क्रान्तिको रङ रातो हुँदा मुलुक अशान्त बग्छ

समय समीक्षा

क्रान्तिको रङ रातो हुँदा मुलुक अशान्त बग्छ

निजी सम्पत्ति र व्यक्तिगत जीवनको मोह नहोउन्जेल प्रचण्ड पनि क्रान्तिकारी थिए र जनयुद्धको नेतृत्व गरिरहेका थिए । जब खारा लडाइँमा हारे त्यसपछि उनी बाबुराममाथि गरिएको कारबाही फुकुवा गर्दै प्रतिक्रियावादी विचार बोकेका दलहरूसँग मिलेर संसदीय व्यवस्था स्वीकार्ने ठाउँमा पुगे

भेरी शान्त बग्छ
खारेज गर कवि
तिम्रो यो शान्तभावको कविता
भेरी निलो छ
खारेज गर दार्शनिक
तिम्रो यो हेराइ
भेरी भेरीजस्तो छैन
भेरी तमाम नदीजस्तो छैन
नवराजको सहादत बोकेर
भेरीमा उर्लेको छ रगत
क्रान्तिको रङ रातो हुँदा
भेरी अशान्त बग्छ

मार्क्सवादी युवा स्रष्टा रसुवाली कविको यो लघु कविताको शीर्षक अलिकति परिमार्जन गर्ने अनुमति मागेको छु । छैन, यति बेला भेरी मात्र होइन, सिङ्गो समाज नै अशान्त–अशान्त छ । प्रतिक्रियावादी सत्ता आफ्नो सुरक्षाका लागि कथित स्थानीय निकायको चुनाव गराएर मख्ख छ । दलाल पुँजीवादी सत्ताका अवयवहरू चुनावबाट आआफ्नो स्थान ओगटेर ढुक्क देखिन्छन् । ठीक यतिबेलै उदाएको छ नेकपा (बहुमत) का नाममा क्रान्तिको एउटा मुस्लो । यो यस्तो मुस्लो हो जसले कथित उच्चजातकी युवतीसँग अन्तरजातीय प्रेम गरेका ‘अपराध’ मा भेरीमा मारेर फालेर मारिएका नवराज विकहरू मात्र होइन, जिउँदै भोक, रोग र शोकले मर्न विवश लाखौँ–करोडौँ श्रमिकको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोष मात्र गरेको छैन, जनक्रान्तिका नाउँमा एकाध उत्तेजक भाषण गरेर देशभक्त र क्रान्तिकारीहरूलाई आठ वर्षसम्म अलमल्याएर आफ्नो पारिवारिक व्यवस्थापन गरेपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयबाट फरार हुने विप्लव–प्रकाण्डहरूलाई पनि सारसङ्ग्रहवादी, आत्मसुरक्षावादी, उग्र वामपन्थी भड्कावबाट दक्षिणपन्थमा पतन भएको करार गरेको छ ।

हिजोसम्म कसैले विप्लव समूह भन्दा रिस र आवेगका हुँकार छोड्ने क्रान्तिकारी तप्का आज हाकाहाकी विप्लव समूह भनिरहेछन् र उनीहरूलाई सारसङ्ग्रहवादी, आत्मसमर्पणवादी भनेर उद्घोष गरिरहेका छन् । विप्लवसँग कुनै लेनदेन र कारोबार नमिलेर वा बिग्रेर होइन, क्रान्ति गर्ने कि नगर्ने भन्ने विषय नमिलेर हो । विप्लवहरू आफैँले ध्वस्त बनाउने भनेको संविधान स्वीकार गर्दै, आफैँले जारी गरेको जनसंविधान खारेज गर्दै, आफैँले अस्वीकार गरेको पुरानो सत्ताका नियम स्वीकार गर्दै मिहीन शैलीमा दलाल पुँजीवादी सत्तामा प्रवेश गर्ने चालढाल देखाएपछि र पार्टी निर्णय उल्लङ्घन गर्दै पुतली समूह बनाएर चुनावमा होमिएपछि हिजोसम्म आदर र सम्मान गरिरहेका नेता–कार्यकर्ताहरू विप्लव प्रवृत्तिविरुद्ध आक्रोशमा आए । यो अन्यथा थिएन र होइन । क्रान्तिको पक्ष र विपक्षमा अन्तरसङ्घर्ष चुलिँदै गएर उनीहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गर्नुपर्नेसम्मको अवस्था उत्पन्न भयो । देशभक्त, क्रान्तिकारी छवि बनाएर आधा दशकमै एउटा भरपर्दो वैकल्पिक शक्ति र नेताका रूपमा स्थापित बनेका विप्लवलाई प्रतिक्रियावादी सत्ताको एउटा चुनावले नै पानीको फोकासरह फुटाएर अस्तित्वविहीन बनाइदियो । नेपाली जनता र नेपालको वर्गसङ्घर्षका लागि यो क्षति हो किनभने प्रचण्ड–बाबुरामले धोका दिएर र मोहन वैद्यले नसकेर अलपत्रमा पर्दै गएको नेपालको क्रान्ति विप्लवको नेतृत्वमा सम्पन्न हुन्छ भन्ने आशा र विश्वास गरेका देशभक्त र क्रान्तिकारीहरूलाई यो बीचको समय बेकार भएर गएको छ । नेकपा (बहुमत) ले पार्टी मात्र होइन, क्रान्तिकारी आन्दोलन नै पुनर्गठित गर्नुपर्ने अवस्था उत्पन्न भएको संश्लेषण गरेको छ । विप्लवहरू हेर्दाहेर्दै एउटा क्रान्ति, आन्दोलन र विद्रोहबाट समूहमा सीमित भएका छन् । प्रतिक्रियावादी सत्ताले आफ्नो रक्षाका लागि गराएको चुनावमा विभिन्न बहाना बनाएर घुसपैठ गर्नु भनेको प्रकारान्तरले हिजो माले–एमाले, प्रचण्ड र एक समयमा मोहन वैद्यको पार्टीको मोर्चाले लिएको चुनावको बाटो समात्नु हो र क्रान्ति असम्भव देख्दै यही सत्तालाई बलियो बनाउने योजनामा फस्नु हो । आज विश्व–साम्राज्यवादले पनि त्यही चाहेको थियो । संसारभरका क्रान्तिकारहिरूले नेपालबाट नयाँ कार्यदिशासहित क्रान्तिको ज्वाला उठ्दैछ भन्ने सोचेका थिए, विप्लवहरूको पलायनले यो ऊर्जा र उत्साहमा भुत्भुते खन्याइदिएको थियो तर समयमै सचेत भएर कञ्चन र सुदर्शनले फेरि क्रान्तिको झन्डा उचालेका छन् र यसलाई धुलो लाग्नबाट जोगाएका छन् । यही अवस्थालाई सम्बोधन गर्दै कवि बीपी विद्रोही भन्छन् :

जहाज चढेर पूर्व लाग्यो कि
बस चढेर पश्चिम लाग्यो
दलाल पुँजीवाद ?
उसले कस्तो कमिज लगाएको छ ?
अन्दाजी कति वर्षको छ
जुँगा मोटो छ कि पातलो ?
कति बजे कुन चोकमा पुग्छ ?
रेकी गरौँ
एउटा कमरेडले अर्को कमरेडलाई खबर गरौँ ।
हामीमाथि लाद्ने अत्याचारको यात्री बोकेर
साँढे पाँच गियरमा हुइँकिरहेको
दलाल सत्ताको गाडीलाई
सुनसान जङ्गलमा रोकेर
बुझाइदिऊँ जनसेनाको डिभिजनलाई
अनि पो जितिन्छ लडाइँ ।

मार्क्सवादी स्रष्टाहरू कसरी हुन्छ, नयाँ कार्यदिशा, नयाँ कला विकास गरेर लडाइँ जित्ने कुरा गरिरहेका छन् तर विप्लव भने एमसीसी र एनसेलले मुद्दा उठाएर मलाई साम्राज्यवादले अमेरिकामा मुद्दा चलाउँदैछ, हेग पुर्याउँदैछ । गोन्जालो बनाउँदैछ । पार्टीभित्र अन्तरसङ्घर्ष चलेको समय पारेर भित्रैबाट घटना गराएको बहाना बनाएर इन्काउन्टर गरेर मार्दैछ भन्दै मृत्युसँग डराउँदै बर्बराउने अवस्थामा पुगे र नक्कली कथाका ताना बुन्ने अवस्थामा पुगे । निजी सम्पत्ति र व्यक्तिगत जीवनको मोह नहोउन्जेल प्रचण्ड पनि क्रान्तिकारी थिए र जनयुद्धको नेतृत्व गरिरहेका थिए । जब खारा लडाइँमा हारे त्यसपछि उनी बाबुराममाथि गरिएको कारबाही फुकुवा गर्दै प्रतिक्रियावादी विचार बोकेका दलहरूसँग मिलेर संसदीय व्यवस्था स्वीकार्ने ठाउँमा पुगे । क्रान्ति बिर्सिए । जनसेना विघटन गरिदिए । जनसत्ता र न्यायालय समाप्त पारिदिए । उनले हजारौँ सहिद–बेपत्ता, लाखौँ क्रान्तिकारी कार्यकर्ता र करोडौँ–अर्बौं श्रमिक जनताको आशा र सपनामाथि भुत्भुते खन्याइदिए । यो घटना जीवन्त हुँदाहुँदै यही प्रवृत्तिलाई महापतन भनेर दुत्कारेको केही वर्षमै कमरेड विप्लवले त्यही बाटो समात्नु भनेको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका लागि त्यति सुखद विषय होइन ।

विप्लवको नेतृृत्वमा नयाँ पार्टी गठन भएपछि जनताले त सोधेकै थिए– विप्लवचाहिँ प्रचण्डजस्तै दलाल र गद्दार बन्दैनन् भन्ने के ग्यारेन्टी छ ? उनीहरूको यस्तो प्रश्नकर्तालाई आश्वस्त पार्दै हामीले भनेका थियौँ– विप्लव क्रान्तिकारी छन्, निःस्वार्थ छन् । उनले आफ्नो सबै सम्पत्ति जनयुद्धमा पार्टीमा बुझाइसकेका छन् । उनले आजसम्म कुनै पनि लाभको पद लिएका पनि छैनन् र लिने सोचाइ पनि बनाएका छैनन् । निजी सम्पत्ति र निजी जीवनको कत्ति पनि चिन्ता नगरेर देश र श्रमिक जनताका लागि लाग्ने निःस्वार्थ नेता भएकाले यिनले क्रान्तिलाई धोका दिने छैनन् । उनको सामान्य जीवनशैली, मिलनसार व्यवहार, ऊर्जाशील र अध्ययनशील आकर्षक व्यक्तित्वका कारण सिङ्गो देशभक्त जनसमुदाय र युवापङ्क्तिले विप्लवको नेतृत्वलाई स्वीकार गरे । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा विप्लव नेतृत्वमा सहरमा हजारौँको सहभागितामा प्रदर्शनहरू पनि भए । भ्रष्टहरूमाथि सर्वोच्च अदालतदेखि बालुवाटारसम्म कारबाही पनि भए । यसले जनताको मन जित्यो । १२ जनाले बलिदान नै गरे । हजारौँ नेता–कार्यकर्ता जेल जान, थुनिन, झूट्टा मुद्दा खेप्न तयार भए तर उनी ३ बुँदे सहमति गरी नराम्रोसँग ढले । यो उनको वा उनका प्रवक्ताको योजनामै थियो भन्ने रहस्यहरू खुल्दै गएका छन् । इतिहासले यसको पुष्टि अवश्य गर्नुपर्छ । यस्तो प्रमाणित भएमा मनमोहन, केशरजङ्ग, मदन मण्डारी वा प्रचण्ड–बाबुरामहरूले खेपेको गद्दारीको भारी विप्लव–प्रकाण्डले पनि संयुक्त रुपमा बोक्नु पर्नेछ ।

तर विप्लवले जनताको यो अपार विश्वास जोगाइराख्न सकेनन् । जनताको विश्वास र कार्यकर्ताले गरेको कठोर त्याग, शौर्य र बलिदानको अवमूल्यन गर्दै विप्लवले पार्टीको अत्यधिक बहुमतको अनादर र अपमान गर्दै चुनावमा होमिदिए । पार्टीलाई संसद्वादी बनाएर आफू सुरक्षित हुने उनको यो दाउ रहेको बुझ्न कुनै समस्या छैन । उनी पनि प्रचण्ड–बाबुरामजस्तै क्रान्ति असम्भव छ भनेर यही व्यवस्थामा घुस्रिए । तर माक्र्सवादी स्रष्टाहरू क्रान्ति सम्भव छैन भन्ने विप्लवदेखि प्रचण्डसम्मका कमजोर तर्कसँग सहमत छैनन् । उनीहरू त्यो मान्न तयार छैनन् । क्रान्ति अवश्यम्भाबी छ भनेर क्रान्तिमार्गप्रति विश्वस्त पारिरहेका छन् नवनेतृत्वलाई । रसुवाली कवि ‘सकिन्छ आँट गरे’ शीर्षकको अर्को एक छोटो कवितामा भन्छन् :

सकिन्छ–सकिन्छ
यो पहाड कटेर
पर–पर, ऊः परसम्म पुग्न सकिन्छ
बोक साथी झोलामा झन्डा
टाढा–टाढा पुग्न सकिन्छ
क्षितिज नियाल्ने अभिलाशा हाम्रो ज्युँदो छ भने
कामेका छैनन् भने हाम्रा गोडाहरू
विचारले सम्झौताको अलिकति पनि सुँघेको छैन भने गन्ध
माकुराका जालोहरू पन्छाउँदै
अवरुद्ध राजमार्गलाई टेक्दै–टेक्दै
‘पहाड खन्ने बूढो मानिस’ जस्तो
गरे साहस र आँट
उक्लनेछौँ हामी देउराली भञ्ज्याङसम्म
साथी
बाटो घुमाउरो भए पनि
यात्रा हाम्रो सुनौलो छ

यात्रा पनि त्यत्ति घुमाउरो छैन, प्रस्ट छ र सीधा छ । जनताका समस्याहरू समाधान भएका छैनन् । देशमाथिका समस्या झन् बढिरहेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अझ बढेका छन् । भ्रष्ट र लुटेराहरूले आफू जनअनुमोदित भएको ऐलान गर्दै देश लुछिरहेका छन् । यस्तो अवस्थामा यात्रा सीधासीधा छ । दलाल पुँजीवादका सारथीहरू बढेका छन् र क्रान्तिकारीहरू पनि केन्द्रीकृत बनिरहेका छन् । यसै मेसोमा जन्मिएको हो कायरहरूलाई बर्खास्त गर्दै नेकपा (बहुमत) पार्टी ।

नेपालको राजनीतिक–सामाजिक–सांस्कृतिक आन्दोलनमा यसबीचका दुई महिनामा धेरै उथलपुथल आएका छन् । यी दुई महिना नेपालको कम्युनिस्ट अन्दोलनमै महत्व राख्ने दिनहरू हुन् । यद्यपि आन्दोलनकै क्रममा रहेको कम्युनिस्ट पार्टीका लागि प्रत्येक दिन उत्तिकै अर्थपूर्ण हुन्छन् तर पनि गोलचक्करमा फस्दै गएको आन्दोलनलाई माथि उठाउन पछिल्ला यी दिनहरू अत्यन्तै महत्वका छन् । यो समयले बारम्बार विद्रोह र क्रान्तिको आह्वान गरिरहेको छ । लालशिशु जन्माउने अपेक्षा गरिएको अवस्थामा समयले यसअघि फेरि मुर्दा नै जन्माएको भन्दै कवि अशोक सुवेदीले तीक्ष्ण टिप्पणी गरेका छन् :

हुचिल नकराईकनै देखियो अपशकुन
क्रान्तिका पुलिन्दाहरूबाटै जन्मियो भ्रान्ति
महापतनका नाराहरू प्रतिध्वनित हुँदाहुँदै
जन्मियो अति–पतन, शीघ्र–पतन !

म त झुक्दिनँ भन्दै थियो दुस्मनसामु
म त बिक्दिनँ भन्दै थियो पैसामा
देश, जनता र वर्गलाई घात गर्ने कुरा
म त सिक्दै–सिक्दिनँ पो भन्दै थियो !
आएझैँ दैनिक विदेशबाट दर्जनौँ लासका बाकसहरू
किन धमाधम मुर्दा जन्माइरहेछ समय ?
गर्भाधान त लालशिशुकै लागि गरेकी थिइन् क्रान्तिआमाले
कुन दुष्टले ठक्कर दियो फेरि पेटमा
र जन्माइन् मुर्दा
देशभक्त, क्रान्तिकारी योद्धा जन्माउने
मेरी आमाको सुपरिचित कोख
मुर्दा जन्माउनै सक्तैन ।

समयले फेरि क्रान्तिको निरन्तरता खोजेको छ । यो अपेक्षालाई क्रान्तिकारीहरूले निरन्तरता दिनुपर्छ र यसअघिका प्रश्नहरू दोहोरिन दिनु हुँदैन । क्रान्ति एक मात्र त्यस्तो उपाय हो, जसले सबै समस्याको समाधान र प्रश्नहरूको जबाफ दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :