राष्ट्रिय जागरण अभियानले ल्याएको लहर

राष्ट्रिय जागरण अभियानले ल्याएको लहर

दलाल पुँजीवादी शासकहरूले देश र जनतामाथि गम्भीर किसिमका घातहरू गरिरहेको र त्यसलाई अनुमोदन गाउनका लागि कथित प्रदेश र सङ्घको चुनाव घोषणा गरेको अवस्थामा नेकपा (बहुमत) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई केन्द्रमा राखेर ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ आरम्भ गरेको छ । ‘संसदीय संशोधनवादका विरुद्ध सङ्घर्ष गरौँ ! वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढौँ !!’ नारा तय गरेर आरम्भ गरिएको देशव्यापी अभियानले महँगी, कालोबजारी, भ्रष्टाचार, अनियमितता र शोषणको जालोमा परेर उकुसमुकुस भएका श्रमिक जनतामा एउटा खुसीको लहर सञ्चार गरेको छ । नेकपा (बहुमत) ले आरम्भ गरेको अभियानका कारण देशभक्तहरूमा पनि यो देश र जनताका लागि निरन्तर लडिरहने एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रियाशील छ र जनतालाई निरन्तर राष्ट्रियता रक्षाका लागि आन्दोलित बनाइरहेको छ भन्ने एउटा नयाँ सन्देश दिएको छ । अभियानमा जनताको सक्रिय सहभागिता र क्रियाशीलताले अभियान सही समयमा सही योजना, नारा र कार्यक्रम लिएर आएको महसुस सबैतिर भएको अनुभूति गरिएको छ । मुलुकमा अभाव, सङ्कट, महँगी, भ्रष्टाचार र अनियमितताको कालो बादल मडारिइरहेको समयमा यो अभियानले मरुभूमिमा बर्सात्ले ल्याएको जस्तो खुसीको सञ्चार छरेको छ । अभियानमा लामबद्ध हुने क्रममा उत्पीडित किसान, मजदुर, महिला, दलाल पुँजीवादको चपेटामा परेका व्यवसायीहरूले आफ्नो आवाज पार्टीले बोलिदिएको भन्दै खुसी व्यक्त गरेका छन् । पार्टीमा सङ्गठित हुने जनताको सङ्ख्या तीव्रतामा बढेको छ । यसै क्रममा विभिन्न संसदीय संशोधनवादी, अवसरवादी, सम्झौतावादी पार्टीहरूमा दिग्भ्रमित भएर बसेकाहरू ती पार्टीहरूबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध भएका छन् । यसले अभियानको सार्थकता र सफलताको सङ्केत गरेको छ ।

नेकपा (बहुमत) ले अभियानको आरम्भमै राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित २३ बुँदे मागहरू अघि सार्दै सरकारलाई ती मागहरू अविलम्ब सम्बोधन गर्न आह्वान पनि गरेको छ । नेकपा (बहुमत) ले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी, एसपीपी सम्झौता खारेज गर्न, नेपाल र भारतबीच भएका असमान सन्धि–सम्झौता खारेजी तथा पुनरावलोकन गर्न, भारतीय साम्राज्यवादद्वारा अतिक्रमित नेपालका भूभाग फिर्ता गराउन, खुला सिमाना बन्द गरी वर्क पर्मिट लागू गर्न, साम्राज्यवादी तथा प्रतिक्रियावादी उद्देश्यद्वारा सञ्चालित गैरसरकारी संस्थाहरूलाई नियन्त्रण तथा नियमन गर्न, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उद्योग, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्यका साथै सबै किसिमका साम्राज्यवादी सांस्कृतिक अतिक्रमण अन्त्य गर्न माग गरेको छ ।

नेकपा (बहुमतले जनताको वास्तविक जनगणतन्त्र स्थापना गर्न प्रत्याह्वानको व्यवस्थासहित निर्वाचित कार्यकारी प्रमुख र न्यायपालिका भएको स्वाधीन संयुक्त सरकार गठन गर्न, आत्मनिर्णयको अधिकारसहित उत्पीडित राष्ट्रियता र उत्पीडित क्षेत्रहरूको स्वायत्तता लागू गर्न, महिला हिंसा तथा लैङ्गिक विभेद, जातीय प्रथा, वर्णलगायत सम्पूर्ण विभेद अन्त्य गर्न, सरकारसँग करिब २ वर्षअघि भएको तीनबुँदे सहमति लागू गर्न, सहमतिविपरीत र जनयुद्धका प्रक्रियामा लगाइएका झूट्टा मुद्दा खारेज गरी सम्पूर्ण राजबन्दीहरू रिहा गर्न पनि माग गरेको छ ।

त्यसैगरी नेकपा (बहुमत) ले सम्पूर्ण नेपाली जनतालाई जमिनमाथि जन्मसिद्ध अधिकार सुनिश्चित गर्न, दलाल तथा नोकरशाही पुँजी राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगहरू स्थापना गर्न, सम्पूर्ण नेपाली नागरिकको आवासको व्यवस्था सुनिश्चित गर्नुका साथै सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको तुरुन्त वैकल्पिक व्यवस्था गर्न, सम्पूर्ण श्रमिकको न्यूनतम् ज्याला दैनिक १ हजार व्यवस्था गर्न, विदेशमा पलायन भइरहेको सीप र श्रमलाई रोक्न स्वदेशमा रोजगारीको योजनाबद्ध व्यवस्था गर्न, किसानहरूलाई उपयुक्त समयमा नै मल, बिउ, औजारको सस्तो र सुलभ व्यवस्था गर्न, सबैलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न, साना तथा मझौला उद्योगहरूलाई विशेष सहुलियतको व्यवस्था गर्न, अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाको उचित संरक्षण प्रदान गर्न, जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपाङ्ग योद्धाहरूको उपचार तथा जीविकाको उचित व्यवस्था गर्न, कालोबजारिया, तस्कर, घूसखोर, भ्रष्टाचारी, कमिसनखोरहरूलाई कडा सजाय गरी अनुचित रूपले आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न, मिटरब्याजी, लघुवित्त, सहकारी र बैङ्कहरूद्वारा गरिएको सूदखोरीको नियमन गरी त्यसमा संलग्न अधिकारीहरूलाई कडा कारबाही गर्न, लागूपदार्थको दुव्र्यसन अन्त्य गर्नका लागि राष्ट्रिय संयन्त्र गठन गर्न पनि माग गरेको छ ।

नेकपा (बहुमत) ले नेपाली जनतालाई क्रान्तिका अगुवा भनिनेहरूले बारम्बार धोका दिँदै र गद्दारी गर्दै आफू, आफ्नो समूहका लागि क्रान्तिको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै इतिहासका खराब प्रवृत्ति र घटनाहरू पुनरावृत्त हुन नदिन नयाँ जनवादका कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्ति गर्ने लक्ष्य तय गर्ने कार्यदिशा निर्माण गरेको सगर्व उद्घोष पनि गरेको छ । पार्टीले लामो समयदेखि निरन्तर रूपमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू झेलिरहेका नेपाल र नेपाली जनताका पक्षमा उठाएका यी विषय सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनताका साझा माग हुन् । शोषण, दमन र उत्पीडन गरेर जनताको श्रमपसिनामा बाँच्ने बानी परिसकेका दलाल पुँजीवादी शासकहरूले पार्टीले विनम्रतापूर्वक मसिनो स्वरले उठाएका जनताका आवाज सुन्ने देखिँदैन । ‘लातको भूत बातले मान्दैन’ भन्ने नेपाली उखान चरितार्थ गर्दै २०५२ सालमा तत्कालीन नेकपा (माओवादी) सरकारसँग आफूले संजमोमार्फत राखेका ४० सूत्रीय माग पूरा नहुँदा बल प्रयोगको सिद्धान्त व्यवहरमा रूपान्तरण गर्न बाध्य बनेको थियो । सहमति कार्यान्वयन नगरी उल्टै पक्राउ पुर्जी जारी गर्ने, सिङ््गो देशभक्त जनताले विरोध गर्दागर्दै राष्ट्रघाती नागरिकता विधेयक र एमसीसी पारित गरेर राष्ट्रियतामाथि घन बजार्ने शासकहरू वैधानिक आन्दोलनले मात्र चेत्ने हुन् वा जनताले नयाँ विद्रोहको बाटो रोज्नुपर्ने हो, त्यो भने शासकमै भर पर्ने कुरा हो । दुईमहिने अभियानले सिङ्गो जनतालाई देश र आफूमाथि मडारिइरहेको कालो बादल हटाउने आन्दोलनमा लामबद्ध गराउन पनि यो अभियान सार्थक बन्ने अपेक्षा गरिएको छ र आरम्भकै एक सातामा त्यसका पर्याप्त लक्षणहरू पनि देखिएका छन् । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :