मजदुरको हकहितमा थप सङ्घर्ष गर्ने निर्णय गर्दै ट्रेड युनियन महासङ्घको बैठक सम्पन्न

मजदुरको हकहितमा थप सङ्घर्ष गर्ने निर्णय गर्दै ट्रेड युनियन महासङ्घको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका पदाधिकारीहरूको विशेष बैठक सम्पन्न भएको छ । काठमाडौँमा बिहीबार सम्पन्न बैठकले महासङ्घ आबद्ध बहुमत पेसागत घटक सङ्घ र प्रतिनिधिसहित तत्काल श्रमिक मजदुरहरूका बीचमा जाने र श्रमिक हितविरोधी पक्षविरुद्ध थप सङ्घर्ष सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

पछिल्लोपटक सरकारले सार्वजनिक गरेको बजेटमा महँगी, बजारभाउको अनुपातमा सम्मानित जीवनयापन गर्न अनुकूल हुने योजना नभएको भन्दै महासङ्घको बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रहेका महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापाको अध्यक्षता र सञ्चालनमा सम्पन्न बैठकमा नेकपा (बहुमत) केन्द्रीय समितिका सचिवालय सदस्य शार्दूलको प्रमुख आतिथ्य रहेको थियो । महासङ्घका पदाधिकारी शिशिर थापामगर, ईश्वर बुढाथोकी र कार्यालय सचिव सरोज न्यौपानेले बैठकमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

वैचारिक तथा राजनीतिक प्रशिक्षण दिँदै प्रमुख अतिथि मजदुर फ्याक्सन इन्चार्ज शार्दूलले विद्यमान दलाल संसदीय व्यवस्थाले श्रमिक हकअधिकार र समस्या समाधान नगरेको बताए । उनले वैज्ञानिक समाजवाद स्थापनामा जोड दिँदै यसबारे पार्टीले गरेको निर्णय पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बहुमत पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न विशेष बैठकले केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न गरी मजदुर हकहितका लागि थप सङ्घर्ष गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :