फुटपाथ मजदुरहरूमाथिको बुल्डोजर आतङ्क तत्काल बन्द गर्न बालेन शाहलाई क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चेतावनी

फुटपाथ मजदुरहरूमाथिको बुल्डोजर आतङ्क तत्काल बन्द गर्न बालेन शाहलाई क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई फुटपाथ मजदुरहरूमाथि बुल्डोजर आतङ्क बन्द गर्न चेतावनी दिँदै बालेनका मतदाताहरूलाई आफूले दिएको मतबारे पुनर्मूल्याङ्कन गर्न आग्रह गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित कथित स्वतन्त्र उम्मेदार बालेन शाहले निमुखा, स्वरोजगार तथा फुटपाथ मजदुरहरूमाथि बुल्डोजर आतङ्क उत्पन्न गरी आफ्नो दानवीय चरित्र उदाङ्गो बनाएको, आमनिमुखा सर्वसाधारणको बाँच्न पाउने अधिकारसमेत खोसिदिएकाले शोषित–पीडित जनताले यो दर्दनाक अवस्थाको भागीदार हुनुपरेको उल्लेख गरेका छन् । अध्यक्ष थापाले बालेन शाहका महानगरबासी मतदाताले पनि आफ्नो मतप्रति गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको भन्दै थापाले व्यक्ति बदल्ने होइन, व्यवस्था बदल्नेतिर लाग्नुको सट्टा गलत व्यवस्थाको छत्रछायामा परेका हरेक सर्वसाधारणले यी दुःखद् क्षणहरू पलपल भोग्नुपर्ने बाध्यता आइलागेको पनि प्रस्ट पारेका छन् ।

थापाले आफ्नो सङ्गठन महानगरका प्रहरीको ज्यादती र मेयरको दादागिरीको घोर भत्र्सना गर्दै सडक तथा स्वरोजगार श्रमिकहरूको उचित विकल्प व्यवस्था नगरी त्यस्ता अमानवीय हर्कत नगर्न र फुटपाथ पसलमाथि गरिएको ज्यादती तत्काल बन्द गर्न जोडदार माग पनि राखेका छन् ।

थापाको विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ : यतिखेर नेपालको राजनीतिक सत्ता दलाल पुँजीवादको हातमा पुगेको छ । संसदीय पार्टी तिनका आदेशका परिपालकबाहेक अरू केही हुन सकिरहेका छैनन् । दिनानुदिन जनविश्वास गुमाइरहेको छ । दृश्य–अदृश्य शक्तिकेन्द्रको चलखेल डरलाग्दो ढङ्गबाट बढिरहेको परिप्रेक्ष्यमा नेपालमा राजनीतिक सत्ता समीकरणदेखि लिएर दलीय गठबन्धन पनि विदेशी इसारा र आफ्नो असफलतालाई ढाकछोप गर्ने गरी अप्राकृतिक रूपमा हुने गरेको छ । समग्रमा भन्नुपर्दा संसद्वादीहरू नाङ्गेझार भई जनताको दृष्टिमा गिर्न पुगेका छन् । यसै बेला मौकाको फाइदा लिई विभिन्न आवरणधारी पात्र र प्रवृत्तिहरू सहर र गाउँमा टकराउन आइरहेका छन् । कोही स्वतन्त्रका नाममा, कसैले भने मेसनरीको डिजाइनमा स्थानीय चुनाव पनि अप्रत्यासित ढङ्गवाट जितेका छन् जसको दादागिरी पछिल्लो चरण राज्यद्वारा उत्पीडित वर्ग र समुदायमाथि पर्न गएको छ । त्यो प्रकरण काठमाडाँै महानगरपालिकाका नवनिर्वाचित कथित स्वतन्त्र उम्मेदार बालेन शाहबाट प्रस्फुटित भएको छ । निमुखा, स्वरोजगार तथा फुटपाथ मजदुरहरूमाथि बुल्डोजर आतङ्क उत्पन्न गरी आफ्नो दानवीय चरित्र उदाङ्गो मात्र बनाएका छैनन्, आमनिमुखा सर्वसाधारणको बाँच्न पाउने अधिकार पनि खोसिदिएका छन् । यो दर्दनाक अवस्थाको भागीदार शोषित–पीडित जनता हुनपुगेका छन् । महानगरबासी बालेन शाहका मतदाताहरूले पनि गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । व्यक्ति बदल्ने होइन, व्यवस्था बदल्नेतिर लाग्नुको सट्टा गलत व्यवस्थाको छत्रछायामा परेका हरेक सर्वसाधारणले यी दुःखद् क्षणहरू पलपल भोग्नुपर्ने बाध्यता आइलागेको छ । तसर्थ हाम्रो सङ्गठन महानगरका नगरप्रहरीको ज्यादती र मेयरको दादागिरीको घोर भत्र्सना गर्दै सडक तथा स्वरोजगार श्रमिकहरूको उचित विकल्प व्यवस्था नगरी त्यस्ता अमानवीय हर्कत नगर्न र फुटपाथ पसलमाथि गरिएको ज्यादती तत्काल बन्द गर्नु जोडदार माग राख्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :