प्रियलाई चिठी

प्रियलाई चिठी

महासमरको गर्विलो यात्राबाट
क्रान्तिको वक्ररेखाबाट
रगत र आँसुका बीचबाट
रक्तिम अभिवादन र असीम माया
अनि मीठो सम्झना
मेरो प्रिय !

सबै कुरा वर्गीय भएझैँ
प्रेम–विवाह पनि त्यसबाट अछूत रहँदैन
त्यसैले पनि हामी
महान् क्रान्तिको महान् लक्ष्य पूरा गर्ने
महान् अभियानका क्रममा
सर्वहारावादी विश्व–दृष्टिकोण र
मालेमावादलाई साक्षी राखी
वर्गीयता, एकनिष्ठता र क्रान्तिकारिताका आधारमा
संवेगबाट उठान र विवेकबाट नियन्त्रित
प्रेमको उच्च रूप
वैवाहिक जीवनको डोरीमा बाँधिन पुग्यौँ
त्यो जीवनको अविस्मरणीय सम्झौता थियो
त्यसैले मेरो प्रिय !
त्यो हर्षदायी अविस्मरणीय क्षणमा
हाम्रो प्रतिज्ञा र प्रतिबद्धता थियो–
जीवनको अन्तिम घडीसम्म पनि
मालेमावादको आलोकमा
सहिदको रगतबाट निर्मित
निधारमा पहिरिएको अबिरलाई
कहिल्यै पनि नभुलेर
२१ औँ शताब्दीको क्रान्तिको महान् लक्ष्यलाई
दह्रोसँग पकड्दै
पार्टी–क्रान्तिलाई जीवनपद्धति बनाई
स्वर्णिम संसार निर्माणका लागि
भीमकाय महाविपत्तिका मोडहरूमा पनि
सहिदका रक्तचापहरूलाई पछ्याउँदै
रगतका फाल्साहरूका बीचबाट
नयाँ जीवनको मूर्त रूप दिन तत्पर भइरहनेछौँ

मेरो प्रिय !
मिर्मिरे उज्यालोको बीचबाट सूर्यको खोजी गर्दै जाँदा
कहालीलाग्दा पहाडहरू भेटिन सक्छन्
सहिदका शवहरूले पहाड चुम्न सक्छन्
त्यतिबेला आँसुले आँखा धोइन सक्छन्
तर पनि निरन्तर क्रान्तिको यात्रालाई
आत्मसात गरिहनेछौ

मेरो प्रिय !
न्यायको बुलन्द आवाज उठाउँदा
हाम्रा छातीमा फासिस्टका सङ्गीनहरू रोपिन सक्छन्
मुक्तिका औँलाहरू ठड्याउँदा
हाम्रा औँलाहरू काटिन सक्छन्
त्यतिबेला भन्नेछौ
स्वाभिमानी शिर उठाएर–
महान् क्रान्ति जिन्दावाद
फासिस्ट सत्ता मुर्दावाद
हतकडी र नेल पहिरिँदा पनि
सम्झौताका शब्दहरू ओकल्नेछैनौ
त्यतिबेला स्वीकार्य हुनेछ
क्रान्तिका निम्ति गहना त युद्धका टे«न्च हुन्
मेरो प्रिय !
क्रान्तिको महान् अभियानमा यात्रा गर्दै जाँदा
माक्र्सवादको खोल ओढी
माक्र्सवादको छातीमा छुरा धस्दै
मालेमाको माला जप्दै
सर्वहारावर्गीय महान् लक्ष्यलाई दुत्कार्दै
क्रान्तिको गला रेट्न आउन सक्छन्
त्यतिबेला
मालेमावादको धारिलो हतियारले
गद्दारहरूको टाउको छिनाल्न चतुर बन्नैपर्छ ।
क्रान्तिकारी आदर्शको व्यापार गर्ने
माक्र्सवादको अनुयायी बनेर
इतिहासका कालखण्डमा लोप हुँदै गएका
बर्नस्टिन, ट्राट्स्की र खु्रस्चोभी काला सर्पहरू
रङ्गीचङ्गी रूप धारण गर्दै
झूट र नक्कली आडम्बर
अनि आदर्शका मालिकहरू
पुनः जिब्रो लप्लपाउँदै आउन सक्छन्
तीन जादुगरी हतियारद्वारा
ध्वस्त पारिदिनुपर्छ ।

त्यसैले मेरो प्रिय !
अझै भीषण प्रतिज्ञा गरौँ–
पार्टी र क्रान्तिलाई जीवनको अभिन्न अङ्ग बनाउँदै
फासिस्ट सङ्गीन र गोलीले छाती भेदन गर्दा पनि
छातीबाट निरन्तर रक्तप्रवाह हुँदा पनि
लक्ष्य र उद्देश्यबाट पथविचलित नभई
क्रान्ति हाम्रो मुटुको धड्कन बनिरहनेछ ।
जोखिमभन्दा जोखिम मोडहरूमा पनि
श्रमजीवी, सर्वहारा वर्गको
उज्ज्वल भविष्य निर्माणको खातिर
निरन्तर क्रान्तिको अभियानमा
जीवनको सार्थकता दिइरहनेछौ ।

(२०६२ सालमा गण्डक अभियानको बेला पाल्पामा तत्कालीन शाही सेनासँगको भीषण भिडन्तपछि लेखिएको यो कविता २०७७ सालमा केपी वली सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएपछि परिमार्जन गरिएको हो ।– लेखक)
कवि नेकपा (बहुमत) का सचिवालय सदस्य हुन्– सम्पादक ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :