विप्लव पक्षले सङ्गठनको छाप, लेटरप्याड किर्ते गरेको भन्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को गम्भीर चेतावनी

लेटरप्याड, छाप, विधान, प्रतिवेदन प्रयोग नगर्न र किसानलाई नक्कली अध्यक्ष बनी झुक्याएर भ्रम नफिँजाउन खबरदारी

विप्लव पक्षले सङ्गठनको छाप, लेटरप्याड किर्ते गरेको भन्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को गम्भीर चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठले विप्लव समूहले राष्ट्रिय भेलाबाट चयन भएको आधिकारिक सङ्गठनलाई थाहै नदिई नक्कली सङ्गठन र नक्कली अध्यक्ष बनाएर सङ्गठनको लेटरप्याड, छाप, विधान र प्रतिवेदन दुरुपयोग गरेको भन्दै त्यस्तो गलत काम नगर्न चेतावनी दिएको छ । सङ्गठनका अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को ऐतिहासिक राष्ट्रिय भेला २०७८ साल चैत २४ गते सिन्धुली जिल्लामा भएको अवगत नै छ । उक्त चौथो राष्ट्रिय भेलामा देशैभरिबाट उपस्थित किसान प्रतिनिधिले चयन गरी हरि श्रेष्ठ अध्यक्षसहित ७ सचिवालय सदस्य र २७ केद्रीय सदस्य बनाएको सर्वविदित नै छ । हामी नेपाली किसान आन्दोलनमा लागिपरिरहेका छौँ । यो सम्पूर्ण सङ्गठन पार्टी पुनर्गठन भएपछि ने.क.पा. (बहुमत) मा आबद्ध छ । हाम्रो सङ्गठनको लोगो र छाप दुरुपयोग गरी निर्वाचित सङ्गठनलाई जानकारी नै नदिई विप्लव समूहले नक्कली किसान अध्यक्षमा ओम पुनलाई खडा गरेको पाइएको छ ।’

विज्ञप्तिमा श्रेष्ठले अगाडि भनेका छन्, ‘भेला–सम्मेलन नै नगरी, भेला–सम्मेलनले चयन गरेको कार्यसमितिलाई जानकारी नै नदिई मनगढन्ते तरिकाले बनाइएको कथित अध्यक्षले निकालेको विज्ञप्ति मान्य छैन । किसानले भेलाबाट निर्वाचित गरेको नेतृत्व र किसानले बनाएको लोगो र छाप कोठे बैठकको अध्यक्षले दुरुपयोग गरेकोमा हाम्रो सङ्गठन गम्भीर आपत्ति छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कुनै जानकारीबिना अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का लेटरहेड, छाप, विधान, प्रतिवेदन प्रयोग नगर्न र नेपाली किसानलाई नक्कली अध्यक्ष बनी झुक्याएर भ्रम नफिँजाउन यसै विज्ञप्तिमार्फत खबरदारी पनि गर्दछौँ । बिना भेला–सम्मेलन मनगढन्ते तरिकाबाट नेपाली किसानको नक्कली अध्यक्ष खडा गर्ने काम श्रमजीवी किसानलाई भ्रममा पर्ने हेतुले गरेको देखिन्छ । यसकिसिमका जाल, झेल र षड्यन्त्रबाट भ्रमित नहुन सम्पूर्ण किसानलाई अग्रह गर्दछौँ । साथै नेपाली किसानलाई सतर्क हुन पनि अनुरोध गर्दछाँै । हाम्रो सङ्गठनका निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरू किसानको माझमा किसानको समस्यालाई लिएर अगाडि बढिरहको जनकारी पनि यसै विज्ञप्तिमार्फत गराउँछौँ ।’

स्मरणीय छ, उक्त समूहले हिजो मात्रै नेकपा (बहुमत) सर्लाही–रौतहट संयोजक एवम् नवौँ महाधिवेशन आयोजक समिति सदस्य कुमार राईको नक्कली हस्ताक्षर गरी पार्टी छोडेको भ्रमपूर्ण प्रचार गरेको भन्दै राईले कडा आपत्ति र चेतावनीसहितको सन्देश सार्वजनिक गरेकै समयमा किसान महासङ्घको लेटरप्याड किर्ते गरेको सार्वजनिक भएको हो । सङ्गठन नै नभएको अवस्थामा किर्ते गरीगरी भ्रमपूर्ण प्रचार गर्नु न्यूनतम् राजनीतिक इमानदारी पनि होइन । विप्लव पक्षमा विचार र राजनीति सकिए पनि कतै इमानदारीको लेस मात्र बाँकी छ भने यसप्रकारका निन्दनीय हर्कत नगर्दा नै जाती हुने टिप्पणी सर्वत्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :