विवादित सालिक र कमरेड सेवकको बेवारिस शव !

विवादित सालिक र कमरेड सेवकको बेवारिस शव !

समयसमीक्षा

यो साता राष्ट्रघाती नागरिकता विधेयक र प्रचण्डपुत्र प्रकाशको सालिक अत्यन्त विवादित विषय बने । हुनत पेट्रोलियम पदार्थमा अचाक्ली गरिएको मूल्य वृद्धि, थेग्नै नसक्ने गरी भएको महँगी, एमसीसीको नयाँ शृङ्खलामा आएको राष्ट्रघाती एसपीपी पनि चर्चा र विवादमै थिए । एमालेकी पूर्वविद्यार्थीनेत्री एवम् हाल नेकपा एसबाट मन्त्री बनाइएकी रामकुमारी झाँक्रीले मन्त्री पद त्याग्दा गरेको रुवाबासीले पनि नकारात्मक रूपमा राम्रै बजार लियो । यी सबै नेपाल र नेपाली जनताका लागि अप्रिय र नकारात्मक सन्देश बोकेका घटना, सूचना र समाचार हुन् । यीमध्ये अत्यन्तै नकारात्मक घटनाका रूपमा राष्ट्रघाती नागरिकता विधेयक र पुष्पकमल दाहाल उर्फ प्रचण्डपुत्र प्रकाशको नुवाकोटमा निर्मित सालिक बने ।

प्रतिक्रियावादी शक्ति र अरू बुर्जुवाहरूले गरेजस्तो व्यक्ति प्रकाश दाहालका बारेमा अनर्गल गालीगलौज गर्नु आवश्यक छैन र म त्यसो गर्न पनि चाहन्नँ । प्रकाश दाहाल जयुद्धकालभरि पार्टी कार्यकर्ता थिए । जब उनका बाबु नै नायक रहेको जनयुद्ध विसर्जन गरियो र प्रचण्ड स्वयम् क्रान्तिकारी आन्दोलनबाट स्खलित भए, सरदर एउटा संसद्वादी पार्टीको नेताको छोरामा हुने स्वभाव, लक्षण र सीमा–समस्याहरूबाट प्रकाश पनि सङ्क्रमित थिए । ज्ञानेन्द्रको छोरो पारसदेखि चलचित्रकर्मी भुवन केसीको छोरो अनमोल केसीसम्मका बारेमा बजारमा विभिन्नखाले चर्चाहरू हुने गर्छन् । पैत्रिक सत्ता र सम्पत्तिको राप र तापमा सत्ताका उत्तराधिकारीहरूले मच्चाउने ताण्डवका कारण बजार बारम्बार प्रदूषित हुने गर्छ र आहत समाज झन् आहत हुने गर्छ ।

प्रकाश प्रचण्डका एक मात्र छोरा हुन् र पछिल्लो कालखण्डमा उनी असांस्कृतिक गतिविधिका कारण बारम्बार विवादमा मुछिएका थिए । तीनवटा विवाहकाण्ड, माइली श्रीमतीमाथि अत्याचारकाण्ड, दाइजोकाण्ड र विशेषगरी कान्छी श्रीमती बनाइएकी बिनाकाण्डले प्रकाशलाई नराम्रोसँग विवादित बनाएको थियो । यसले प्रचण्डलाई पनि थप विवादमा तानेको थियो । प्रकाशले सगरमाथाको सफल आरोहण गरे कि गरेनन्, त्यसले राजनीतिमा कुनै मतलब राख्दैन । जनयुद्धकालभरि इमानदार कार्यकर्ताका रूपमा परिचित प्रकाश जनयुद्धको विघटन र प्रचण्डको संसद्वादमा पतनपछि अत्यन्त विवादित भए । प्रचण्डका विरोधीहरूले प्रकाशका सीमाहरूलाई प्रचण्डसँगको इबि साध्ने हतियार बनाएको कुरा पनि भुल्नु हुँदैन तर प्रकाश आफैँ पनि विवादित भए । उनको असामयिक मृत्यु दुःखद् त हुँदै हो तर मृत्युपछि पनि उनीमाथिको विवाद अन्त्य भएन । नुवाकोटमा निर्मित उनको सालिक र प्रचण्डले गरेको अनावरणका कारण फेरि उनी अर्को विवादमा मुछिएका छन् । जीवनकालमा र जीवनपछि पनि उनलाई विवादित बनाइएको छ ।

प्रकाशको सालिक र प्रचण्डको निरन्तर पतनयात्राका विषयमा वामपन्थी विश्लेषक नरेन्द्रजङ्ग पिटर ‘अध्यक्ष प्रचण्ड ः किन विरोधीलाई आफैँ शीर्षक दिन्छन् ?’ शीषर्कमा सामाजिक सञ्जाल फेसबुकमा यसरी टिप्पणी गर्छन् : यस्ता सल्लाह र प्रायोजन कसले, किन गर्छ ? कुन कामले ? के सन्देश के जान्छ, किन ख्याल गर्दैनन् ? शक्तिका चाकर, चाकरी कला र चाकरीका बल्छीमा फसाउनु चइज्मको मूल मन्त्र हो । यस्ता विषयमा भावनामा बगाएर अध्यक्ष प्रचण्डकै साख गिराउने उनीसँगै नजिक त छैनन् ? किन बुझ्दैनन्, बारम्बार किन उनी चिप्लन्छन् ? जनयुद्धमै सामेल प्रकाश अल्पायुमै कालगतिले मरे । बाबुको हैसियतले अध्यक्ष प्रचण्डलाई पुत्रशोकको पीडा पर्नु स्वाभाविक हो तर उनी प्रकाशका पिता मात्रै नभै उथलपुथलकारी जनयुद्धका सुप्रिम कमान्डर पनि हुन् । बुझ्न सकिएन …सालिक निर्माण किन गर्नुपथ्र्यो ?

उनले इतिहासले राजनेतालाई दिएको शिक्षा भन्दै अगाडि लेखेका छन्– क) नाजी जर्मन फिल्ड मार्सल फेडेरिक पैलस (Friedrich Paulus) को बदला स्टालिनपुत्र याकोभ ड्युगास्विल (Yakov Dzhugashvili) साटिने प्रस्ताव स्टालिनले अस्वीकारे गरेपछि १९४३ याकोभको जर्मनीमा हत्या गरियो । ख) २५ नोभेम्बर १९५० मा कोरियन युद्धमा मारिएका छोरा माओ एनिङ (Máo Ànyīng) अरू योद्धासँग अन्तिम संस्कार कोरियामै गर्ने अर्थात् विशेष व्यक्ति भनेर मृत शरीर चीन नल्याउन माओ त्सेतुङले निर्देशन दिए ।

पुत्र प्रकाशको सालिक प्रचण्डले अनावरण गरेपछि माओवादी केन्द्रकै एक नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विषय चर्चामा आयो । ‘छोराको सालिक अनावरण गर्नेहरूले पढून्’ शीर्षकमा पोस्ट गरिएको सन्देशमा उनले माओका छोराको बलिदानकै सन्दर्भ राखेर लेखेका थिए : ५ लाख चिनियाँ स्वयम्सेवक कोरियाली जनतालाई सघाउन कोरिया गएका थिए, त्यसमध्येका एक थिए माओका जेठा छोरा माओ आनइङ । कोरिया युद्ध (सन् 1950–1953) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयम्सेवक मारिए, त्यसमध्ये आनइङ पनि १९५० नोभेम्बर २५ मा मारिएका थिए । छोरो सहिद भएको खबर माओले बुहारीलाई सुनाए । त्यसबेला उनको काखमा सानो बच्चा (माओको नाति) थियो ।

माओकी बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवको अनुहार अन्तिमपटक हेर्ने इच्छा छ’ भनिन् । त्यसपछि माओेले बुहारीलाई भने, ’तिम्रो पति मात्र होइन मारिएको, अरू ३० हजार चिनियाँ योद्धाहरू कोरियामा मारिएका छन् । ती सबैको शव चीन ल्याउनुपर्छ जुन सम्भव नै छैन । त्यसकारण हाम्रो छारोको मात्र शव ल्याउन मिल्दैन । हाम्रो छोराको मात्र शव ल्याउने र अरूको नल्याउने हो भने जस–जसका परिवारबाट कोरियामा सहिद भए उहाँहरूले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन् ।’

पतिवियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाइन् किनकि उनी पनि एक योद्धा थिइन् ।

यसकारणा माओ, माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन् । आज पनि उनलाई सम्पूर्ण चिनियाँहरूले हृदय (चाकरी गर्न होइन) देखि सम्मान गर्छन् । दैनिक ६५ हजार चिनियाँ युवाहरू माओको साओसान गाउँको घर (सङ्ग्रहालय) अवलोकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चौडा बनाउँछन् ।

यसैबीचमा जनयुद्धका जनमुक्ति सेनाका एक योद्धा कमरेड नमराज न्यौपाने ‘सेवक’ को उपचार नपाएर सडकमै मृत्यु भएको घटना चर्चामा आयो । यो अत्यन्त दुःखद् घटना थियो । एकै समयमा एकातिर अकाल मृत्यु वरण गरेका प्रचण्डपुत्र प्रकाशको सालिक अनावरण गरिनु, जनयुद्धका दसौँ हजार सहिदलाई राज्यले सहिदसम्म घोषणा नगर्नु र अर्कातिर जनयुद्धका योद्धा सेवकको उपचार नपाएर सडकमै मृत्यु हुनु आफैँ विरोधाभासपूर्ण घटनाक्रमहरू थिए । यी घटनाले मुलुकको राजनीतिक–सांस्कृतिक अवस्था कसरी पतनतिर जाँदैछ र नयाँ विद्रोह र क्रान्तिको माग कसरी हुँदैछ भन्ने पनि उजागर गरेको छ ।

एकजना प्रगतिशील लेखक शिवशङ्कर बस्यालले सामाजिक सञ्जालमा लेखेका छन् :

युद्धको समयमा छापामारहरूलाई पानीसमेत नदिनेहरूले उपचारका लागि भौँतारिँदाभौँतारिँदै घाइते पूर्वकमान्डरको अवसानको फोटो च्याँखे थापेर पर्वतारोही प्रकाशको सालिक तपाईंकै हातले अनावरण गरेको फोटोको खुबै प्रचार गरे । कमरेड प्रचण्ड, तपाईं त्यही लगत लिन चुक्नुभयो सगरमाथा आरोहण के प्रकाशबाहेक अरूले पनि गरेका थिए ? छोराको सालिक अनवरण गर्दै गर्दा प्रकाशअघि सगरमाथा चढ्ने अरू छोराहरूको चित्र सम्झिनुभएन ? तपाईंले भावनामा सालिक अनवरण गर्नुभयो । अरूले त्यसैमा प्रहार गर्न पुगे । प्रकाशको सालिक तपाईंकै हातले अनावरण गराउने चाटुकारहरू नै तपाईंलाई खुइल्याउने मान्छे हुन् भन्ने हेक्का रहेन ?

कुवेतमा बस्ने रोल्पाका पदम रोकाले कमरेड सेवकप्रति लक्षित गर्दै अत्यन्त भावुक बन्दै मार्मिक शब्दमा ‘हार्दिक श्रद्धाञ्जली कमरेड’ शीर्षकमा यथार्थ उजागर गर्दै लेखेका छन् :

जसले कालीकोटबाट विद्रोहको मसाल बोकेर आफूलाई मुक्तियुद्वमा समर्पित गर्यो । असमान समाजभित्र न्यायको लडाइँ लड्न घरपरिवारको खुसीसँगै आफ्नो कलिलो उमेरका सपनाहरू बमबारुदभित्र खरानी बनायो । दर्जनौँ लडाइँहरूमा शरीरका अङ्गहरू गुमायो । पूर्व–पश्चिमका कयौँ माटोहरूमा रगत चुहाउँदै हिँड्यो । उसले बचाएका कयाैँ नेता कमान्डरहरू सहर छिरे तर उसलाई जनमुक्ति सेनाबाट माओवादी लडाकुको बिल्ला बोकाएर घर फर्काइयो । उसलाई युद्धमा मर्न र मार्न लगाउने कमरेडहरू राजधानीका महलहरूमा बसाइँ सरे तर उसले कालीकोटमा रूख उम्रेका बारीहरूमा पसिना बगाउन थाल्यो । हेर्दाहेर्दै उसकै सहयोद्धाहरूको जीवनशैली फेरियो तर युद्धमा तहसनहस बनेको उसको शरीर ओछ्यानबाट उठ्न नसक्ने बन्यो । यी सबै कुराहरू सह्यो उसले । घरमा एक छाक कसरी टार्ने चिन्ता गर्ने त्यो कमान्डरले शरीर दुख्दा सिटामोल किन्ने हैसियतसम्म राख्न सकेन । अन्ततः कयौँ लडाइँको मैदानमा गोलीले छियाछिया पार्दा पनि ढल्न नसकेको प्रिय कमान्डर ‘सेवक’ आज बाटोमै बेवारिसे ढल्न पुग्यो !

उनले जनयुद्ध विघटनको यथार्थ अघि सार्दै लेखेका छन् :

युद्धमोर्चामा दर्जनौँ सहयोद्धाहरू गुमाउनुभन्दा कमरेड सेवकलाई यसरी बेवारिसे गुमाउनुमा बढी पीडा भएको छ । आज त्यही पार्टी सत्तामा छ जुन पार्टीले कालीकोटबाट सेवकलाई बन्दुक बोक्न लगाएको थियो । ती कमान्डरहरू सरकारमा छन् जसका लागि कमरेड सेवकले कयौँपटक रगतपसिनाको मूल्य चुक्ता गरेको छ । आफ्नै सहयोद्धाहरू बाटोमा ढलिरहँदा कुन मुटु बोकेर हाँसिरहन्छौ नेता कमान्डरहरू ?? सेवकहरूले उपचार पाउन के नेताको नातागोता हुनैपथ्र्यो कमरेडहरू ?? त्यो बलिदान, त्यो बगेको रगत के आज यही दिन देख्नका लागि थियो ??? आज कमरेड सेवकहरूलाई सडकमा ढलाउने उनको शरीरभित्रका रोगहरूभन्दा कयौँ गुणा बढी उनका सपनाहरूको हत्या गरिदिने उनकै नेता कमान्डरहरू अपराधी हुन् । दुईचारजना फटाहा नेताहरूले बिर्सिए पनि कमरेड सेवकलाई हामी सम्झिरहनेछौँ । हार्दिक श्रद्धाञ्जली प्रिय कमान्डर सेवक !

उनले टिप्पणाी लेख्दै भनेका छन् :

कालीकोटका जनमुक्ति सेनाका सेक्सन कमान्डर नमराज न्यौपाने ‘सेवक’ जसले जनयुद्धमा अतुलनीय योगदान गर्नुभएको थियो । हो, अन्तिममा हाम्रो अवस्था पनि यी सेवकहरूजस्तै हुने कुरामा कुनै शङ्का छैन । अहिलेको विषम परिस्थितिमा दलालहरू, तस्करहरू पार्टीले संरक्षण गरेको खण्डमा हामी पनि उस्तै हो । कस्तो गणतन्त्र ? कस्तो गन्तव्य ? जनमुक्ति सेना, लाखौँ कार्यकर्ताहरू अनि सहिद परिवारहरू सबै लाई ‘मिस’ गर्न चाहन्छु । यो एउटा उदाहरण हो नेताहरूको । ध्यान यतातिर जान जरुरी छ ।

बालेन साह नाउँ गरेका र्याप गायक पात्रले काठमाडौँको मेयर जितेपछि यो देशमा आफ्नो विकल्प नदेखिरहेका संसद्वादी दलका कार्यकर्ताहरू मुख छोपेर हिँडेका थिए लाज छोप्न । काठमाडौँ सफा गर्छु भन्ने बहाना बनाएर बालेनका प्रहरीहरूले सडककिनारमा मकै पोलेर जीवन गुजारा गर्दै आएका श्रमिकका ठेलाका मकै छरिदिएपछि बालेनविरुद्ध एउटा समूह आक्रोशित बनेको छ । बालेन यही व्यवस्थाका उपज र विकल्प थिए, कुनै क्रान्तिकारी विकल्प थिएनन् । त्यसैले उनले जनताका पक्षमा काम गर्ने कुरा भएन । यस्तै सन्दर्भ उल्लेख गर्दै फेसबुकमा उनको अत्यधिक आलोचना पनि भयो । बालेनकै मतदाताहरुले पनि वास्तविकता पचाउन सकेनन् सायद । यो पनि यो साताको चर्चित र नकारात्मक घटना बन्यो ।

क्रान्तिकारी माओवादीका नेता दिनेश शर्माले एउटा सिर्जना पस्किएका छन् तर स्रष्टाकाृ नाउँ उल्लेख भएको देखिएन । यो कविताले नमराज न्यौपाने ‘सेवक’ जस्ता जनयुद्धले जन्माएर जनयुद्धकै नायकहरूले समेत अपमान गरेका हजारौँ–लाखौँ नमराज न्यौपाने ‘सेवक’ हरूको अर्थात् देशको मर्म बोकेको छ । यसका स्रष्टाको परिचय पाएपछि थप उल्लेख गरौँला । कविता भने यसप्रकार रहेको छ :

तिमीले गोडाफाट भन्यौ, मैले गोडा फाटेँ
सतर्क भन्यौ, म सतर्क बनेँ
अगाडि बढ भन्यौ, म अगाडि बढेँ
पछाडि हट भन्यौ, म पछाडि हटेँ
सर्टिफिकेट फाल भन्यौ, मैले फालेँ
दस्ताबेज पढ भन्यौ, मैले पढेँ
इतिहास पढ भन्यौ, मैले पढेँ
समाज पढ भन्यौ, मैले पढेँ
अरू कत्ति कुराहरू तिमीले नभन्दा पनि पढेँ
……
तिमीले बन्दुक बोक भन्यौ, मैले बोकेँ
कैयौँ क्विन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोकेँ
घाइते शरीर बोकेँ
रक्तिम सन्देश बोकेँ
बोक्न त आजादहरूका प्यार पनि बोकेँ
जल्लादहरूका काला कर्तुत पनि बोकेँ
……
घर भनिएन
सम्पत्ति भनिएन
बा–आमा भनिएन
प्रियसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिँडियो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुस्मनको जिल्ला
बनाइयो आफ्नै लालकिल्ला
जलाइयो बुर्जुवा किताबका पाना–पाना
बनाइयो सामन्तीलाई निशाना
…….
तिमीसँग आदेश दिनसक्ने क्षमता थियो
मसँग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
……
मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तव्य निभाएकै हुँ
भोकभोकै लडेकै हुँ
…….
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रा लागि अमूल्य थियो
किनकि म भाँचिएको हात लिएर
बन्दुक चलाउन सक्थेँ
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थेँ
…….
तिमीले बन्दुक रोक भन्ने बेलासम्म पनि
म तिम्रा लागि प्रिय नै थिएँ
किनकि म तिम्रा लागि सुरक्षा दिन सक्थेँ
तिमीलाई हरक्षण पहरा दिन सक्थेँ
……
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
…..
जब मूल्य तोकियो
मजस्तै हजारौँलाई हाटबजारमा राखियो
तिमीले पठाएका
कैयौँ ग्राहकहरू आए
अङ्ग–अङ्ग जाँचे
……..
खुट्टामा गोली बोकेको म
भाँच्चिएको हात बोकेको म
अयोग्य बनेँ
…..
कमरेड !
कुनै बेला त्यही भाँच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोली लागेको मेरा खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए, होइन ?
म अमूल्य थिएँ, होइन ?
म योग्य नै थिएँ, होइन ?
तर म आज कसरी अयोग्य भएँ ?
…….
तिमीले भनेको मोर्चा समालेकै हुँ
दुस्मनको किल्ला तोडेकै हुँ
तिमीलाई गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्याएकै हुँ
के त्यहाँ पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेका हौ ?
……..
तिमी त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोटग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
……..
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमीलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी अगोग्य भएँ ??

जनयुद्धकालभरि योग्य बनेर देश, जनता र श्रमिक सर्वहारा वर्गको मुक्तिका लागि शरीरभरि गोली थाप्ने योद्धाहरू अर्थात् नमराज न्यौपाने ‘सेवक’ हरूको नियति बोकेको छ यो कविताले । आज तिनै कथित योग्यहरू हिजोका योग्यहरूको सडकमा ढलेको शरीर देखेर पनि नदेखेझैँ गरिरहेका छन् र धनसम्पत्ति र पदले उन्माद चढेर उन्मत्त हुँदै मृतक भएका पात्रको सालिक अनावरण गरिरहेका छन् । त्यसैले जन्मिएका छन् यस्ता विद्रोही कविता । वादशाहलाई औँला ठड्याउनसक्ने, जङ्गबहादुरका जुँगा उखेल्ने जोदाहा स्रष्टाहरूलाई सलाम छ ! श्रमिक वर्गका लागि बलिदान भएका महान् योद्धाहरूलाई सलाम छ !

यसै सन्दर्भमा प्रगतिशील स्रष्टा सुनिता बुढाथेकीको ‘म विद्रोही धर्ती’ शीर्षकको कविता प्रस्तुत गर्दै यस साताको समयसमीक्षाको बिट मार्ने अनुमति माग्छु :

फूलसँग खेलिरहेका
धर्तीका सुन्दर कोपिला विरुद्ध
बम बर्साउने ?
तिनीहरू को हुन्
जो शान्तिको गीत गाउँदै
युद्ध हुर्काइरहेका छन् ?
जो
यसबखत
धर्ती–मानवविरुद्ध
युद्ध–रक्तपातको महा–भारा
मृत्युको ‘महा–काव्य’
थोपर्न चाहन्छन्
तिनीहरू
ब्रह्माण्डका
कुरूप बिम्ब हुन् ।

धर्ती–विद्रोहका
गर्भ–चिहान हुन् ।
यसबखत
धर्ती–मानवविरुद्ध
शोषणको बर्बर कारखाना
द्रुत चलिरहेको छ
अँध्यारो–कुदिरहेको छ
प्रकृति–प्रेम–मानवता
बारुदको दुर्गन्धसँग
जुधिरहेको छ ।

एउटा
तुफान चल्दैछ
आँधी आउँदैछ
ज्वालमुखी फुट्दैछ
धर्तीभित्र अर्को
विद्रोही–धर्ती छ ।

म विद्रोही धर्ती हुँ
गति–ज्ञान–मुक्तिको
मिसायल
एकपटक
स्पर्श गर मेरो हृदय
जहाँ
हजारौँ वर्षदेखि
सत्य फुलिरहेको छ
उक्त फूलबारीको
एक थुँगा फूल
तिमी पनि हौ ।

मेरो आँखामा हेर
उज्यालो हाँसिरहेको छ
जसको एक किरण
तिमी पनि हौ
मेरो गर्भमा
ज्वारभाटा नाच्दैछ
त्यो विस्फोटित ज्वाला
तिमी पनि हौ
म विद्रोही धर्ती हुँ
तिमी धर्तीको विद्रोह हौ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :