वृद्धि गरिएको शुल्क ७२ घन्टाभित्र घटाउन प्याब्सन चितवनलाई अखिल क्रान्तिकारीको चेतावनी

चितवन : नेकपा (बहुमत) को भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज विकल्प खत्री र संयोजक सुमन श्रेष्ठले सोमबार प्याब्सन चितवनका अध्यक्षलाई सम्बोधन गरी सार्वजनिक गरेको ज्ञापनपत्रमा प्याब्सनले २०७९ असार २७ गते विज्ञप्ति नै निकालेर ४० प्रतिशत शुल्क वृद्धि गरेको सार्वजनिक गरेकाले उक्त उक्त विज्ञप्ति र शुल्क वृद्धिको निर्णयप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सङ्गठनले दिएको ज्ञापनपत्रमा नालायक सरकारले रुस–युक्रेनको युद्धलाई देखाएर पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि गर्दा सबै क्षेत्रमा चर्को मूल्य वृद्धि भएको र यसले गर्दा नेपाली जनता चर्को मूल्य वृद्धिको मारमा परिराखेको अवस्थामा प्याब्सन चितवनले गरेको शुल्क वृद्धिले झनै आहत तुल्याएको उल्लेख छ । पत्रमा प्याब्सन चितवनलाई तुरुन्तै उक्त वृद्धि भएको शुल्क ७२ घन्टाभित्र खारेज गर्न माग गरेको र अन्यथा सङ्गठन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रमा तत्कालका लागि सङ्गठनले साङ्केतिक रूपमा लेखा कक्षमा तालाबन्दी गरेको र विद्यालयको अगाडि विरोध कार्यक्रम राखेको उल्लेख छ ।

ज्ञापनपत्रको पूर्ण विवरण यसप्रकार रहेको छ :

श्री अध्यक्षज्यू,
निजी तथा आवासीय विद्यालय सङ्गठन, नेपाल
चितवन

विषय : ज्ञापनपत्र

उपरोक्त सम्बन्धमा हाम्रो सङ्गठनले नेपालको वर्तमान शिक्षाप्रणालीमा देखिएका समस्या, विद्यालयदेखि विश्वविद्यालयसम्मका शिक्षाका सबैखाले मुद्दाहरूलाई लिएर निरन्तर आन्दोलन गर्दै आएको छ । पछिल्लो क्रममा २०७२ सालको संविधानमा आधारभूत शिक्षा अनिवार्य र निःशुल्क, विद्यालय शिक्षालाई निःशुल्क भनी उल्लेख गरिएको छ । तर विडम्बना, वर्तमान राज्यसञ्चालहरूले नै शिक्षामा भएको निजीकरण र व्यापारीकरण गरिरहेका छन् । यति मात्र नभएर निजी शिक्षामा उनीहरूकै लगानी, संरक्षण र सहभागिता हुने गरेका कारण जुन लक्ष्य र उद्देश्यद्वारा प्रेरित भएर सञ्चालन गरिएको भए पनि निजी शिक्षाले एकातिर फरक खालको जनशक्ति उत्पादन गर्ने र ती जनशक्ति नेपालका लागि अनुत्पादक बन्ने गरेका छन् भने अर्कातिर संविधान, राज्यले दिएको निर्देशनविपरीत अत्यधिक शुल्क बढाउने काम भएको छ । यसैको निरन्तरताका रूपमा चितवन जिल्ला प्याब्सनले २०७९ असार २७ गते विज्ञप्ति नै निकालेर ४० प्रतिशत शुल्क वृद्धि गरेको छ । प्याब्सन चितवनको उक्त विज्ञप्तिप्रति र शुल्क वृद्धिप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण हुनुका साथै विरोध रहेको छ । अहिलेको नालायक सरकारले रुस–युक्रेनको युद्धलाई देखाएर पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि गर्दा सबै क्षेत्रमा चर्को मूल्य वृद्धि भएको छ । यसले गर्दा नेपाली जनता चर्को मूल्य वृद्धिको मारमा परिराखेको अवस्थामा प्याब्सन चितवनले गरेको शुल्क वृद्धिले झनै आहत तुल्याएको छ ।

तसर्थ हाम्रो सङ्गठन प्याब्सन चितवनलाई तुरुन्तै, उक्त वृद्धि भएको शुल्क ७२ घन्टाभित्र खारेज गर्न जोडदार माग गर्दछ । अन्यथा हाम्रो सङ्गठन आन्दोलन गर्न बाध्य हुनेछ । तत्कालका लागि हाम्रो सङ्गठन साङ्केतिक रूपमा एकाउन्ट सेसनमा तालाबन्दी, विद्यालयको अगाडि विरोध कार्यक्रमको घोषणा गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :