नेकपा (बहुमत) का जवस/मोर्चाहरूद्वारा मिटरब्याजी शोषणविरुद्ध पीडितको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौँ : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाललगायत जवस/मोर्चाहरूले मिटरब्याजी शोषणविरुद्ध पीडितहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता र समर्थन जनाउँदै जनताविरुद्ध भइरहेका सबै किसिमका शोषण, दमन र अत्याचार अविलम्ब अन्त्य गर्न माग गरेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै जवस/मोर्चाहरूले सीमित व्यक्तिहरूले जनताको पैसा कब्जा गरेर देशैभरि मिटरब्याज आतङ्क उत्पन्न गरेको, गाउँका सोझासीधा जनतालाई झुक्याएर झूट्टा र जाली तमसुक बनाई सर्वसाधारणको सम्पत्ति हडपी घरबारविहीन बनाएको तर सरकार यस गम्भीर समस्याप्रति संवेदनशील नदेखिएकाले पीडित जनताको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित बनेको जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा केही समययता मिटरब्याजीले सोझासीधा जनतामाथि हददर्जाको अत्याचार गरेका तथ्य–प्रमाणहरू सार्वजनिक भइरहेको, एक लाख ऋण दिएर ८५ लाखसम्म असुलेको, २० हजार ऋण दिई घरखेत नै हडपेर सर्वसाधारण जनता सडकमा पुगेको, जाली र झूट्टा तमसुक बनाई नापी, मालपोत, प्रशासन र केही दलाल राजनीतिकर्मीको मिलोमतोमा जनताको सम्पत्ति हत्याउने षड्यन्त्र जारी राखिएकाले पीडितहरूको यस न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्धतासहित पूर्ण समर्थन रहेको जनाइएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा हरिश भट्ट (अध्यक्ष, युवा जनस्वयम्सेवक, नेपाल), विनोद थापा (अध्यक्ष, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ), मिलन राई (अध्यक्ष, अखिल क्रान्तिकारी), अन्जना तामाङ (अध्यक्ष, अखिल नेपाल महिला सङ्गठन), खेम थपलिया (संयोजक, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ), हरि श्रेष्ठ (अध्यक्ष, अखिल नेपाल किसान महासङ्घ), कमल बुढा (संयोजक, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल), दर्शन नेपाली (संयोजक, राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल) र मीनराज गिरी (संयोजक, अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ) रहेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशमा देखिएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, राष्ट्रघात, जनजीविकासँग सम्बन्धित समस्याविरुद्ध बुलन्द ढङ्गले आवाज उठाउँदै आएको छ । जनसङ्घर्ष र सडक सङ्घर्षमा हाम्रो पार्टीपङ्क्ति निरन्तर जनताका पक्षमा रहेको सर्वविदितै छ । देश यतिबेला समस्याहरूको चङ्गुलमा फसेको छ । भ्रष्टाचार, अराजकता, दलाली, तस्करी, राज्यस्रोतमाथिको दोहन, बेथिति, कुव्यवस्थाले जनता आजित भएका छन् । दिनदिनैजसो करोडौँका भ्रष्टाचारकाण्डहरू बाहिरिरहेका छन् । चौतर्फी रूपमा जनता ठगिने अवस्था छ । महँगीको मार खेप्न नसक्ने स्थितिमा पुगेको छ । सत्ता सञ्चालकहरू कमिसनको चक्करमा परेर जनताका समस्या सुन्नेभन्दा पीडितमाथि कानुनका पाना पल्टाएर झन् दमन गर्ने ठाउँमा पुगेका छन् । राज्यको यसप्रकारको चरित्रको हामी घोर भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पछिल्लो चरण अर्थतन्त्रमा कृत्रिम सङ्कट देखाएर बैङ्कहरूले सर्वसाधारणलाई ऋण दिन बन्द गरेको अवस्था छ । अर्कोतर्फ ५० खर्ब मौज्दातमा ४७ खर्ब ऋण प्रवाह भएको छ । बैङ्किङ प्रणालीमा आएको सर्वसाधारण जनताको पैसा १८ लाख बैङ्क ऋणीमध्ये १०० व्यापारिक घरानाले मात्र ३२ खर्बभन्दा बढी ऋण कब्जा गरेको तथ्याङ्क छ । यो सरासर जनताको पैसामाथि केही व्यक्तिहरूले आफूअनुकूल हुने गरी रजाइँ गरिरहेको अवस्था हो । बजारमा पैसाको कृत्रिम अभाव उत्पन्न गरेर भूमिगत अर्थ–कारोबारमा सीमित व्यक्तिहरूले लघुवित्त सहकारी फाइनान्स कम्पनीहरूको आतङ्क सिर्जना गरेका छन् । जनताको पैसा घुमाउरो तरिकाले कब्जा गरेर तिनै सीमित व्यक्तिहरूले देशैभरि मिटरब्याज आतङ्क सिर्जना गरेका छन् । गाउँका सोझासीधा जनतालाई झुक्याएर झूट्टा र जाली तमसुक बनाई सर्वसाधारणको सम्पत्ति हडप्ने, घरबारविहीन बनाउने अवस्था भित्रभित्र भुसको आगोसरि फैलिएको छ । सरकार यस गम्भीर समस्याप्रति संवेदनशील देखिएको छैन । विगत केही समययता मिटरब्याजीले सोझासीधा जनतामाथि हददर्जाको अत्याचार गरेका तथ्य–प्रमाणहरू सार्वजनिक भइरहेका छन् । एक लाख ऋण दिएर ८५ लाखसम्म असुलेको, २० हजार ऋण दिई घरखेत नै हडपेर सर्वसाधारण जनता सडकमा पुगेको अवस्था छ । जाली र झूट्टा तमसुक बनाई नापी, मालपोत, प्रशासन र केही दलाल राजनीतिकर्मीको मिलोमतोमा जनताको सम्पत्ति हत्याउने षड्यन्त्र भएको छ ।’

संयुक्त विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसै सन्दर्भमा लामो समयदेखि नवलपरासीबाट सर्वसाधारण जनता मिटरब्याजको पासोमा परी ठगिएर सडक आन्दोलनमा रहेका छन् । सरकारी आश्वासनपछि केही दिन रोकिएको सडक आन्दोलन फेरि विगत दुई सातादेखि निरन्तर चलिरहेको छ । नेकपा (बहुमत) को सहायक सङ्गठन र जनवर्गीय सङ्गठनहरू जनताको यस न्यायपूर्ण आन्दोलनमा सुरुदेखि नै साथ र समर्थनसहित प्रत्यक्ष सडक आन्दोलनमै छन् । पीडितहरूको यस न्यायपूर्ण आन्दोलनमा हाम्रो ऐक्यबद्धतासहित पूर्ण समर्थन गर्दछौँ ।’

संयुक्त प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :