पुँजीवादको मुख्य चुनौती : आर्थिक असमानताको बढ्दो खाडल

विश्वमा अहिले अधिकांश देशहरूमा पुँजीवादी अर्थव्यवस्था छ । यद्यपि यो व्यवस्थामा थुप्रै सङ्कटहरू देखापरेका छन् जसमा गरिबी, युद्ध, बढ्दो मूल्य वृद्धि, भोकमरी र आर्थिक असमानताको बढ्दो खाडल रहेका छन् । यसमध्ये आर्थिक असमानताको खाडल प्रमुख चुनौतीका रूपमा रहेको छ । पुँजीवादी अर्थव्यवस्थाको आधारभूत उद्देश्य मुनाफा कमाउनु हो । यसले खुला नीतिको समर्थन गर्दछ । यस व्यवस्थामा समाजमा व्यक्तिको हैसियत उसको सम्पत्तिका आधारमा निर्धारण हुन्छ । पुँजीवादी अर्थव्यवस्थामा आर्थिक सामग्रीहरूको उत्पादन र विवरणमा राज्यले खासै हस्तक्षेप गर्दैन । युद्ध, महामारी भूकम्प तथा अन्य विपत्तिहरूमा यस अर्थव्यवस्थामा धनाढ्य, ठूला उद्योगी, व्यवसायीहरूले अतिरिक्त मुनाफा आर्जन गर्न हरेक वस्तु तथा सेवाको मूल्य वृद्धि गर्छन् ।

पुँजीवादी अर्थव्यवस्थामा एकातिर उच्च मूल्य वृद्धिको चुनौती छ भने अर्कोतिर आर्थिक असमानताको ब्यारोमिटर उच्च भएकाले बहुआयामिक असर परेको छ । कोरोना महामारीलगायत विश्व आर्थिक असमानताको डरलाग्दो खाडलतिर अगाडि बढिरहेको छ । शक्ति सम्पन्न अमेरिकादेखि नेपालजस्तै कयौँ राष्ट्रहरू आर्थिक विषमताको खाडलले पिरोलिइरहेका छन् । विश्वका धनाढ्यहरू झन् धनी बनेका छन् भने विपन्नहरू झन्भन्दा झन् चरम गरिबीमा धकेलिएका छन् । विश्वव्यापी रूपमा रहेको बेलायतस्थित संस्था अक्सफाम इन्टरनेसनलले मे २२ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार महामारी सुरु भएयता विश्वमा थप ५७३ जना नयाँ अर्बपति थपिएका छन् । अर्थात् विश्वले अथाह सम्पत्ति गुमाइरहेको महामारीको प्रत्येक ३० घन्टामा औसतमा एकजना नयाँ अर्बपति बने । यससँगै एक अर्ब डलरभन्दा बढी नेटवर्थ भएका धनाढ्यको सङ्ख्या दुई हजार ६ सय ६८ पुगेको छ ।

कोरोना भाइरस महामारीबाट उत्पन्न सङ्कटले आज विश्व–अर्थतन्त्रलाई क्षतविक्षत बनाएर करोडौँ मानिसलाई गरिबीमा धकेलेको छ । त्यति मात्र होइन, धेरैले सधैँका लागि रोजगारीसमेत गुमाएका छन् । यद्यपि धनाढ्यहरूका लागि भने यो महामारी अभूतपूर्व रूपले फलदायी साबित भएको छ । महामारीको अवधिमा धनाढ्यहरूले महामारी अघिको २३ वर्षमा बढेको भन्दा धेरै नेटवर्थ थपेका छन् । विश्वका अर्बपतिको सम्पत्ति विश्वको जीडीपीको १३.९ प्रतिशत बराबर पुगेको छ । यसअघि सन् २०२० मा विश्वका सम्पूर्ण अर्बपतिको नेटवर्थ विश्व–अर्थतन्त्र जीडीपीको ४.४ प्रतिशत थियो । आर्थिक असमानताको बढ्दो खाडलमा यो ज्यादै ठूलो डरलाग्दो तथ्याङ्क हो । यसरी हेर्दा महामारीका यी दुई वर्षमा अर्बपतिहरूले आफ्नो सम्पत्ति तीन गुणाले बढाए । यो अवधिमा विश्वका अर्बपतिहरूको नेटवर्थमा ४२ प्रतिशत अर्थात् ३० खर्ब ८० अर्ब डलर बढेर एक सय २० खर्ब ७० अर्ब डलर पुगेको छ ।

अक्सफामले घतलाग्दो कुरा के गरेको छ भने आर्थिक असमानता बढ्नुमा कोरोना मात्रै जिम्मेवार छैन, वर्तमान विश्वव्यापी पुँजीवादी अर्थव्यवस्था बढी जिम्मेवार छ । कोरोना नहुँदा पनि आर्थिक असमानताको खाडल हिजो पनि बढेकै थियो । तर अहिले महामारीका कारण थप बढ्न गएको मात्र हो । पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थाले धनाढ्यलाई थप धन आर्जन गर्न सक्षम बनाएको छ भने करोडौँ मानिसको जीवन नरकतुल्य पनि यही व्यवस्थाले गराएको छ । अब यस व्यवस्थाको विकल्प खोज्नु पर्दैन ? भनी प्रश्नवाचक चिह्न खडा भएको छ ।

कोरोना महामारीको समयमा सबैभन्दा वढी खाद्य, ऊर्जा तथा फर्मास्युटिकल (औषधी) क्षेत्रले मुनाफा कमाएका छन् । खाद्य तथा कृषि क्षेत्रका अर्बपतिहरूले महामारीका यी २ वर्षमा सम्पत्तिमा ३ खर्ब ८२ अर्ब डलर अर्थात् ४५ प्रतिशतको वृद्धि साक्षात्कार गरेको देखिएको छ । सन् २०२० पछि खाद्य क्षेत्रले मात्रै ६२ नयाँ अर्बपति थपेको छ । त्यस्तै गरेर तेल, ग्याँस तथा कोइला क्षेत्रका धनाढ्यले पनि आफ्नो नेटवर्थ २४ प्रतिशतले बढ्दा ५३ अर्ब डलर थपेका छन् । फर्मास्युटिकल (औषधी) उद्योगले विश्वमा ४० नयाँ अर्बपति थपेको छ । कोरोना महामारीको अवधिमा सबैभन्दा बढी सम्पत्ति प्रविधि क्षेत्रमा थपिएको छ । विश्वका सर्वाधिक धनाढ्य १० मध्ये टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्सजस्ता ७ व्यक्ति प्रविधि क्षेत्रैबाट छन्् । धनाढ्यको सूचीमा रहेका १० जनाले महामारीको दुई वर्षको समयावधिमा ४ खर्ब ३६ अर्ब डलरले बढाएर ९ खर्ब ३४ अर्ब पुर्याएका छन् ।

विश्व आर्थिक मञ्चमा अक्सफामले बढ्दो आर्थिक विषमताको खाडल घटाउन केही सुझावसमेत दिएको छ । बढ्दो असमानतालाई रोक्न र चर्को मूल्य वृद्धिबाट प्रताडित परिवारलाई सहयोग गर्न धनाढ्य तथा ठूला कम्पनीलाई थप कर लगाउन अक्सफामले घचघच्याएको छ । उसले अतिशय कर्पोरेट मुनाफामा अस्थायी रूपले ९० प्रतिशतसम्म कर लगाउन र धनाढ्यहरूको सम्पत्तिमा एकपटकका लागि सम्पत्ति कर लगाउन पनि सुझाएको छ । सम्पत्तिको यो असमानता कम गर्न ५० लाख डलरभन्दा बढीको सम्पत्तिमा २ प्रतिशत कर लगाउन र एक अर्बमाथिको नेटवर्थमा लाग्ने सम्पत्ति करलाई ५ प्रतिशत बढाउन भनेको छ । अक्सफामका अनुसार यसरी कर लगाउँदा विश्वभर २० खर्ब ५० अर्ब डलर उठ्ने र त्यसले सम्पत्तिको यो खाडल पुर्न सघाउने दाबी पनि गरेको छ ।

प्रकृतिले विश्वका मानव जातिका लागि जल, जङ्गल, जमिन पूर्ण रूपमा निःशुल्क उपहार दिएको थियो तर आज निश्चित मानिसले आफ्नो कब्जामा लिई त्यसको भरपूर उपयोग गरेका छन् । आज राष्ट्र–राष्ट्रबीच मात्र होइन, एउटै देशका नागरिक बीच पनि असमानताको खाडल चरम उत्कर्षमा छ । यसो हुनुको प्रमुख कारण धनी मानिसहरू नै राज्यको सत्ता सञ्चालन तहमा पुग्नु र यिनीहरूले मुलुकको स्रोत–साधन विनियोजन र उपयोगसम्बन्धी नीति निर्माण आफ्नो हितअनुकूल हुने गरी लागू गर्ने देखिन्छ । अनि ठूलो सङ्ख्यामा रहने बाँकी जनताको भागमा भने दयामुखी र रहलपहल स्रोत मात्र पर्ने गर्छन् ।

आज विश्वमा धनी र गरिबबीचको खाडल बढ्नुमा लोकतान्त्रिक शासनभित्रको पुँजीवादी अर्थव्यवस्था हो । यो असमानताको बढ्दो खाडल पुर्न यो व्यवस्थाबाट सम्भव छैन किनभने पुँजीवादले खुला व्यापारनीतिको समर्थन गर्दछ । यस नीतिमा जसले जति पनि जसरी पनि कमाउन सक्छ । राज्यले खासै त्यसमा अङ्कुश लगाउन मिल्दैन । जब निश्चित मान्छेहरू आराम र मोजमस्तीमा बस्छन् बाँकी ठूलो हिस्सा गरिबी, बेरोजगारी, भोकै मर्नु पर्ने अवस्था आउँछ । तब थोरै मानिसको हित रक्षाका लागि स्थापना गरिएको यो पुँजीवादी राज्यव्यवस्था टिक्दैन अर्थात् जनता आफैँले यो व्यवस्था फ्याँक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :