युवा जनस्वयम्सेवकमा अजय र ट्रेड युनियन महासङ्घमा प्रेम चयन

युवा जनस्वयम्सेवकमा अजय र ट्रेड युनियन महासङ्घमा प्रेम चयन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङ जिल्लाको संयुक्त जिल्ला सम्मेलन तुलसीपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले दलाल पुँजीवादी व्यवस्थाका कारण देश चरम आर्थिक सङ्कटमा परेकाले यो व्यवस्थालाई मिल्काएर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने बताए । वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न युवा र मजदुरको विशेष भूमिका रहेको प्रस्ट पार्दै नेता शार्दूलले युवा र मजदुर एकजुट भएर दलाल सत्ताका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा पनि राखे ।

युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि हरिश भट्टले भष्टाचार, महँगी दिन–प्रतिदिन मौलाइरहेकाले त्यसका विरुद्ध युवा जनस्वयम्सेवक नेपालले निर्मम सङ्घर्ष गर्ने बताए । दलाल, भ्रष्टाचारी र घूसखोरहरूलाई नै दलाल राज्यसत्ताले संरक्षण गरिरहेको भन्दै भट्टले सचेत युवाहरू एकजुट भएर भ्रष्टहरूलाई कारबाही गरिने बताए । अधिकांश युवा बिदेसिनुमा संसदीय व्यवस्थाभित्रको दलाल सरकार जिम्मेवार रहेको प्रस्ट पार्दै अध्यक्ष भट्टले नेपाली युवाहरू एकजुट भएर आवश्यक पहलकदमी लिँदै यसको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय संयोजक तथा कार्यक्रमका विशेष अतिथि विनोद थापाले मजदुरहरूको श्रम शोषण गरेर पुँजीपति वर्ग झनै पुँजीपति हुँदै गएको र काम गर्ने श्रमिक वर्ग झनै न्यूनतम् समस्या पनि परिपूर्ति गर्न नसक्ने अवस्थामा पुगेको अवस्थामा दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु अपरिहार्य बनिसकेको बताए । अझै पनि मजदुरहरूलाई दिनको १५÷१६ घण्टा न्यून ज्यालामा श्रमशोषण गरेर दलालहरू मोटाइरहेको उनको भनाइ थियो । कामअनुसारको दाम र दामअनुसारको काम अझै पनि मजदुरले नपाएको अवस्थामा आफ्नो अधिकारका लागि मजदुरहरू एकजुट भएर दलाल पुँजीपति वर्गका विरुद्ध सङ्घर्ष अघि बढाइने थापाले बताए ।

सम्मेलनले अजयको अध्यक्षतामा ७७ सदस्यीय युवा जनस्वयम्सेवक दाङ जिल्ला समिति गठन गरेको छ । त्यस्तै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घमा प्रेम परियारको अध्यक्षतामा १७ सदस्यीय दाङ जिल्ला कार्यसमिति चयन गरिएको छ ।

सम्मेलनमा पार्टीका दाङ जिल्ला इन्चार्ज तिलक, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र, युवा जनस्वयम्सेवक लुम्बिनी ब्युरो इन्चार्ज चिरागलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सजकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :