बाँकेको कोहलपुरमा मिटर ब्याजको आतङ्क, मिटर ब्याज बन्द नगरिए भौतिक कारबाही गर्ने नेकपा (बहुमत) को चेतावनी

बाँकेको कोहलपुरमा मिटर ब्याजको आतङ्क, मिटर ब्याज बन्द नगरिए भौतिक कारबाही गर्ने नेकपा (बहुमत) को चेतावनी

कोहलपुर (बाँके) : पछिल्लो समय नेपालमा मिटर ब्याजको धन्दा अवैधानिक रूपमा मौलाउँदै आएको छ । मिटर ब्याजअनुसार चर्को ब्याजदरमा पैसा ऋण दिने, सावाँ र ब्याज अरू थप्दै जाने र त्यसैका कारण ऋणीलाई शारीरिक र मानसिक यातना दिई आत्महत्या गर्न र ऋण्ीालाई घरवारविहीन हुन बाध्य बनाएको छ । नेकपा (बहुमत) ले भने पत्रकार सम्मेलन गरी मिटर ब्याज बन्द नगरिए पीडकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

यस्तै मिटर ब्याजको जालोमा बाँकेको कोहलपुर पनि आतङ्कित बन्दै आएको सामाजिक सञ्जालमा समेत व्यापक रूपमा देख्न सकिन्छ । कोहलपुर ११ एकतानगर निवासी सुशीला बस्नेत, गीता गिरी र रीता विक पनि उक्त मिटर ब्याजको जालोको पासोमा परेका छन् ।

ऋणी रीता विकले ऋण दिने व्यक्तिसँग कोरोना लकडाउनको बेला एक लाख रुपैयाँ बुझी प्रमाणस्वरूप चेक दिएकी थिइन् । उनले मासिक तीस प्रतिशतका दरले तीस हजार ब्याज बुझाउँदै आएकी छिन् । अहिलेसम्म ऋण दिने व्यक्तिलाई उनले दुई लाख चालीस हजार बुझाइसकेकी छिन् । तर अदालतबाट लिखित गरी फेरि एक लाखको चेकबापतको रकम बुझाउँदा पनि ऋण दिने व्यक्तिले अझै दुई लाख बाँकी रहेको भन्दै आफूलाई धम्की दिई अरू रकम मागिराखेकाले आफूले मानसिक यातना भोग्नुपरेको रीताले बताइन् ।

पीडित रीताका अनुसार आफ्नो सुरक्षाका लागि प्रहरी कार्यालयमा जाँदा उल्टै ऋृण दिने व्यक्तिले मुद्दा हालेपछि ८ दिनसम्म हिरासतमा बस्नुपरेको छ । मिटर ब्याजका अरू ऋणी सुशीला बस्नेत र गीता गिरीको अवस्था पनि त्यस्तै छ ।

लेनदेनसम्बन्धी कानुनी प्रावधान कस्तो छ ?

मुलुकी देवानी संहिता २०७४ को भाग ४ परिच्छेद १५ को दफा ४७६ मा लिखित नगरी लेनदेन गर्न नहुने व्यवस्था छ । यस्तै दफा ४७८ को उपदफा १ बमोजिम साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम सावाँ रकमको वार्षिक दस प्रतिशतभन्दा बढी हुनेछैन भन्ने कानुनी प्रावधान रहेको छ । तर यहाँ अवैधानिक रूपमा कानुनको प्रावधान उल्लङ्घन गरी साहूले ऋणीलाई मासिक ३० प्रतिशत ब्याजका दरले रकम असुल्दै लिखित नै नगरी लेनदेन गरेको पाइएको छ । आफूहरूले जानकारी गराउँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको पीडितहरूको गुनासो छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एनबहादुर मल्लसँग बुझ्दा उनले भने, ‘यसबारे हामीसँग कुनै जबाफ छैन ।’

मिटर ब्याजसम्बन्धमा नेकपा (बहुमत) ले गर्यो पत्रकार सम्मेलन

पछिल्लो समय मिटर ब्याजको अवैध धन्दा मौलाएर पीडितहरूको गुनासो बढेपछि नेकपा (बहुमत) ले सरोकारवालालाई राखेर पत्रकार सम्मेलन गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा श्रमिक वर्गको पसिना लुट्ने र पीडितलाई घरवारविहीन बन्न बाध्य पार्ने मिटर ब्याजको घटना सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त क्षेत्रीले मिटर ब्याजको धन्दा अवैधानिक भएको बताए । मिटर ब्याजका कारण ऋणी व्यक्ति घरवारविहीन, समाजविहीन हुनुपर्ने बाध्यता उत्पन्न भएकाले यस्ता खालका आपराधिक गतिविधि गर्ने व्यक्तिलाई पहिले नैतिक कारबाही गरिने र नसुध्रिएमा भौतिक कारबाही गरिने इन्चार्ज क्षेत्रीले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाँकेका संयोजक कृष्ण शाहले मिटर ब्याजले उत्पीडित वर्गलाई झनै पीडित बनाएको सम्बन्धमा जिल्ला प्रशासन कार्यलय बाँकेलाई ज्ञापनपत्र बुझाइएको बताए ।

यस घटनाका विषयमा मिटर ब्याज लगाएर ऋण दिने सविता गिरीसँग प्रतिक्रिया माग्दा उनले रीता विकसँग मिटर ब्याज नलिएको दाबी गरिन् । उनले रीता विकलाई तीन लाख रुपैयाँ ऋण दिएको, अहिलेसम्म एक लाख रुपैयाँ मात्र फिर्ता पाएको र अब दुई लाख लिनुपर्ने दाबी पनि गरिन् । आफूले पाउनुपर्ने रकमको चेक बनाएर राखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :