रक्तमुछेल लखन्देही, रक्तमुछेल मुलुक र न्याय मरेको देश

रक्तमुछेल लखन्देही, रक्तमुछेल मुलुक र न्याय मरेको देश

समय समीक्षा

हो, ऊः यहीँनेर हो ऊ ढलेको
उसको हातमा क्रान्तिकारी झन्डा थियो
लगाउँदै थियो नारा–
क्रान्ति जिन्दावाद, दलाल पुँजीवाद मुर्दावाद
खाँदै थियो कसम–
सुकमुबासी, श्रमिक र विपन्नहरूको मुक्तिको
सह्य भएन बगरेहरूलाई
रक्तपिपासु छ समय
रगतमा रमाउने बगरेहरूको समय छ
लखेटीलखेटी मारेका छन् बगरेहरूले
मेरो प्रिय कमरेड कुमारलाई
रक्ताम्मे बनेको छ लखन्देही खोलो
यसैगरी रक्तमुछेल बनेको थियो
डेढ दशकअघि बागमती
यसैगरी लखेटी–लखेटी मारेका थिए बगरेहरूले
कमरेड लोकरोशनलाई पनि
के बागमतीकिनार
के लखन्देहीकिनार
जुन खोलाको किनार भए पनि
जुन गरिबको बस्ती भए पनि
उस्तै छ क्रूर र व्यभिचारी सत्ताका लागि
संसारको जुन मुलुकको भूगोल भए पनि
क्रान्तिकारीको रगत बगेको भूमि
उस्तै न हो
देश नै बगरेहरको पन्जामा जकडिएको बेला
शाहीशासन होस् वा देउवा–प्रचण्ड–वली शासन होस्
जनता रक्तमुछेल छ
देश रक्तमुछेल छ
रक्तमुछेल छ समय
हो, यही रक्तमुछेल समयले
गरेको छ क्रान्तिको ऐलान…

लेखक : अशोक सुवेदी

हो, ठीक तीन वर्षअघि कोरेको थिएँ बगरेहरूले मेरो प्रिय कमरेड कुमारको हत्या गरेको प्रतिरोधमा । त्यसपछि त हो बर्बर सत्ताले प्रतिबन्ध लगाउने दुश्चेष्टा गरेको थियो क्रान्तिमाथि, क्रान्तिकारीहरूमाथि तर ऊ आफैँ प्रतिबन्धित बनेको थियो जनताको मस्तिष्कबाट । कायरहरूले आत्मसमर्पण नगरेको भए यतिबेला कमरेड कुमारका हत्याराहरू जेलमा हुन्थे र न्यायको झिनो आशा बाँकी नै रहन्थ्यो । ठीक छ । फेरि उठेको छ झन्डा धुलोबाट । त्यसैले सम्भव छ क्रान्ति किनकि कमरेड कुमारकी आमा दुर्गादेवी पौडेलहरूको रोदन र हिक्कासँगै क्रान्तिप्रतिको प्रतिबद्धता कमजोर भएको छैन अझै :

तिम्रो क्रूर हत्या
अपराधी र कायरहरूको
पलपलको बाँचुन्जेलको मृत्यु हो छोरा !!!!
३६ महिनाहरू पूरा भए, तिम्रो न्याय बेखबर भो
आज तिम्रो तेस्रो वार्षिकीमा धूप सल्काउँदै
संस्मरण गर्नुबाहेक हामीसँग केही रहेन …..
यस्तै भो छोरा !
तर तिमी धेरै वर्षसम्म बाँचिराख्छौ रे
तिमी सहिद हो छोरा
म सहिदकी आमा
हामीलाई बिर्सिन्छन् सबैले हाम्रो मृत्युपछि
तर तिमी झन्डाहरूमा, ब्यानरहरूमा
इतिहासका पन्नापन्नामा धर्ती रहुन्जेल बाँचिरहन्छौ
तिमी देश र इतिहासको सम्पत्ति
म तिम्री आमा !
मुटु चुँडिएको छ र पनि सहानुभूति बटुल्दै छु छोरा
न्यायको तराजुमा यतिबेला
अन्यायको राज छ
अनि हामीले न्यायलाई हारीहारी जित्नेछौँ
हामीले सकेनौँ भने हाम्रा सन्ततिले जित्नेछन्
तिमीले जिम्मेवारी बहन गरेको इतिहासले जित्नेछ
सुकुमबासीहरूले तिमीलाई
हरक्षण सम्झिरहेका छन् छोरा
तिमी कहाँ मरेका हौ र ? मारिएका हौ
तर इतिहासले तिमीलाई मार्न कहाँ सक्छ र ?
तिम्रा बिरुद्ध देशको सरकार नै लागेको थियो छोरा
त्यो तिम्रो सहादत
तिमीलाई क्षतविक्षत बनाएर
टाउको, पैताला गरी
९ राउन्ड गोलीले ढलेका थियौ छोरा
९ राउन्ड गोली लाग्दासम्म
कसरी निल्यौ त्यो भयावह पीडा !
पलपल मलाई त्यही पीडाले दुखाउँछ…
तिम्रो क्रूर हत्या
अपराधी र कायरहरूको
पलपलको बाँचुन्जेलको मृत्यु हो छोरा !!
हार्दिक श्रद्धाञ्जली !

हार्दिक श्रद्धाञ्जली प्रिय कमरेड कुमार । हार्दिक श्रद्धाञ्जली प्रिय कमरेड रामकुमार र प्रज्वलहरू । यो आततायी सत्ता पागल भएको समय हो । यो देशमाथि नै साम्राज्यवादी नङ्ग्रा गाडिएको समय हो । अवश्य वर्तमानले सहिरहनेछैन एउटा देशभक्त छोरो मारिएको र एउटा स्वाभिमान राष्ट्र बधशाला बनेको ।

दलाहलहरू त दलाल नै भइहाले, नवदलालहरूले केही समय बिथोल्न खोजे समयलाई । यही मौका पारेर फेरि घुस्यो साम्राज्यवाद एसपीपी अर्थात् हतियारधारी ‘याङ्की’ लिएर । प्रधानमन्त्री भागिरहेको छ सत्य जबाफ दिन डराएर । सरकारी नेता, प्रतिपक्ष वा भनौँ संसद् छिरेका एकभन्दा अर्को उछिनपाछिन गर्दै छिरिरहेछ साम्राज्यवादी दूतावास र गराइरहेछ नयाँनयाँ वक्तव्य र विज्ञप्तिका ड्राफ्टहरू । एकाध क्रान्तिकारी पार्टी र स्रष्टाले धानिरहेझैँ लाग्छ देशको स्वाभिमान र सार्वभौमसत्ता । शासकहरू दिनदहाडै मृत्युशैयामा लम्पसार परेको दृश्य, यी दुर्दिनहरू देख्न, सुन्न र भोग्न विवश छन् नागरिक/अनागरिकहरू । रसुवाली कविलाई पचेको छैन विकृत र भ्रष्ट वर्तमान । ‘औँठी, देश र सङ्क्रमणकाल’ शीर्षक कवितामा उनी भन्छन् :

देश न शान्तिको मुडमा छ
देश न क्रान्तिको मुडमा छ
देश सङ्क्रमणमा छ
चे ग्वेभारा बन्छु भनेर हिँडेको ‘विद्रोही’ कमरेड
जग्गा दलाल बनेपछि
देश सङ्क्रमणमा छ
ख्रुस्चेब र बुद्धको फ्युजन गर्दा
झाँक्रीहरूको जादु निक्लेपछि
देश न पशुपतिको कृपामा छ
देश न प्रभु येसुको आशीर्वादमा छ
क्रान्तिकारी गीत लेखेर
टुबोर्गको लती बनेपछि
कमरेडहरूमा चढ्न थालेको छ
बाकुनिन बन्ने भूत
नेपालमा माक्र्स जन्मेको समाचार लेखेर पत्रकार
चर्चमा सङ्गती गर्न हिँडेपछि
जन्मिने त धार्मिक दुर्गन्ध नै हो
कमरेडहरू झोलामा पफ्र्युम बोकेर हिँड्छन्
देखावटी दृश्यहरूले
बनावटी क्रान्तिको भाष्य रचिरहेछन्
यो डरलाग्दो छ
प्रगतिशील लेखक सङ्घमा
आबद्ध वर्तमान र निवर्तमान कमरेडहरूले
खरिद गरेका छन्, मुलायम औँठी
बोन्पोहरूसँग मन्त्र सिकेर
अधिकारवादी नेता छिरेको छ अमेरिकी दूतावास
मुन्धुमको गीत गाउने पहिचानवादी साथी
वडा अध्यक्ष भएको छ
ऊ डोजरमा लिङ्देनको फोटो टाँसी हिँड्छ
बहुचर्चित तथाकथित विप्लवी नेताले
जोगीसँग औँठी र माला उपहार मागेर लगाएपछि
‘कमरेड’ हरू निश्चित भएका छन्
साढे सातको दशामा छ नेताजस्तै देश पनि…
साम्राज्यवाद र राष्ट्रवादको फ्युजन गर्दा
विचारभन्दा माथि देश भन्ने सिद्धान्त जन्मेपछि
देश बचाउने एउटा गतिलो यज्ञ चाहिएको छ
ओ मित्र !
थ्री नट थ्री राइफल बोकेन भने
यो असुरक्षित हुने समय हो
यज्ञ होइन
देशलाई ‘हाई डोज’ क्रान्ति चाहिएको छ

हो, अवश्य देशलाई हाई डोज क्रान्ति अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति चाहिएको छ र त्यो संसदीय संशोधनवादीहरूले दिन सक्तैनन् । दलालहरू करार गर्दै आज केही अखडाहरूमा विस्फोट गराएर भोलि चन्दा माग्न जाने र कम्युन भन्दै आफन्तका नाउँमा असङ्ख्य धनदौलत जोडेपछि अब क्रान्ति सम्भव छैन भन्दै आत्मसमर्पण गर्ने नयाँ/पुराना छविलालहरूले पनि सक्तैनन् समाजवादी क्रान्ति गर्न । यसका लागि सुझबुझ, हिम्मत, इमानदारी र प्रतिबद्धताको खाँचो छ ।

शासकहरू आफ्नो देशको ताला फुटाएर चौकीदार चोरले नै राष्ट्रियता बेचेकोसम्म थाहा नपाउने गरी मस्तराम भएर ढलिरहेका छन् सत्ताको बेहोसी र मातमा । इमानदार जनतालाई महँगी, अभाव र बेरोजगारीले साँझबिहान टार्नै धौधौ छ । माक्र्सवादी स्रष्टाहरू भने जनतालाई पोल खोलिदिँदै चोर औँल्याइरहेका छन् । कवि बीपी विद्रोही ‘को हो त्यो अमेरिका ?’ शीर्षक कवितामा भनिरहेछन् :

आउनुहोस्
आज म तपाईंलाई
सुनेसुनेजस्तो लाग्ने
एउटा छोटो कथा सुनाउँछु–
एउटा घरमा चोर पस्यो
मज्जाले लुट्यो– निस्कियो
घरधनीले चार वर्षपछि थाहा पायो
र भन्यो–
चोरी भएको बेला म सुतेको थिएँ
छ सालपछि द्वारेले थाहा पायो
र भन्यो–
चोरी भएको बेला
मलाई ज्वोरो आएको थियो
चोरले चोरेको सामान बजारभरि बेच्दै हिँड्यो
चोरीको फुटेज देखाउँदै हिँड्यो
हो र ?
होइन होला ?
कतिबेला ?
घरमालिक र गेटपालेले मुखामुख गरिरहे
छिमेकीहरूले भने–
थुक्क लाचारहरू
चोरले खुलेआम चोरेँ भनिरहेछ
कमसेकम कसले चोर्यो, खोज
कति चोर्यो, खोज
कमसेकम गेटपालेको कान निमोठ
घरमालिकको टुप्पी उखेल
एसपीपी सम्झौता यस्तै एउटा जोक हो
जो सम्झौताको धारा, उपधारा
घरघरमा पुगिसक्दा
न देशको सरकारलाई थाहा छ
न देशको सेनालाई ?
जो कसैलाई थाहा छैन अमेरिकाबाहेक ?
जो कसैलाई थाहा छ सिंहदरबारबाहेक ?
के हो एसपीपी, को हो त्यो अमेरिका …
कोटको खल्तीमा मिसाइल बोकेर आउने
त्यही हो अमेरिका
तिमीहरूले चोर भनेरै चोर भनेको हुँ
तिम्रो सत्ताभन्दा म वैधानिक हुँ भन्दै आउने
मै हुँ अमेरिका ।

देशको सुरक्षाका लागि राज्यले सेना, प्रहरी, गुप्तचर पालेको छ जनताको गाँस काटेर । देशको उन्नति र प्रगतिको गफ लगाउँदै दल नाउँका अनगिन्ती नाङ्ले पसल खुलेका छन् तर दैनिक मुलुकको राष्ट्रियता कमजोर बनिरहेको छ र साम्राज्यवादले देशको सुरक्षाको मेरुदण्ड मानिने सेनाको प्रमुखलाई नै कागज गराइसकेको छ साम्राज्यवादी सेना ल्याउन तयार छु भनेर । यसबारे जबाफदेही बन्न कोही तयार छैन । कवि बीपी ‘नपड्किने बन्दुक के काम’ शीर्षक कवितामा भन्छन् :

चार दिन ठेक्कापट्टाको तालिम लिएर
चार दिन घोडेजात्राको तालिम दिएर
लगाइदेऊ कम्ब्याट सेनालाई
कालो–निलो दलेर
चन्द्रागिरिको जङ्गलमा गएर
किन गर्नुपर्यो सैन्य तालिम ?
सीमा मिचिँदा नपड्किने बन्दुक के काम ?
स्वाधीनता मिचिँदा नलड्ने सेना के काम ?
अमेरिकी सेना सात समुद्र तरेर
हाम्रो देश लुट्न आउँछ
मिचिएको माटो खोस्न
हाम्रो सेना महाकाली तरेर
किन पुग्न सक्दैन कालापानी ?
ए जर्साब, कर्साबहरू
जयसिंह धामीलाई
भारतीय सेनाले महाकालीको भेलमा हेलेको
थाहा पायौ कि पाएनौ ?
तिम्रो मुटु दुख्यो कि दुखेन ?
बन्दुक बोकेर तालिम तिमीले लिनुपर्ने
सरकारी तलब र पेन्सन तिमीले खानुपर्ने
अनि सीमामा गएर कसले लड्नुपर्ने हो ?

मुलुकको अवस्था यति दयनीय बन्दै गएपछि अब राष्ट्रिय मुक्तियुद्ध नलडी सुखै छैन । अब वर्गसङ्घर्ष तेज नबनाई धरै छैन । भागून् केही कायरहरू पुस्ता–दरपुस्तालाई पुग्ने सम्पत्ति कुम्ल्याएर । पोखून् कुमार र रामकुमारहरूका रगत र जम्मा पारून् रगतसँग साटिएको धनदौलत । जब बढ्नेछ वर्गसङ्घर्ष, जब दौडनेछ राष्ट्रिय मुक्तियुद्ध, महान् जनयुद्धलाई आतङ्क र सामाजिक फासिवाद देख्नेहरूसँगै घाँटीमा घाँटी जोडेर, जनयुद्धका योजनाकार र अगुवाहरूको टाउकाको मूल्य तोक्नेहरूसँग घाँटीमा घाँटी मिलाएर ह्विस्कीको चुस्की लिऊन् नराधमहरू, खोस्नेछ जनताले तिनको ताज र पगरी अनि पार्नेछ सडकमा नाङ्गेझार । भाग्नेछन् त्यतिबेला एमसीसी र एसपीपी ड्राफ्ट गर्ने र अर्को घातक सुगौली गर्ने नयाँनयाँ चन्द्रशेखर पाध्याहरू ।
कवि भन्छन् :

भोलि कसैले भन्ला
सगरमाथा मैले उहिल्यै किनिसकेको छु
सगरमाथा मेरो हो
नेपाल सरकारले खोलेको टेन्डर
मैले पाएको हुँ
रीतपूर्वक आएको हुँ
अनि सरकारले भनिदेला
मैले बेचेको होइन
सेनाले भनिदेला मलाई थाहा छैन
ए शासकहरू !
एसपीपीको डाफ्ट घरघरै पुगिसक्यो
तिमीलाई थाहा नभए
कसलाई थाहा हुन्छ त
देश बेचिएको कुरा ?
के यही हो नेपालीको सान भनेको
यही हो वीर गोर्खाली भनेको ?

भविष्य द्रष्टा माक्र्सवादी स्रष्टाले नगरे कसले चिन्ता गर्छ देशको, जनताको, सहिदका सपनाको ? हरेक युगमा क्रान्तिनायक बन्छु भन्दै नयाँनयाँ नटवरलालहरु उदाइरहेछन् र बयलबास बजारनजिकै सडककिनारमा जादु देखाएर सर्वसाधारणका खल्तीका पैसा टप्काउने ठगहरुझैँ नयाँनयाँ ठगहरु जन्मिरहेका छन् । ठगहरु चिन्नका लागि पनि जनताले रगत बगाउनुपर्ने, जेल बसिदिनुपर्ने, झूट्टा मुद्दाहरु सहिदिनुपर्ने । हरेक दशक किन नयाँनयाँ ठगहरुलाई लिएर तमासा देखाउन आइरहेछ समय ? जनताको धैर्यको कति हाँसीमजाक गरिरहेछ समय ? यही भद्रगोल र ठगीधन्धालाई चिनेर त क्रान्तिकारीहरुले उठाएका छन् रक्तरञ्जित क्रान्तिको झन्डा ! यही झन्डा देखेर त चित्त बुझाइरहेछ श्रमिक वर्ग !

कवि बीपीले योद्धा कुमार पौडेलको बलिदानीको उच्च प्रशंसा गर्दै शासकहरूलाई खबरदारी पनि गरेका छन् ‘लखन्ती खोलो’ शीर्षक कवितामा । लखन्ती खोलो सहिद कुमारले बलिदान गरेको ठाउँनजकै भएर बग्ने सर्लाहीको खोलो हो :

लालबन्दीको छेउमै
चुरेसँग लडीबुडी खेल्दै
बगिरहेछ लखन्ती (लखन्देही) खोला
धर्तीमाताको काखमा पोखिएको छ
रातो गाढा रगत
भाँचिएका हातमा थमाइएको छ सरकारी बन्दुक
एकटकले हेरिरहेको छ एउटा निर्जीव घोडा
बाँसका हरिया झ्याङहरू चुपचाप हेरिरहेछन्
सरकारी मान्छेजस्ता देखिने केही अनुहारहरू
एकआपसमा गरिरहेछन् कानेखुसी
सायद तानाबाना बुनिरहेका हुँदा हुन् मुठभेडको !
ढिला गरी समाचार आउँछ–
दोहोरो भिडन्तमा मारिए कुमार…!
म सम्झन्छु–
विदेशमा बेचिएका दिदीबहिनी, दाजुभाइ
लालबन्दी, मिर्चैया, गाईघाटका सुकुमबासी
भ्रष्टाचारले थला परेको देश
कत्रो सपना थियो कुमार तिम्रो
यो देशका दलालहरूले कब्जा गरेको सत्ता
जनताको हातमा पुर्याउने

म फेरि सोच्छु !
दोहोरो भिडन्त कस्तो हुन्छ ?
मङ्गलसेन र खाराका हुँकारहरू सम्झन्छु
साँच्चै कुमारले पनि फायर खोलेको भए के हुन्थ्यो ?
खित्का छोडेर हाँसिरहेछ
निहत्था कुमारको रक्तमुछेल लास
र भनिरहेछ– ए मान्छेहरू हो !
प्रहरी मेरो साथी,
मुस्कानसहितको सेवा;
सत्य सेवा सुरक्षणम्
समुदाय र प्रहरी हातेमालो
भनेको यही हो ?
कि सत्ताले मानवीय समवेदना झिकेर
मेसिन फिट गरेको छ र तिम्रो दिमागमा ?
दूधे बालकले पनि बुझेको छ
यो मुठभेड हुँदैहोइन
यो पाशविक हत्या हो
इतिहासलाई के जबाफ दिन्छौ ?

जबाफ त कलिली बालिका मैना सुनारका हत्यारा शाही जल्लादहरूले पनि दिएका छैनन् आजसम्म र दिएका छैनन् पेरिस कम्युनका कम्युनार्डहरूले झैँ उच्च बलिदान गर्ने दोरम्बाका महान् सहिदहरूका हत्यारा राममणि पोखरेलहरूले पनि, न त दिएका छन् योद्धा इच्छुकलाई हातखुट्टा बाँधेर सत्र ठाउँ शरीर भाँचेर मार्ने जल्लादहरूले नै । बागमती, विष्णुमती र लखन्देहीहरूमा अर्बौं लिटर पानी बगिसकेको छ योद्धाहरूको रगतसँगै । इतिहासले जबाफ दिनैपर्छ बगरेका आदेशहरूसँगै महान् योद्धाहरूको बेदाग छातीमा क्रूरतापूर्वक गोली दाग्ने कायरहरू कोको थिए ? त्यसको एकएक इतिहास राखेको छ समयले । ए पत्थरिला हृदय भएका जडता र मूढताका प्रतीक शासकहरू हो, इतिहास तिमीले हटहट गरेको कायर समयको मात्र होइन, तिम्रो मृत्युको सुखद समाचार पनि लिएर बग्नेछ । राजु कश्यपको नाउँबाट कवि ढुण्डीराज अधिकारीले समयलाई गरेको सम्बोधन पस्किँदै यो साताको समय समीक्षाबाट बिदा हुने अनुमति माग्छु :

हत्यारा, हिंश्रक, लुटेरा, दुष्ट, बलात्कारी
संरक्षणमा ढाल बन्दिन्छ यही सत्ताधारी
अख्तियार र अदालतमा राजनीति पसेर
अन्यायले न्याय मार्यो घाँटीमा कसेर
लुटपाटमा संलग्न छ पुलिस, प्रशासन
सुरक्षाको प्रत्याभूति छैन निरासजन
फुक्का राँगोसरि हिँड्छन् सडक र गल्ली
पञ्चायतका पुलिसजस्तै हिँडेका छन् हल्ली
देशको सीमा बचाउने काम त सेनाको हो
मिचिएको देशको सीमा खै त बचाएको ?
तिम्रो बन्दुक मिचाहातिर खै त तेस्र्याएको
न्याय खोज्ने नेपालीलाई किन तर्साएको…
मुठीभरका सत्तामा छन् शोसक, गरिबमारा
अशाान्तिलाई स्वाहा पार्न उठौँ सर्वहारा
वैज्ञानिक समाजबादी व्यवस्था ल्याउनु छ
देशैभरका जनतालाई खुसीले छाउनु छ
न्यायप्रेमी जनताको रगत पिउनेलाई
देश लुटेर आफ्नो जीवन आराम जिउनेलाई
भष्मे फाँडेजस्तै गरी यिनलाई पनि फाँडौँ
काम नलाग्ने फोहोरमैलो खाल्डो खनी गाडौँ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :