मजदुर जागरण अभियान र सङ्गठन विस्तार जारी

मजदुर जागरण अभियान र सङ्गठन विस्तार जारी

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत कमान्डको बैठक सम्पन्न भएको छ । प्राप्त समाचारअनुसार २१ वटा राष्ट्रिय पेसालाई मजदुर जागरण अभियानमार्फत व्यापक परिचालन गर्ने गरी महासङ्घको पदाधिकारीको नेतृत्वमा रहेका पेसाहरू कार्यविभाजन गरी कार्यक्षेत्रमा खटाइएको छ ।

महासङ्घका अध्यक्ष विनोद थापाको नेतृत्वमा रहेका गार्मेन्ट टेक्सटाएल, होटेल रेस्टुराँ, उद्योग, सञ्चार छापखाना, निर्माण र चिया बगान मजदुर सङ्घ, उपाध्यक्ष शिशिरको नेतृत्वमा रहेका गलैँचा, यातायात, अटोमोबाइल्स, हाइड्रो खानी, थाङ्गा पेन्टर, अटोरिक्सा, पर्यटन एयरपोर्ट, पेट्रोलियम ढुवानी, मजदुर सङ्घ, कोषाध्यक्ष ईश्वर बुढाथोकीको नेतृत्वमा रहेका सङ्घसंस्था, नाई–ब्युटी, सेक्युरिटी, स्वास्थ्य सरसफाइ, सेल्स पसल, ग्रिल धातु, सिलाइ मजदुर सङ्घ र महिला विभागसहितको कमान्ड टिम मजदुर जागरण २०७९ अन्तर्गत ४ महिने अभियान लिएर मजदुरमाझ गएको जनाइएको छ ।

प्राप्त जानकारीअनुसार उक्त कमान्डमातहात रहेको सङ्घसंस्था श्रमिक सङ्घमा विभिन्न सङ्गठनमा रहेका मजदुहरू धु्रवीकृत भएका छन् । सोही अवसरमा महासङ्घका अध्यक्ष विनोद थापाले धु्रवीकरणमा आउने मजदुर नेताहरूलाई अबिर र खादा लगाई सम्मान गरेका थिए ।

अभियान अवधिमा सङ्गठन निर्माण गर्ने, सदस्यता वितरण गर्ने, एकाइ समिति निर्माण गर्ने, राष्ट्रिय भेला–सम्मेलन गर्ने, अन्तरक्रिया, गोष्ठी, कोणसभा गर्ने, श्रमिकका मुद्दालाई पेसागत मागपत्रमार्फत पेस गर्ने, श्रम अधिकारको विषयलाई लिएर सङ्घर्ष गर्ने, श्रमिकले खाइपाई आएको सेवासुविधा बढाउन जोड दिने र तत्काल राज्यले श्रमिकको मासिक तलब तीस हजार रुपैयाँ र दैनिक ज्यालादारी अठार सय कायम गराउन आन्दोलन गर्ने अभियान केन्द्रदेखि प्रदेशसम्म सञ्चालन भइरहेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :