नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीद्वारा अन्तरक्रिया सम्पन्न

नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीद्वारा अन्तरक्रिया सम्पन्न

बुटवल : नेकपा (बहुमत) निकट लुम्बिनी सांस्कृतिक परिवार रुपन्देहीले ‘जनजिविका र राष्ट्रिय स्वाधीनताको सवालमा कलाकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (बहुमत) रुपन्देही इन्चार्ज प्रवेशले जनजिविका दयनीय र राष्ट्रिय स्वाधीनता सङ्कटग्रस्त अवस्थामा रहेको अवस्थामा राज्यलाई खबरदारी र जनतालाई सुसूचित गर्ने सवालमा कलाकारहरूको अहम् भूमिका रहने बताए । कार्यक्रममा उपस्थित विभिन्न विधासँग सम्बन्धित कलाकर्मीहरूसँग अन्तरक्रिया गर्दै चलचित्र, गीत, साहित्य, विभिन्न प्रकारका कलामार्फत् छिटोभन्दा छिटो जनतामा जागरण पैदा गर्न सक्ने भएकोले कलाकर्मीहरूले आफ्नो कलालाई क्रान्तिकारी राजनीतिक आन्दोलनसँग जोडेर लानुपर्नेमा जोड दिए । कलाकारहरूले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा सशक्त ढङ्गले जनताको मुद्दालाई कलामार्फत् उठान गर्दा प्रभावकारी हुने बताए  ।

त्यस्तै अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इञ्चार्ज नवीन खड्काले कलाकारहरू सशक्त ढङ्गले हरेक क्षेत्रका बेथितिहरू विरुद्ध कलालाई उपयोग गर्नुपर्नेमा जोड दिए । उनले जनयुद्धमा समेत कलाकारहरूले अतुलनीय योगदान गरेको स्मरणसमेत गरे ।

अन्तरक्रिया कार्यक्रममा मनिष पन्थ, ध्रुव कुमार घिमिरे, शेषकान्त ढकाल, सुरेश नेपाल, कमला गैरे, सिता सापकोटा, विनोद बिष्ट, दिपेन्द्र पाण्डे, अर्जुन पाण्डेलगायत दुई दर्जन कलाकर्मीहरूले जनजिविका र राष्ट्रियताको आन्दोलनमा कलाकारले अहम् भूमिका खेलेको र कुनै पनि मूल्य चुकाएर भए पनि सबै खाले बेथितिहरूको विरुद्ध सशक्त ढङ्गले अगाडि बढ्ने बताएका थिए । साथै उनीहरूले कलाकारहरूलाई राज्यले उपेक्षा गरेको भन्दै कलाकारहरू शोषण, हिंसा, अन्यायमा पर्दा राज्यले न्याय दिलाउन नसकेको गुनासो गरे । उनीहरुले कलाकारले सबैखाले परिवर्तनको आन्दोलनमा अहम् भूमिका खेल्ने र उपेक्षा पर्नु दु:खद् भएको बताए ।

कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यवसायिक कलाकारहरूको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा लुम्बिनी सांस्कृतिक परिवार, रुपन्देही संयोजक अञ्जु रसाइलीले अध्यक्ष्यता र पारस राहादी मगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :