निर्माणकार्यमा लापरबाही गर्ने राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदलाई जनस्वयम्सेवक कञ्चनपुरको चेतावनी

कञ्चनपुर : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीम साउदले काममा देखाएको चरम लापरबाही तुरुन्तै नसुधारेमा कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । चेतावनीसहितको पत्र सडक विभाग कार्यालय कञ्चनपुर महेन्द्रनगरमार्फत पूर्वाधार विकास तथा यातायात मन्त्रालयलाई दिइएको जानकारी सङ्गठका कञ्चनपुर जिल्ला इन्चार्ज दीपेन्द्रसिंह ऐरीले दिए ।

ध्यानाकर्षणपत्रमा कञ्चनपुर जिल्लामा राजेन्द्र निर्माण सेवा प्रालिद्वारा निर्माणाधीन अवस्थामा रहेका कार्यहरू देखतभुलीदेखि लालझाडी जोड्ने सडकमा पुल, दैजीदेखि बेल्डोडी, बेलौरी, पुनर्बास हुँदै डोके बजार जोड्ने ६२ किलोमिटर सडक, बेदकोट नगरपालिका ६ र ७ नम्बर वडा जोडिने मुसेपानीमा पुल, भीमदत्त नगरपालिका ११ भुजेलामा महाकाली जाने सडकखण्डमा पुल, भीमदत्त नगरपालिका ९ मा महेन्द्रनगरदेखि ब्रह्मदेव जोडिने कृषि सडकमा कामीकाटे खोलाको पुल कामको म्याद नाघिसक्दा पनि सम्पन्न नगरेर निर्माण कम्पनी र सम्बन्धित निकाय सडक डिभिजन कार्यालय मौन रहेकोमा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सङ्गठनले जिल्लाभित्रका निर्माणकार्य नियमित सञ्चालन गरी अविलम्ब सम्पन्न गर्न जोडदार माग पनि गरेको छ । सङ्गठनले यस विषयमा नजरअन्दाज गरेमा कडा सङ्घर्षमा उत्रिने चेतावनी पनि दिएको छ ।

स्मरणीय छ, सङ्गठनको केन्द्रीय समितिले केही दिनअघि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको विषय र मिटरब्याजी शोषण, भ्रष्टाचारलगायत बेथितिका विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । त्यसपछि सङ्गठनले देशैभरि जनसरोकारका विषयलाई गम्भीरतापूर्वक आन्दोलनकै रूपमा अघि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :