जाजरकोटबाट गिरफ्तार गरिएका नवीनलाई अविलम्ब बिनासर्त रिहा गर्न नेकपा (बहुमत) को माग

जाजरकोटबाट गिरफ्तार गरिएका नवीनलाई अविलम्ब बिनासर्त रिहा गर्न नेकपा (बहुमत) को माग

काठमाडौँ : नेकपा (बहुमत) ले बुधबार जाजरकोटको सिर्केबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेका पार्टी जिल्ला सम्मेलन आयोजक समितिका सदस्य इन्द्रबहादुर शाही ‘नवीन’ लाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी सरकारले तीनबुँदे सहमति पालना गर्दै झूट्टा मुद्दा खारेज गरी बन्दी रिहा गर्नुपर्नेमा उल्टै पार्टी कार्यकर्ता गिरफ्तार गरेकोमा चिन्ता प्रकट गरेका छन् ।

प्रवक्ता सुदर्शनले विज्ञप्तिमा भनेका छन्, ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक समितिका सदस्य कमरेड इन्द्रबहादुर शाही ‘नवीन’ लाई आज बिनाकारण जिल्लाको सिर्केबाट गिरफ्तार गरेको छ । हाम्रो पार्टी कमरेड नवीनलाई बिनासर्त अविलम्ब रिहा गर्न सरकारसमक्ष माग गर्दछ ।’

प्रवक्ता सुदर्शद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय विद्यालय व्यवस्थापन समितिको साधारणसभामा सहभागी भएको अवस्थामा प्रहरीले क. नवीनलाई गिरफ्तार गरी हिरासतमा राख्नु ३ बुँदे सहमतिको उल्लङ्घन हो । सरकार र हाम्रो पार्टीबीच भएको तीनबुँदे सहमति र सरकारले बारम्बार व्यक्त गर्दै आएको प्रतिबद्धताअनुसार हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका सम्पूर्ण झूट्टा मुद्दा खारेज गर्न र कारागारमा बन्दी बनाइएका सम्पूर्ण कमरेडलाई अविलम्ब रिहा गर्न पनि हामी माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :