उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि र नागरिकता विधेयकविरुद्ध ६ दलद्वारा देशैभर प्रदर्शन

उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि र नागरिकता विधेयकविरुद्ध ६ दलद्वारा देशैभर प्रदर्शन

काठमाडौँ : पेट्रोलियम पदार्थलगायत सम्पूर्ण उपभोग्य वस्तुहरूमा गरिएको मूल्य वृद्धि, राष्ट्रिय हितविरुद्ध ल्याइएको नागरिकता विधेयक, कृषि मलको चरम अभावलगायत विभिन्न जनहितविरोधी निर्णय र गतिविधिका विरुद्ध सोमबार देशैभरि प्रदर्शन गरिएको छ ।

पूर्वघोषित कार्यक्रमअनुसार नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपालले देशैभरि संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौँको माइतीघरमा गरिएको विरोध प्रदर्शनमा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का नारायण सापकोटा, नेकपाका लोकनारायण सुवेदी, नेकपा (बहुमत) का वीरेन्द्र शाहलगायतले सम्बोधन गरेका थिए । शान्तिबाटिकाबाट सुरु भएको जुलुस दरबार हाईस्कुल, घन्टाघर हुँदै पुनः शान्तिवाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

यसैगरी सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित विरोध प्रदर्शनमा नेकपा (बहुमत) का नेता तथा सुदूरपश्चिम ब्युरो इन्चार्ज रामबहादुर चौधरी (महान) र नेकपा (क्रामा) का रामबहादुर केसीले बोलेका छन् ।

यस्तै भेरी–कर्णाली ब्युरोको सुर्खेतमा पनि विरोधसभा सम्पन्न भएको छ । सभामा नेकपा (बहुमत) का भेरी–कर्णाली ब्युरो इन्चार्ज पूर्णबहादुर सिंहले सम्बोधन गरेका छन् ।

यस्तै लुम्बिनी ब्युरोअन्तर्गत बुटवलमा भएको विरोधसभामा नेकपा (बहुमत) का केन्द्रीय सदस्य राजकुमार तिमिल्सिना र नेकपा (मसाल) का केन्द्रीय समन्वय समिति सदस्य कृष्णराज पौडेलले बोलेका थिए ।

उता गण्डकीको पोखरामा भएको विरोधसभामा नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार सदस्य जगन तिवारीले बोलेका थिए । विरोध प्रदर्शनमा नेकपा (मसाल) का विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि विक्रम थापा, नेकपा (क्रान्तिकारी माओवादी) का गण्डक प्रदेश सेक्रेटरी केश परियारलगायतले विरोध प्रदर्शनलाई सम्बोधन गरेका थिए ।

यस्तै मधेस ब्युरोअन्तर्गत जनकपुरमा आयोजित विरोधसभामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक गौरी मण्डल, क्रान्तिकारी माओवादीका कृष्णदेव दनुवार, नेकपाबाट रामदुलार महतोलगायतले सम्बोधन गरेका थिए ।

यसैबीच नागरिकता विधेयक, महँगी र मलखाद अभावको विरोधमा विराटनगरमा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) लगायत ६ दलले प्रदर्शन गरेका छन् । विराटनगरको सन्सरीमास्थानदेखि नारा–जुलुससहित निस्किएको जुलुस मध्यबजार बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नागरिकता विधेयक खारेज गर, महँगी नियन्त्रण गर, भ्रष्टाचार बन्द गर, किसानलाई मलबिउको व्यवस्था गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, एमसीसी खारेज गरलगायत नारा लगाइएको थियो ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सेक्रेटरी बादलले नेपाललाई फिजीकरण गर्ने उद्देश्यले ल्याइएको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताए । उनले आफ्ना देशका नागरिक पहिचान गरी नागरिकता दिनुपर्ने र विदेशीले सहजै नागरिकता पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

कोणसभामा सम्बोधन गर्दै नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा मोरङ इन्चार्ज नरेशले नागरिकको दैनिक उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर नागरिकको हुर्मत लिएको बताए । उनले बालीनाली लगाउने असार महिनामा समेत खादमलको अभाव गराएको भन्दै दलाल संसदीय व्यवस्थाका मतियारहरुले आफ्नो असली रुप देखाएको प्रस्ट पारे । राष्ट्रियताको रक्षा, मजदुर, किसान तथा सुकुमबासीको समस्या अन्त्य गर्नका लागि दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कोणसभामा माओवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रवीण दर्नालले राष्ट्रियताको रक्षाका लागि सबै क्रान्तिकारी युवा एक हुनुपर्ने बताए ।

कोणसभाको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) की प्रदेश नम्बर १ सदस्य तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख अप्सरा बानियाँले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :