महासङ्घद्वारा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ लागू हुनै नदिने चेतावनी

महासङ्घद्वारा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ लागू हुनै नदिने चेतावनी

काठमाडौँ : नेकपा –बहुमत) निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले सरकारले अनिवार्य ‘इम्बोस्ड नम्बरप्लेट’ राख्न उर्दी जारी गरेको प्रति गम्भीर आपत्ति प्रकट गर्दै उक्त कार्यलाई राष्ट्रघातीको संज्ञा दिएको छ । महासंघका संयोजक खेम थपलियाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गरी आगामी साउन १ गतेभित्र सवारीधनीले आआफ्नो सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान नगरे कडा कारबाही गर्ने भनी दिएको धम्कीप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ नेपाली भाषा–लिपि, वर्णाक्षर र अङ्कसमेत समाप्त पार्ने आत्मघाती र राष्ट्रघाती दुराशययुक्त छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो सङ्गठनले नेपालमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रक्रियाको सुरुआती चरणदेखि नै देशको सार्वभौमिकतामाथि गम्भीर आँच पुर्याउँदै सिङ्गो राष्ट्र र नागरिकको गोपनीयताको हकसमेत समाप्त पार्ने विषाक्त उद्देश्य र साम्राज्यवादी योजनामा ल्याइएको ‘इम्बोस्ड नम्बर’ प्रति गम्भीर आपत्ति जनाउँदै र तत्काल खारेजीको माग गर्दै आएको बेहोरा सर्वविदितै छ । नेपालमा सञ्चालन हुने कुनै पनि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को प्रयोग हामीलाई सर्वथा अमान्य छ । साम्राज्यवादी योजनामा नेपाललाई उसकै सुरक्षा छाताभित्र राख्ने उद्देश्यका साथ ल्याइएको यसप्रकारको राष्ट्रविरोधी कार्यको जति भत्र्सना र निन्दा गरे पनि कम हुन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ट्राफिक र यात्रुहरूको हितरक्षासँग सरोकार राख्ने नम्बर प्लेटमा नेपाली भाषाको वर्णाक्षर र अङ्क पर्याप्त हुँदाहुँदै पनि आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग गरिनु जनताको नैसर्गिक भाषिक र गोपनीयताको हकको गम्भीर हनन हुनु हो । तथाकथित सरल र प्रविधिमैत्रीको आबरणमा देश र जनताको अस्तित्व समाप्त पार्ने यसप्रकारको साम्राज्यवादी नीति हामीलाई अस्वीकार्य छ । आधुनिक प्रविधिबाट विश्वका अन्य देशले चौतर्फी प्रभाव विस्तार गर्ने तर त्यही प्रविधिको आवरणमा नेपालीहरूलाई खुम्च्याउने यो भयानक षड्यन्त्र हो । नेपालको दलाल संसदीय सत्ताले नेपाल र नेपाली जनताको सार्वभौम अस्तित्वमाथि दिनदहाडै धावा बोल्दै अघि सारेको आत्मघाती, जनघाती तथा राष्ट्रघाती ‘इम्बोस्ड नम्बर प्लेट’ का विरुद्ध हाम्रो सङ्गठन सबै प्रकारको सङ्घर्षको विधि अपनाउन तयार छ । ‘इम्बोस्ड नम्बर प्लेट’ को प्रतिलिपि अधिकार नेपाल सरकार, यातायात मन्त्रालय र यातायात विभागलाई समेत हुँदैन । यसबाट नेपालको सार्वभौमिकतामाथि दीर्घकालीन गम्भीर असर मात्र पुग्दैन, यो हजारौँ आर्टिस्ट मजदुरहरूको रोजीरोटी खोस्दै साम्राज्यवादी स्वार्थ पूरा गर्ने गैरन्यायिक, बेइमानीपूर्ण, जनतामारा तथा राष्ट्रमारा छ । यसले जनताको भाषिक अधिकार र गोपनीयताको हकको खिल्ली उडाउँदै देशको राजस्वसमेत विदेशी कम्पनीलाई बुझाउन बाध्य पार्दैछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आत्मघाती ‘इम्बोस्ड नम्बर प्लेट’ नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८ र धारा ३२(३) समेतको प्रतिकूल हुँदा नेपालमा यो कुनै पनि हालतमा मान्य हुन सक्तैन । हामी नेपालमा कुनै पनि हालतमा ‘इम्बोस्ड नम्बर प्लेट’ लाई लागू हुन दिँदैनौँ । ‘इम्बोस्ड नम्बर प्लेट’ को प्रयोग गर्न कथित सरकारी उर्दीको शतप्रतिशत सशक्त अवज्ञा गर्न हाम्रो सङ्गठन सम्बन्धित सबै सवारीधनीहरूलाई विनम्र अनुरोध गर्दछ । ‘नेपाली नम्बर प्लेट’ हटाउँदै र ‘इम्बोस्ड नम्बर प्लेट’ ‘ग्लोबल भिलेजको अवधारणा आत्मसात गर्न अङ्ग्रेजी अल्फाबेट प्रयोग गर्ने निर्णय गरेको’ भनिए पनि यो सरासर राष्ट्रघाती छ । भनिँदैछ, नेपाल सार्क र बीबीआईएन (भुटान, बङ्गलादेश, इन्डिया र नेपाल) को सदस्यसमेत भएकाले नेपालमा दर्ता भएका सवारीसाधन भारत, बङ्गलादेश, भुटान, चीन मात्रै नभई युरोपसम्म जान सक्नेछन् । इम्बोस्ड नम्बर प्लेटमा जडित हुने अत्याधुनिक प्रविधि आरएफआईडी ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिटेल’ प्रविधिले गाडी रहेको स्थान, गाडीको अवस्थालगायतको जानकारी दिने भएकाले यसले गोपनीयताको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ ९९ प्रतिशत आल्मोनियमबाट रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरी बनाइएको हुन्छ । नेपालको राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले प्रयोग गर्ने नम्बर प्लेटमा ‘इम्बोस्ड नम्बर प्लेट’ प्रयोग हुनाले राष्ट्रिय सुरक्षाको हिसाबले पनि यो मामिला अत्यन्त संवेदनशील र गम्भीर छ । अमेरिकाले बिन लादेनदेखि इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्यासम्म ट्राफिक चेकिङको यही विधि प्रयोग गरेको थियो । ‘इम्बोस्ड नम्बर प्लेट’ मार्फत भेहिकल क्राइम घटाउने भनिए पनि यसले झन् भेहिकल क्राइम बढाउने निश्चित छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन विगत ४० वर्षदेखि राष्ट्रियता र जनपक्षीय कला–साहित्यका पक्षमा कठोर सङ्घर्ष गर्दै आएको छ । नेपालको राष्ट्रियता, भाषा, कलाको रक्षा, विकास र विस्तारमा हाम्रो सङ्गठन निरन्तर क्रियाशील छ । यसर्थ ‘इम्बोस्ड नम्बर प्लेट’ जस्तो मजदुरघाती, भाषाघाती एवम् राष्ट्रघाती कदमका विरुद्ध सशक्त आन्दोलनमा उत्रिन आमजनसमुदायमा हाम्रो सङ्गठन हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :