हामीले त क्रान्तिकारी भई देखाउनु छ

कविता

हामीले त क्रान्तिकारी भई देखाउनु छ

देशभक्तिको गीत गाऊँ, नगाऊँ स्तुतिगान
सम्मान पाउन अरूलाइ दिनुपर्छ सम्मान
देशकै सन्तान बन्नुपर्छ टोले बन्नु हुन्न
क्रान्तिकारी योद्धा बनौँ झोले बन्नु हुन्न
देशका लागि लड्नेहरू पत्ती–तास हैन
बन्नुपर्छ बहादुर वीर कसैको दास हैन
कहीँ पनि धन–पैसामा फ्याट्ट बिक्नु हुन्न
टेकिएका दह्रा–पाइला फुत्त झिक्नु हुन्न
जनताका सेवक बनौँ हामी क्रान्तिकारी
बोक्नुपर्छ जनताले बोकाएको भारी
जनताको घर–दैलो जाऊँ सबै अहम् त्यागी
भन्नुपर्छ लडेका छौँ श्रमिककै लागि
हाम्रो पहिचान नम्रता हो नम्र बनौँ जहिले
घमण्डले मात्तिएर हिँड्नु हुन्न कहिले
मन्द मुस्कान मीठो वचन बोली बोल्नुपर्छ
अशक्त र निमुखासँग नाता जोड्नुपर्छ
हाम्रो लक्ष्य वर्गविहीन समाज निर्माण गर्नु
दुःखी रोगी दुखियारीको दुःख हरण गर्नु
जनघाती, देशघातीलाई हामीले छान्नुपर्छ
द्रव्यपिशाच सूदखोरलाई छड्के हान्नुपर्छ
स्वास्थ बनौँ सफा बनौँ फोहोर बन्नु हुन्न
श्रमिक बनौँ, मेहनती हौँ कामचोर बन्नु हुन्न
श्रमिकको रगतमा सिमेन्ट मुछ्नु हुन्न
समाजवादको नारा बोकी जनता चस्नु हुन्न
बिनाज्याला श्रमिकलाई काम नलगाऊँ है
श्रमिकलाई इँट बनाई महल नठड्याऊँ है
हामीले क्रान्तिकारी भई काम देखाउनु छ
सही–सत्य इतिहास हामीले लेखाउनु छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :