श्रमजीवी पत्रकारका समस्या कर्पोरेट र बिग हाउसले नगर्ने श्रमजीवी पत्रकारको निष्कर्ष

श्रमजीवी पत्रकारका समस्या कर्पोरेट र बिग हाउसले नगर्ने श्रमजीवी पत्रकारको निष्कर्ष

काठमाडौँ : श्रमजीवी–पत्रकार सङ्घ नेपालको स्थापना दिवस/प्रथम वार्षिकोत्सवमा उपस्थित सञ्चार क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूले श्रमिक पत्रकारको वास्तविक समस्या कर्पोरेट र बिग हाउसले नगर्ने, उनीहरुले बरु उल्टै श्रमको शोषण गर्ने बताएका छन् । श्रमजीवी पत्रकारको मुद्दा श्रमजीवी–पत्रकार सङ्घ नेपालले बोकेकाले यसको संरक्षण, विकास र भूमिका अनिवार्य बनेको पनि उनीहरुको भनाइ छ । कार्यक्रमका वक्ताहरूले श्रमजीवीका समस्या पहिचानसँगै निदानका विषयमा सङ्घले निर्वाह गरेको भूमिका अतुलनीय रहेको पनि बताए ।

नेकपा (बहुमत) को केन्द्रीय प्रचार ब्युरो संयोजक एवम् रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले श्रमजीवीका विषयमा लडाइँ लड्दा मालिकहरूबाट सतर्क हुनुपर्ने भन्दै पुँजीवादको हावा र सत्ताधारीहरूको श्रमविरोधी चरित्रले श्रमको मूल्य प्राप्तिमा अनेकौँ चुनौती रहेको बताए ।

उनले दलाल पुँजीवादी सत्ताको चरित्र क्रूर हुने उदाहरण प्रस्तुत गरे । श्रमजीवीका नाउँमा सडकबाट सत्तामा पुगेकाहरूले पनि श्रमजीवी वर्गको मर्म र भावना भुलेको भन्दै उनले आलोचना गरे । श्रमजीवी वर्गको हितका लागि शोषणप्रधान सत्तासँग लड्नुको विकल्प नरहेको उनको भनाइ थियो । ‘आँट गर्नुस् जन्मदेवजी, हामी सँगसँगै छौँ’, सम्पादक सुवेदीले भने, ‘तर सतर्क हुनुस्, शोषणप्रधान सत्ता र मालिकहरूका षड्यन्त्रबाट बच्नुस् ।’

‘आँट गर्नुस् जन्मदेवजी हामी सँगसँगै छौँ’, सुवेदीले भने, ‘तर सतर्क हुनुस् र मालिकहरूका षड्यन्त्रबाट बच्नुस् ।’

न्यूनतम् पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले न्यूनतम् पारिश्रमिक निर्धारण समिति श्रमजीवी–पत्रकार सङ्घ नेपालसँग सहकार्य गरेर श्रमजीवीको हित प्रवद्र्धन र संरक्षणका लागि परिणामुखी काम गर्ने इच्छा व्यक्त गरिन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले सङ्घले निर्वाह गरेको ऐतिहासिक भूमिकाको खुलेर प्रशंसा गर्दै आस्थाले जो जहाँसुकै भए पनि श्रमजीवीको पेसागत सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले ट्रेड युनियन अधिकारका लागि प्रेस युनियन सँगै अघि बढ्ने भन्दै श्रमजीवीका समस्या अझै कायम रहेकाले सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

युरोप बसेर केही समयका लागि नेपाल आएका पत्रकार मनऋषि धितालले श्रमको उचित सम्मानका लागि सङ्घले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । संस्थाका सल्लाहकार दीपक पाण्डेले श्रमजीवी पत्रकार सङ्घको पछिल्लो गतिविधिबाट प्रभावित भएर आफू सल्लाहकार बन्न इच्छुक भएको बताए ।

प्रेस काउन्सिलका प्रवक्ता दीपक खनालले श्रमजीवी पत्रकारका लागि सङ्घ र अध्यक्ष जैसीले निर्वाह गरेको भूमिकाको चर्चा गरे ।

रातो खबर प्रकाशन गृहकी पत्रकार तथा ईरातोखबर अनलाइनकी सम्पादक अम्बिका चन्दले सङ्घको श्रममैत्री कार्य र आन्दोलनबाट धेरै पत्रकारहरूले न्याय पाएको बताइन् । ‘श्रमजीवी–पत्रकार सङ्घ नेपाल श्रमजीवीको श्रमको उचित सम्मानका लगि एउटा छुट्टै ब्रान्ड बनिसक्यो । हामी सहकार्य गर्न चाहन्छौँ’, चन्दले भनिन् ।

संस्थाका सल्लाहकार दीपेन्द्र रावल, उपाध्यक्ष अमृत भादगाउँले, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्तराम बिडारी, ललितपुर अध्यक्ष रामहरि कार्की, सङ्घका कोषाध्यक्ष गोविन्द देवकोटा, नेकपा (बहुमत) निकट पत्रकार सङ्गठनका संयोजक कमल बुढा, सङ्घका केन्द्रीय सदस्य केशव भुल, दिया चन्द, विक्रम पण्डित, श्रीराम वाग्ले, गणेश विक, उमेश श्री, कानुनी सल्लाहकार विष्णु निश्चललगायतले शुभकामना दिएका थिए । शुभकामनाका लागि सहभागी सबैलाई सङ्घका अध्यक्ष जैसी र महासचिव धनञ्जय बुढाले धन्यवाद दिएका थिए । वार्षिकोत्सवमा सङ्घको वेबसाइट www.workingjournalist.org को आरम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :