विद्रोहले पैदा गरेको उत्साह

संसदीय संशोधनवाद, सारसङ्ग्रहवाद र निम्नपुँजीवादी स्वच्छन्दतावादका विरुद्ध सम्बन्धविच्छेद गरेर नेपालमा क्रान्तिकारी धारालाई नयाँ उचाइ प्रदान गर्नका लागि क्रान्तिकारीहरूको दस्ताले क्रान्तिक्रारी आन्दोलनलाई पुनर्गठन गरेको छ । दक्षिणपन्थी संशोधनवादी गोलचक्कर, टुटफुट र विभाजनले ग्रस्त नेपाली कम्युनिस्ट आन्दोलनले विप्लव नेतृत्वको पार्टी संसदीय संशोधनवादी बनेर चुनावमा गएपछि फेरि एकपटक धक्का त बेहोरेको छ तर क्रान्तिको नयाँ दिशानिर्देश गर्नका लागि हालै चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाले संसद्‌वादी बाटो पुगेका विप्लव–प्काण्डहरूलाई कारबाही गरेर पार्टी पुनर्गठन गरी नयाँ क्रान्तकारी ध्रुवीकरणको ढोका खोलेपछि क्रान्तिकारीहरूमा नयाँ आशा पनि सञ्चार गरेको छ । भेलाले पारित गरेको राजनीतिक दस्ताबेजले क्रान्तिको कार्यदिशा र कार्यक्रमलाई सङ्गतिपूर्ण बनाएको छ । यसले कार्यनीतिक शृङ्खला तयार गरेको मानिएको छ ।

तत्कालीन नेकपाको ८ औँ केन्द्रीय समितिको १२ औँ बैठकमा विप्लवले प्रस्तुत गरेको सुधारवादी, चुनावपरस्त कार्यनीति असफल गर्दै केही समयपछि क्रान्तिकारीहरूले वैचारिक सर्वोच्चतासहित पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाए र यसलाई नयाँ रूप दिए । यसबाट रन्थनिएको विप्लव–प्रकाण्ड कम्पनी चुनावमा शर्मनाक हार बेहोरेपछि उठ्नै नसक्ने गरी ढलेको छ । आत्मसमीक्षासहित इतिहासका गल्तीहरू सच्याएर अघि बढनुको सट्टा उक्त कम्पनी अहिले क्रान्तिकारी धाराका विरुद्ध मरिमेटेरै लागेको देखिन्छ । क्रान्तिकारी नेताहरूविरुद्ध विभिन्न अनर्गल प्रचार गर्ने र तल्लो स्तरका कार्यकर्ताहरूलाई विभिन्न खालका प्रलोभनहरू देखाउने काम उक्त समूहले गरेको देखिन्छ ।

राष्ट्रिय नाचघरको पत्रकार सम्मलेनमा निकै उदास मुद्रामा प्रस्तुत भएका विप्लवको भाषण र त्यहाँ प्रस्तुत विज्ञप्तिको ७० प्रतिशत विषय भनेको कञ्चन र सुदर्शनहरूलाई गाली गर्नु रह्यो । कञ्चन र सुदर्शनहरूलाई राजनीतिक बहस नगरेरै झोला बोकेर हिँडेको भन्ने आरोप लगाएका विप्लव–प्रकाण्डले पार्टीमा राजनीतिक–वैचारिक छलफल गर्न, विस्तारित केन्द्रीय समितिको बैठक बोलाउन, महाधिवेशनमा लैजान र बहस गर्न हामी त्यहीँ आउँछौँ भनेको १ घन्टा नबित्दै फोन काटेर कारबाहीको विज्ञप्ति निकाल्न हतार गरेका थिए । उनैले अहिले छलफलबाट भागेको आरोप लगाएका छन् । सडकमा छरिएर रहेका, विभिन्न बहानामा छेउ लगाइएका र आफ्नो स्वार्थअनुकूल नभएका ६० प्रतिशत साथीहरूलाई उनीहरूले कथित भगौडाको आरोप लगाएका छन् । अहिले मिडिया र सामाजिक सञ्जालमा ‘ब्ल्याकमेलिङ’ गर्ने, धम्की दिने, आर्थिक प्रलोभन देखाउने र किर्ते गर्ने कार्य विप्लव–प्रकाण्ड कम्पनीका मानिसहरूले गरिरहेका छन् । न्यूनतम् मानवीय समवेदना र राजनीतिक अनुशासनभन्दा बाहिर गएर निकै अशोभनीय तरिकाले विप्लवका केही मान्छेहरू जीवनभर क्रान्तिको पक्षमा रहेका, बर्सौंदेखि निःस्वार्थ काम गरिरहेका कमरेडहरूलाई निम्न र तुच्छ स्तरका गालीगलौज र आरोप गरिरहेका छन् । कतिसम्म भने अस्तिसम्म सँगसँगै मोर्चामा खटेर काम गरेका कमरेडहरूका विरुद्ध प्रतिकार समिति गठन गरेको र केन्द्रीय सदस्य भनिएकाहरूले समेत धम्कीको भाषा प्रयोग गरेको विषय यसअघि नै आइसकेको थियो । विप्लव आफैँमा एउटा वाक्क्षमता भएका व्यक्ति र अहिलेसम्म सत्ताको कुनै पद नलिएका भनेर उनीमाथि भरोसा गर्ने मानिसहरूको सङ्ख्या बढिरहेको थियो । तर पार्टीमा उनी जो मान्छेको सल्लाहमा चले र जसलाई किनारा लगाउने प्रयास गरे, त्यति मात्र नगरेर विभाजन गराउनमा ठूलो भूमिका निर्वाह गरे, निश्चित स्वार्थका लागि विप्लवको साखुल्ले बनेकाहरूले नै भोलि उनलाई गम्भीर समस्यामा पार्ने कुराको राम्रै विश्लेषण भएको पाइन्छ ।

नेकपा (बहुमत) को विशेष राष्ट्रिय भेलाले विप्लवलाई सैद्धान्तिक रूपले सारसङ्ग्रहवादी अधिभूतवादी, राजनीतिक रूपले संसदीय संशोधनवादी, सङ्गठननात्मक रूपले निषेधात्मक अधिभूतवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भनेर किटान गर्दै निम्नपुँजीवादी सुधारवादी विचलनमा गएको निष्कर्षसहित उनीसँग क्रान्तिकारीहरूले सम्बन्धविच्छेद गरिसकेका छन् । समयमै यो क्रान्तिकारी आन्दोलनको पुनर्गठन गरेको कारण क्रान्तिकारी आन्दोलन लामो समय पर धकेलिने खतराबाट बचेको छ । विप्लवका केही मानिसहरूले भन्ने गरेको सुनिन्छ– विप्लवले नगरेको क्रान्ति कञ्चन–सुदर्शनले गर्छन् ? यसको सपाट जबाफ छ– इतिहासमा आएका प्रश्नहरूको जसले ठीक ढङ्गले जबाफ दिन सक्छ, उसले नै क्रान्तिको नेतृत्व गर्नसक्छ । मन्दबुद्धि भनिएका आइन्सटाइन र साग बेचेर हिँड्ने थोमस वैज्ञानिक बनेका छन् । भन्नुको अर्थ निरपेक्ष रूपमा समस्यारहित नेतृत्वको कल्पना गर्नु त असम्भव हुन्छ, बरु परिस्थितिको सामना गर्नसक्ने र सही दिशानिर्देश गर्नसक्ने व्यक्ति नै नेतृत्व हुने हो । बरु क्रान्तिकारी पार्टी र नेतृत्वले माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवादी कार्यदिशा निर्माण गरेपछि सामाजिक सम्बन्धवाट पैदा भएका पुराना आचरण बदल्न जरुरी देखिन्छ । क्रान्तिकारी आन्दोलनलाई पुनर्गठित गरेपछि छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरूमा नयाँ आशा सञ्चार भएको देखिएको छ । यसलाई कसरी व्यवस्थित बनाउने र क्रान्तिकारी आन्दोलनलाई कसरी गति दिने भन्ने विषय नेकपा (बहुमत) को चुनौतीको विषय हो तर पनि क्रान्तिकारीहरूका सामुन्ने असम्भव भन्ने शब्दावली हुँदैनन् । सबैखाले चुनौतीहरूको सामना गर्दै क्रान्तिलाई विजयमा पुर्याइछोड्ने दृढता र अठोट नै नेकपा (बहुमत) का देशभर भएका पार्टी प्रशिक्षण र बैठकहरूले दिएको सन्देश हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :