अखिल क्रान्तिकारी त्रिवि क्याम्पस समितिद्वारा राज्य र त्रिवि प्रशासनलाई चेतावनी

अखिल क्रान्तिकारी त्रिवि क्याम्पस समितिद्वारा राज्य र त्रिवि प्रशासनलाई चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तकारी त्रिवि क्याम्पस समितिले विश्वविद्यालय बन्दको शृङ्खला अन्त्य गर्न, सम्बन्धित पक्षका जायज मागहरू तत्काल सम्बोधन गर्न, विश्वविद्यालय सधैँ खुला गर्ने वातावरण सिर्जना गर्न र सङ्गठनको आवरणमा भइरहेका अनैतिक तथा आपराधिक गतिविधि नियन्त्रण गरी त्रिवि धराशयी बनाउने दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ ।

क्याम्पस समितिका इन्चार्ज गोविन्द बिष्टले बिहीबार विज्ञप्ति जारी गर्दै अन्यथा सङ्गठन त्रिविको दुर्दशाप्रति मूकदर्शक बन्न नसक्ने र आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका छन् । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार त्रिवि प्रशासन र राज्य हुने पनि उनले जनाएका छन् ।

बिष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खोज, अध्ययन र अनुसन्धानको नेतृत्व लिनुपर्ने विशुद्ध प्राज्ञिक क्षेत्र नेपालको सबैभन्दा पहिलो र ठूलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबन्डाको अखडा बनेको र विद्यार्थी सङ्गठनको आवरणमा भइरहेको अराजकताप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । वार्षिक कार्यतालिकाअनुसार पठनपाठन, परीक्षा र परीक्षाफल प्रकाशित नहुनु, वरिष्ठता, योग्यता र क्षमताका आधारमा नभई दलका कार्यकर्ता भर्ती गरिनु, कमिसनको खेलमा भइरहेको त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र दुरुपयोग, आर्थिक चलखेलमा हुबहु प्रश्नपत्र दोहोरिने र सम्बन्धन दिने घटनाले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर र विश्वसनीयता खस्कँदो छ । देशको मस्तिष्कको प्रतीक मानिने विश्वविद्यालय भागबन्डाबाट आएका पदाधीकारीहरूको अक्षमता र गैरजिम्मेवारीपनले निरन्तर धराशयी बन्दै गइरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सधैँ खुला रहनुपर्ने विश्वविद्यालयमा तालाबन्दी र तोडफोड गरिनु, उपप्राध्यापक प्रेम चलाउनेमाथि साङ्घातिक हमला गरिनु, त्रिवि कार्यकारी परिषद्को माइन्युट खोस्नु, विभिन्न इच्छााशक्तिले सेवा आयोगमा तालाबन्दी गरिनुलगायत कयौँ समस्याहरू उत्पन्न हुँदासमेत त्रिवि प्रशासन र राज्य प्रशासन लाचार बनेको घटनाले राज्य नै त्रिवि धराशयी बनाउन लागिपरेको गम्भीर आशङ्का जन्मिएको छ । विद्यार्थी सङ्गठनको खोलमा उपप्राध्यपक प्रेम चलाउनेमाथि गरिएको साङ्घातिक आक्रमणका दोषीहरूलाई उन्मुक्ति दिन ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने चलखेल, त्रिवि पदाधिकारीहरूले गरेको सुरक्षा मागलगायत विषयले राज्य सुरक्षा दिन असफल भएको वा नदिएको आभास सबैलाई भएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन विश्वविद्यालय बन्दको शृङ्खला अन्त्य गर्न सम्बन्धित पक्षका जायज मागहरू तत्काल सम्बोधन गर्ने संयन्त्र खडा गरी विश्वविद्यालय सधैँ खुला गर्ने वातावरण सिर्जना गर्न र सङ्गठनको आवरणमा भइरहेका अनैतिक तथा आपराधिक गतिविधि नियन्त्रण गरी त्रिवि धराशयी बनाउने दोषीहरूलाई कडा कारबाहीको माग गर्दछ । अन्यथा त्याग, तपस्या, बलिदानी र समर्पणको पर्याय, परिवर्तनको मूल प्रवाह हाम्रो सङ्गठन त्रिविको दुर्दशाप्रति मूकदर्शक बन्न सक्दैन । आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछ जसले निम्तिने परिस्थितिको जिम्मेवार त्रिवि प्रशासन र राज्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :