मजदुरविरोधी सम्झौता गरिए निर्णायक सङ्घर्ष गर्ने नेकपा (बहुमत) निकट होटेल मजदुर सङ्घको चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट होटेल मजदुर सङ्घले मजदुरविरोधी सम्झौता गर्ने पक्षलाई निर्णायक सङ्घर्षको सामना गर्न चेतावनी दिएको छ । नेकपा (बहुमत) निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ आबद्ध पेसागत घटक सङ्घ अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेस्टुराँ श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष सरोज र महासचिव प्रलयद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो ।

पछिल्लो समयमा होटेल, क्यासिनो, रेस्टुराँ, बारलगायत क्षेत्रमा कार्यरत श्रमिकहरूमाथि एकपछि अर्को गरी निरन्तर अन्याय भइरहेकाले सङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

तारे होटेलहरू र त्यसमध्ये पनि होटेल अन्नपूर्ण र थुप्रै क्यासिनोमा कार्यरत मजदुरहरूको रोजगारी र ट्रेड युनियन हकविरुद्ध व्यवस्थापनले गैरन्यायिक हर्कत गर्दै आएकाले त्यसप्रकारको हर्कत नमानिने विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले विगतदेखि नै होटेललगायत यस क्षेत्रमा प्रतिष्ठान स्तरमा उत्पन्न विवाद समाधानका निमित्त विशेष अधिकार सम्पन्न कार्यदल (टास्क फोर्स) परिचालन गर्ने गरिएको उल्लेख गर्दै खासगरी केन्द्रीय स्तरका ट्रेड युनियन र हानका बीचमा मात्र सम्पन्न गरिने कतिपय सम्झौता मजदुरहरूका पक्षमा नहुने, क्रियाशील अन्य धेरै क्रान्तिकारी ट्रेड युनियनहरूलाई समेट्न नसक्ने र पवित्र ट्रेड युनियन आन्दोलनमाथि एकतर्फी रूपमा लाग्दै आएको दोष निवारण गर्नसमेत नसक्ने देखिएकोमा विज्ञप्तिमार्फत रोष प्रकट गरेको छ । बन्द रहेका प्रतिष्ठानहरू खुल्न लागेपछि विगतमा कटौती र बेतलबीमा राखिएका श्रमिकहरूलाई रोजगारीमा नियमित गर्नुको साटो नयाँ नियुक्तिलाई जोड दिइएकोमा रोजगारदाता पक्षमा न्यूनतम कानुनी मान्यता पालना गर्नसमेत विज्ञप्तिमा कडा चुनौती दिइएको छ ।

सरोकारवाला पक्षलाई मजदुर हितमा गम्भीर बन्न अनुरोध गर्दै विज्ञप्तिमा रोजगारदाता पक्ष र सत्तापक्षीय केही ट्रेड युनियनहरू एकतर्फी रूपमा मजदुर हितविरुद्ध पेस हुन आएमा निर्णायक सङ्घर्षद्वारा प्रतिवाद गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :