ सालयतादेखि नेपाली जनताको भोगाइबाट प्रमाणित वास्तविकता यो हो कि संसदीय व्यवस्था श्रमिक तथा उत्पीडित जनता र राष्ट्रहितविरुद्धको जनघाती र राष्ट्रघाती व्यवस्था हो । संसदीय निर्वाचन राज्य सम्पत्तिमाथि लुटखसोट मच्चाउन पुँजीपतिहरूका समूहहरूमध्ये प्रत्येकलाई आलोपालो सत्तासीन गर्ने सुविचारित खेल तथा जनताको आँखामा लोकतन्त्रको छारो हाल्न गरिने प्रपञ्चबाहेक केही पनि होइन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो सङ्गठन देश र जनताको हितविरुद्ध प्रयोग हुने यसखाले संसदीय निर्वाचन औचित्यहीन ठान्दछ । तथापि अर्को विकल्प नहुँदासम्म जनता यो घट्टमा पिसिइरहनु एक बाध्यता हुनेछ जबसम्म उनीहरू स्वयम् त्यसका विरुद्ध जाइलाग्ने छैनन् । हामी चाहन्छौँ– शिक्षा र स्वास्थ्यमाथिको व्यापार पूर्ण रूपले बन्द होओस् र आमजनतालाई शिक्षा र स्वास्थ्यको निःशुल्क सुविधा प्राप्त होओस् । सम्पूर्ण नेपाली नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकार सुनिश्चित गरियोस् । आवासविहीन नागरिकहरूलाई आवासको सुनिश्चितता होओस् । सम्पूर्ण श्रमिक जनतालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी होओस् । असमान र राष्ट्रघाती सन्धिसम्झौताहरूको खारेजी होओस् । भ्रष्टाचारमुक्त र सुशासनयुक्त व्यवस्था होओस् । अतः जनताको मतको न्यूनतम् सम्मान गर्न हरेक राजनीतिक पार्टीले लागू गर्ने गरी तपसिलका व्यक्तिहरूलाई समानुपातिक वा प्रत्यक्षतर्फको उम्मेदवार बनाउन कडाइपूर्वक रोक लगाइयोस् भन्ने अुनरोधका साथ निर्वाचन आयोगसमक्ष यो ज्ञापनपत्र पेस गर्दछौँ ।’

ज्ञापनपत्रमा भ्रष्टाचारको अभियोगमा प्रमाणित वा आरोपित व्यक्ति, मिटरब्याजको अपराधमा संलग्न व्यक्ति, ठेकेदारको लाइसेन्स लिएका व्यक्ति तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरूलाई उम्मेदवार नबन्न, बनाउन नदिन पनि जोडदार माग गरिएको छ ।

युवा सङ्गठनले देश र जनताका पक्षमा बोल्नु र उभिनु आफ्नो आदर्श र कर्तव्य रहेको प्रस्ट पार्दै भनेको छ, ‘हाम्रो विश्वास छ– निर्वाचन आयोग जनताको आवाजको सम्मान गर्न सक्षम रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :