नेकपा (बहुमत) रामेछापले प्रजिअलाई बुझायो मूल्य वृद्धिविरुद्ध ज्ञापनपत्र

नेकपा (बहुमत) रामेछापले प्रजिअलाई बुझायो मूल्य वृद्धिविरुद्ध ज्ञापनपत्र

मन्थली : नेकपा (बहुमत) रामेछापले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरुद्ध जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापनपत्र बुझाएको छ ।

आज रामेछाप जिल्ला प्रशासन कार्यालयमा पुगेर नेकपा (बहुमत) रामेछाप–दोलखा–सिन्धुलीका इन्चार्ज विनय शर्मा र रामेछाप संयोजक उजिरले सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङलाई जनताको ढाडै सेक्ने गरी निरन्तर वृद्धि गरिएको पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुको मूल्य अविलम्ब घटाउन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउन माग गरे ।

इन्चार्ज शर्माले पार्टीले जनताका पक्षमा, जनतालाई नै साथमा लिएर भ्रष्टाचारी, कालोबजारिया र तस्करलाई निगरानी र कारबाही गर्ने निर्णय गरेको जानकारी गराउँदै यसमा प्रशासनको साथ आवश्यक रहेको पनि प्रस्ट पारेका थिए । दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सबै देशभक्त शक्तिको आवश्यकता पर्ने पनि इन्चार्ज शर्माले बताएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले सबै कम्युनिस्ट पार्टीलाई देश र जनताका पक्षमा एक भएर अघि बढ्न सुझाव दिएकी थिइन् । फुटेर भन्दा जुटेर देश र जनताका पक्षमा धेरै काम गर्न सकिने उनको भनाइ थियो । सहायक प्रजिअ गुरुङले शान्तिपूर्ण गतिविधिका माध्यमबाट जनताका आवाज अघि बढाउन सुझाव दिँदै यस किसिमका काममा प्रशासनको सदैव सहयोग रहने बताएको जानकारी इन्चार्ज शर्माले दिए ।

ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका सदस्य झनक श्रेष्ठले सहायक प्रमुख जिल्ला अधिकारी गुरुङलाई रातो खबर प्रकाशन गृहद्वारा प्रकाशित रातो खबर साप्ताहिक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :