पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धिविरुद्ध नेकपा (बहुमत) ले देशभरका जिल्ला प्रशासन कार्यालयमा दियो ज्ञापनपत्र

पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धिविरुद्ध नेकपा (बहुमत) ले देशभरका जिल्ला प्रशासन कार्यालयमा दियो ज्ञापनपत्र

काठमाडौँ : देउवा सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपा (बहुमत) ले शुक्रबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका समाचारहरू प्राप्त हुने क्रम जारी छ ।

प्राप्त पछिल्लो समाचारअनुसार नेकपा (बहुमत) सुर्खेतले पनि जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । सरकारले ७ महिनामा ११ पल्ट मूल्य बढाइसकेको भन्दै ज्ञापनपत्रमा अविलम्ब मूल्य फिर्ता लिन आग्रह गरिएको छ । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि हुँदा सबै उपभोग्य सामानको मूल्य वृद्धि हुने भएकाले अविलम्ब मूल्य फिर्ता लिन माग गरिएको नेकपा (बहुमत) सुर्खेतका इन्चार्ज यमराज खड्का र संयोजकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्ला समितिले पनि वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त फिर्ता गर्न माग गर्दै दोलखा जिल्ला पशासन कार्यालयमा ज्ञापनपत्र दिएको छ ।

पार्टीका जिल्ला संयोजक अञ्जानसहितले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र पढेर सुनाउँदै संयोजक अञ्जानले दलाल र माफियाको निर्देशनमा देउवा सरकारले पटकपटक मूल्यवृद्धि गर्दा नेपाली श्रमजीवी जनताको डाढ सेकिने गरी उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धि भएकाले वृद्धि गरिएको मूल्य तत्काल फिर्ता लिनुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले मूल्य वृद्धिले जनताको ढाड सेकेकाले यसको विकल्प खोज्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय समितिले मूल्य वृद्धिविरुद्ध घोषणा गरेको सङ्घर्षका कार्यक्रमअनुसार आज नेकपा (बहुमत) झापा इन्चार्ज मनीष नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । टोलीले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ रिजालले गठबन्धन सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरेको चरम मूल्य वृद्धिबाट आमजनताले बेहोरिरहेको सास्ती निवारण गर्न सम्बन्धित निकायमा पहल गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताका समस्या समाधान गर्न मूकदर्शक हुन नसक्ने बताएका थिए ।

यसै क्रममा नेकपा (बहुमत) सिन्धुलीले पनि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा (बहुमत) सिन्धुली–रामेछाप–दोलखाका इन्चार्ज विनय शर्माको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो । शर्माले कर्मचारी प्रशासन कमजोर भएकाले जनताले समयमा सेवासुविधा नपाएको बताएका थिए । यसलाई बदल्न सामूहिक विकास प्रणालीको विकास गर्नुपर्ने सुझाव पनि शर्माले दिए । भ्रष्टाचार रोक्न र महँगी घटाउन पहल गर्न अनुरोध गर्दै शर्माले भ्रष्टाचार गर्ने जोकोही भए पनि जनताको साथ र सहयोग लिएर चोकचोकमा भ्रष्टाचारीको नामनामेसी लेखेर होर्डिङबोर्ड टाँसी भन्डाफोर गर्ने बताए । ज्ञापनपत्र जिल्ला संयोजक पार्थ कटुवालले वाचन गरेका थिए ।

देउवा सरकारले पेट्रोलियम पदार्थमा एघारौँपटक मूल्य वृद्धि गरेपछि नेकपा (बहुमत) ले शुक्रबार नै पुनः साताव्यापी सङ्घर्ष घोषणा गरेको थियो ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २०७९ साल जेठ २७ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, २९ गते देशैभरिका आयल निगम कार्यालयहरूमा धर्ना दिने, ३० गते काठमाडौँमा प्रधानमन्त्री निवास बालुवाटार र सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना दिने, ३१ गते सिंहदरबार र पालिका कार्यालयहरूमा धर्ना दिने, असार १ गते देशव्यापी मशाल जुलुस निकाल्ने र २ गते १० देखि ११ बजेसम्म देशव्यापी चक्काजाम गर्ने घोषणा गरेका थिए । पार्टी निर्णयअनुसार सरकारले बढाएको मूल्य फिर्ता लिन आग्रह गर्दै देशव्यापी ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :