सर्लाहीमा विद्रोह गरी नेकपा (बहुमत) प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा पुगेर लोभ्याउँदै र धम्क्याउँदै विप्लव समूह

सर्लाहीमा विद्रोह गरी नेकपा (बहुमत) प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा पुगेर लोभ्याउँदै र धम्क्याउँदै विप्लव समूह

काठमाडौँ : विप्लव समूह राजनीतिक–वैचारिक रूपमा पतीत भएको निष्कर्ष निकाल्दै आइतबार विद्रोह गरेर नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा गई विप्लव समूहका नेता–कार्यकर्ताले प्रलोभन र धम्की दिएका छन् । विद्रोहको अगुवाइ गर्ने विचारमान थिङ र पदम मगरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहका व्यक्तिहरू घरघरमा आएर ‘हिजोको वक्तव्यमा गरिएको हस्ताक्षरलाई कृत्रिम हो भनिदिनुस्’, ‘तपाईंलाई के चाहियो, त्यो हामी दिन्छौँ’, ‘कति पैसा चाहियो, त्यो पनि दिन्छौँ’ भन्दै कतिपय साथीहरूलाई भीडीओमा बोल्न लगाएर आफ्नो स्वार्थमा बोलेको देखाउने र सुनाउने कुकृत्यसमेत गरिरहेको उल्लेख गरेका छन् ।

विचारमान थिङ र पदम मगरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी १३ जना क्रान्तिकारी कमरेडहरू हिजो आइतबार विप्लव समूहबाट विद्रोह गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गरिसकेका छौँ । आज सर्लाही जिल्लामा विद्रोही कमरेडहरूको घरघरमा पसी विप्लव समूहका मानिसहरू हतोत्साहित हुँदै ‘हिजोको वक्तव्यमा गरिएको हस्ताक्षरलाई कृत्रिम हो भनिदिनुस्’, ‘तपाईंलाई के चाहियो, त्यो हामी दिन्छौँ’, ‘कति पैसा चाहियो, त्यो पनि दिन्छौँ’ भन्दै कतिपय साथीहरूलाई भीडीओमा बोल्न लगाएर आफ्नो स्वार्थमा बोलेको देखाउने र सुनाउने कुकृत्यसमेत गरिरहेका छन् ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विगतमा उनीहरूले कतिपय कमरेडहरूलाई अपहरण गरी विचार परिवर्तन गराउने दुष्प्रयत्नका साथै विचारमा दृढ कमरेडहरूलाई कालोमोसोसमेत दल्ने कुकार्य गरेका थिए । हामी विप्लव समूहका साथीहरूलाई यस्तो कुकार्य तुरुन्त रोक्न विशेष आग्रह गर्दछौँ । अन्यथा यी कुकार्यहरूको भण्डाफोर गर्दै जानेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :