युवा जनस्वयम्सेवक नेपाल चितवनले अनियमितता अन्त्य गर्न माग गर्दै भरतपुर अस्पताललाई दियो चेतावनी

‘अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र मेसु कृष्णप्रसाद पौडेललाई १५ दिने अल्टिमेटम’

युवा जनस्वयम्सेवक नेपाल चितवनले अनियमितता अन्त्य गर्न माग गर्दै भरतपुर अस्पताललाई दियो चेतावनी

चितवन : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल चितवनले भरतपुर अस्पतालमा भएको अनियमितता अन्त्य गर्न माग गर्दै अध्यक्ष डा. भोजराज अधिकारी र अस्पतालका मेसु कृष्णप्रसाद पौडेललाई १० बुँदे मागसहितका पत्र दिएको छ । साथै युवा जनस्यम्सेवक चितवनको आयोजनामा विभिन्न मागपत्रसहित १५ दिने अल्टिमेटमसमेत दिएको छ ।

सङ्गठनका चितवन अध्यक्ष सन्देशद्वारा हस्ताक्षरित र अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र मेसु कृष्णप्रसाद पौडेललाई सम्बोधन गर्दै सोमबार बुझाइएको मागपत्रमा देश आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक समस्याहरूको भुमरीबाट अघि बढिरहेको अवस्थामा सत्ता सञ्चालकहरू देश र जनताका समस्या समाधान गर्नेतिर भन्दा पनि सत्ता खिचातानी, कमिसन, मिलोमतो, भ्रष्टाचार, कुशासन, दलाली, राष्ट्रघातको दुष्चक्रमा फसेको उल्लेख छ ।

मागपत्रमा देशमा महँगी बढिरहेको, मूल्य वृद्धि र बेरोजगारीले निम्न आय भएका जनताको साँझ–बिहानको चुलो नबल्ने अवस्थामा उत्पन्न भएको र स्वास्थ्य क्षेत्रमा चरम लुटपाट हुने गरेको पनि स्मरण गराइएको छ ।

त्यसैगरी भरतपुर अस्पतालमा भइरहेका अनियमितता उल्लेख गर्दै मागपत्रमा अस्पतालका काम, कर्तव्य र अधिकारप्रति ध्यानाकर्षण गराइएको छ ।

युवा जनस्वयम्सेवक नेपाल चितवनले भरतपुर अस्पताल प्रशासनलाई दिएको दसबुँदे मागपत्र यसप्रकार रहेको छ :

१. भरतपुर अस्पतालभित्र रहेका सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित मेसिनहरू नियमित सञ्चालन हुनुपर्ने ।
२. अस्पतालभित्र भएका बिचौलिया र ठेकेदार प्रथा तुरुन्त खारेज गर्नुपर्ने ।
३. अस्पताल मातहतका चिकित्सकहरू र कर्मचारीहरू अस्पताल समयभित्र आफ्नो कार्यकक्षमा पोसाकमा अनिवार्य उपस्थित हुनुपर्ने ।
४. अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने ।
५. आर्थिक रूपमा विपन्न, सहिद परिवार, बेपत्ता परिवार र जनआन्दोलनलगायत सम्पूर्ण घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने ।
६. भरतपुर अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक आफ्नो अस्पतालको समयमा निजी र अन्य अस्पतालमा जान पूर्ण रोक लगाउनुपर्ने ।
७. अस्पतालको विकासका नाममा भएको ठेकेदारी प्रथाको तुरुन्त अन्त्य गर्नुपर्ने ।


८. मेसु र अस्पताल विकासका अध्यक्षको निजी अस्पताल भएकाले तत्काल पदबाट राजीनामा दिनुपर्ने ।
९. विभिन्न खरिदप्रक्रियामा भएको अनियमितता सार्वजनिक गर्नुपर्ने ।
१०. एनआईसीयू, ऋ।त्। क्अबल, एक्सरेलगायत मेसिनको नियमित चाँज गरी बिरामीलाई छिटो/छरितो सुविधा दिनुपर्ने ।

उल्लिखित मागहरू यस भरतपुर अस्पतालको विकास र आमजनतासँग जोडिएकाले आजका मितिबाट १५ दिनभित्र यथाशीघ्र कार्यान्वयन नगरिएमा हाम्रो सङ्गठन युवा जनस्वयम्सेवक नेपाल चितवनले सङ्घर्षका रूपमा लैजाने यसै मागपत्रमार्फत जानकारी गराउँछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :