सशक्त सङ्घर्षसहित चारमहिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै मजदुर सङ्गठनको बैठक सम्पन्न

सशक्त सङ्घर्षसहित चारमहिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै मजदुर सङ्गठनको बैठक सम्पन्न

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले आफ्नो पार्टी वैचारिक सर्वोच्चतामा पुनर्गठन भएको कम्युनिस्ट पार्टी रहेको बताएका छन् । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चौथो पूर्ण बैठकमा प्रमुख अतिथिका रूपमा राजनीतिक एवम् वैचारिक प्रशिक्षण दिँदै पार्टी संयोजक कञ्चनले पार्टीको तत्कालीन कार्यनीति स्वाधीन संयुक्त सरकार र मूलतः वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशामा जोड रहेको स्पष्ट पारे ।

बैठकका विशेष अतिथि मजदुर फ््रयाक्सन इन्चार्ज तथा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य शार्दूलले वैचारिक रूपमा स्पष्ट भई श्रमिकहरूका बीचमा प्रस्तुत हुन सबैलाई निर्देशन दिएका थिए ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्यसमेत रहेका महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापाको अध्यक्षता र सञ्चालनमा काठमाडौंमा सम्पन्न उक्त बैठकले मजदुर हक तथा अधिकारका निम्ति सशक्त सङ्घर्षसहितको चारमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।

अभियान असोज महिनासम्म देशैभरि सञ्चालन हुने र खासगरी सङ्गठन निर्माणमा जोड दिँदै सङ्घर्षमा केन्द्रित रहने निर्णय बैठकले गरेको छ । केन्द्रीय योजना र तयारीसाथ श्रमिक मजदुरहरूका प्रतिष्ठानस्तरीय मागपत्रहरू पेस गर्ने, औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा यसखालका कार्यक्रमलाई जोड दिने, श्रमिकहरूको सेवा तथा सुविधा र व्यावहारिक सामाजिक सुरक्षा सवाललाई ध्यान दिने निर्णय बैठकले गरेको जनाइएको छ ।

कार्यक्रममा पार्टी निकट किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवम् पार्टी महाधिवेशन आयोजक समितिका सदस्य हरि श्रेष्ठ, आयोजक समितिका पदाधिकारीहरू पनि अतिथिका रूपमा सहभागी थिए । बैठकमा देशैभरबाट महासङ्घका सदस्यहरूको प्रतिनिधित्व रहेको र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी थप गरिएको पनि बताइएको छ ।

केन्द्रीय सदस्यहरूको सुझावसहितको रिपोर्टिङपछि कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले प्रशिक्षण दिएका थिए ।

बैठकका अध्यक्ष थापाले श्रमिक हक तथा अधिकारविरोधी पक्षका विरुद्ध थप सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बैठक समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :