चार कम्युनिस्ट पार्टीले यसरी गर्दैछन् चुनावको अवज्ञा र बहिष्कार

आज पत्रकार सम्मेलन गरी अवज्ञा/बहिष्कारको कारण, नीति र कार्यक्रम सार्वजनिक गरिँदै

चार कम्युनिस्ट पार्टीले यसरी गर्दैछन् चुनावको अवज्ञा र बहिष्कार

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले आज अपराह्न पत्रकार सम्मेलन गरी संयुक्त रूपमा संसदीय निर्वाचन बहिष्कार/अवज्ञाको आधिकारिक घोषणा गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे प्रज्ञाभवन कमलादीमा आयोजना हुने संयुक्त पत्रकारसम्मेलनमा चार पार्टीले संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नुको कारण, त्यसका नीति, विधि र कार्यक्रमसमेत सार्वजनिक गरिने बताइएको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सञ्चारमाध्यमलाई आमन्त्रण गर्दै जारी गरेको सूचनाअनुसार प्रेस विज्ञप्तिमार्फत चारै पार्टीका नेताले चुनाव बहिष्कार/अवज्ञा गर्नुपर्नाका कारणसहित यो व्यवस्थाको विकल्पका बारेमा पनि धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

असोज २ गते आइतबार बसेको चार पार्टीका नेताहरूको बैठकले आज संयुक्त पत्रकार सम्मेलन गरी चुनाव बहिष्कार/अवज्ञा कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो । नेकपा (बहुमत) केन्द्रीय कार्यालय स्रोतले दिएको जानकारीअनुसार उक्त बैठकले चारवटै कम्युनिस्ट पार्टीबीच एकताका लागि पहल गर्ने निर्णय पनि गरेको छ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) का बीचमा एकता संयोजन समिति नै बनिसकेको छ भने अन्य पार्टीहरूसँग पनि एकताका लागि वार्ता र भइरहेको जनाइएको छ ।

२ गते बसेको चार पार्टीका नेताहरूको बैठकमा नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र कार्यालय सचिव गुणराज लोहनी, नेकपा (क्रान्तिकारी माओवादी) का कावा महासचिव सीपी गजुरेल, रामसिंह श्रीस र चन्द्रहरि सुवेदी, नेकपा मसाल विशेष महाधिवेशन आयोजक समितिका चिन्तामणि पौडेल र ओमबहादुर केसी तथा माओवादी कम्युनिस्ट पार्टीका रामनारायण पाल र लोकेन्द्रराज थापा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :