क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले स्वोरोजागार मजदुरका रूपमा कार्यरत पठाओ सेवाअन्तर्गत सवारी चालकलाई राज्यद्वारा गर्ने दुर्व्यवहार र स्वयम् पठाओ एप्सले गरेको मनपरी सेवाशुल्क, चर्को प्रतिशत उठाइरहेकोमा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष विनोद थापाले विज्ञप्ति जारी गरी पठाओमा कार्यरत स्वोरोजगार श्रमिकको न्यायोचित मागलाई पूरा गर्न सरोकारवाला निकायसँग जोडदार माग राखेका छन् ।

विज्ञप्तिमा थापाले भनेका छन्, ‘भर्खरै मात्र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट हाम्रो महासङ्घलाई बदनाम गर्ने उद्देश्यबाट केही अराजक तत्वहरू सुनियोजित ढङ्गबाट हाम्राविरुद्ध सक्रिय रहेको देखिएको छ । तिनीहरूले गर्ने कुनै पनि गतिविधिमा हाम्रो संग्लनता नरहेको र उनीहरूले गरिरहेका आर्थिक गतिविधिबारे महासङ्घको कुनै पनि साइनोसम्बन्ध नरहेको हुँदा सङ्गठनको ब्यानरमा हुने कुनै पनि आपराधिक क्रियाकलाप स्वीकार गर्न नसकिने बेहोरा जानकारी गराउँदै केही व्यक्तिहरू जो हामीसँग सरोकार राख्दैनन्, तिनीहरूले लगाउने आरोपलाई हामी पूर्ण रूपमा खारेज गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकका बीच सक्रिय हाम्रो सङ्गठन मजदुरविरोधी गतिविधिमा संग्लन जोकोही व्यक्तिप्रति खबरदारी गर्दै आइरहेको पनि जानकारी गराउँछौँ । सङ्गठनमा आबद्ध हुनुभएका सम्पूर्ण कमरेडलाई सचेत रहन अनुरोध गर्दै हाम्रा शुभचिन्तक समर्थक उद्योगी व्यवसायी मित्रहरूलाई अनुरोध छ– हाम्रा साथीहरू तपाईंको बीच आउँदा पहिचानसहितको आफ्नो परिचयपत्रसहित आइरहेका छन् । तसर्थ परिवर्तनको एजेन्डालाई साथ दिन र राजनीतिक, साङ्गठनिक सम्बन्धलाई अझै प्रगाढ बनाउन सम्पूर्ण न्यायप्रेमी महानुभावहरूलाई यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :