नेकपा (बहुमत) रूपन्देहीको पुनर्गठन

नेकपा (बहुमत) रूपन्देहीको संयोजकमा प्रवेश

नेकपा (बहुमत) रूपन्देहीको पुनर्गठन

बुटवल : विशेष जिल्ला भेलाबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रूपन्देहीको पुनर्गठन भएको छ । सहिद समृति भवन, बनवाटिकामा मङ्गलबार आयोजित विशेष जिल्ला भेलाबाट जिल्ला समिति पुनर्गठन गरिएको हो । भेलाबाट नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य प्रवेश संयोजक रहने गरी ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति पुनर्गठन गरेको छ ।

भेलामा नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलको प्रमुख आतिथ्य रहेको थियो । भेलामा शार्दूलले तत्कालीन महासचिव विप्लवले धोका दिएपछि पार्टी पुनर्गठन गरेको बताए । विप्लवमा सैद्धान्तिक वैचारिक हिसाबले सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपमा निषेधात्मक अभिधूतवाद, सङ्घर्षमा आत्मसुरक्षावाद हावी भएपछि पार्टीमा समस्या आएको भन्दै आफूहरूले त्यसलाई सच्याएर पार्टीलाई सही दिशामा लैजान अधिक प्रयत्न गरेको तर विप्लव स्वयम् नै नसच्चिने अवस्था देखेपछि पार्टी पुनर्गठन गर्नुपरेको उनले बताए । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको एकताको समेत पहल गर्ने र वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने उनले बताए ।

भेलाको अध्यक्षता गरेका प्रवेशले मजदुर, किसान, युवा, विद्यार्थीलाई कम्युनिस्ट पार्टीमा नयाँ ढङ्गले गोलबद्ध गर्ने योजना रहेको बताए । उनले गाउँ–सहर सबैतिर सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको किल्ला बनाउने बताए । आफूहरू जनताको सेवा र न्यायका लागि निरन्तर लड्ने भन्दै उनले दलाल, माफिया, कमिसनखोर, जनताका वैरीलाई जनकारबाही गर्ने चेतावनी पनि दिए ।

भेलामा नेकपा (बहुमत) अर्घाखाँची संयोजक नवीन, नेता सञ्जीव, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य सन्तोष, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्यद्वय इन्दु र पारस राहादीलगायतको आतिथ्य रहेको थियो । भेलामा प्रवेशले अध्यक्षता, रेखाले सञ्चालन र सुनिलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :