अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरमा बुझायो ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरमा बुझायो ज्ञापनपत्र

काठमडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) चितवनले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका केन्दीइ सदस्य एवम् जिल्ला संयोजक विकल्प खत्री, केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायत विद्यार्थीले नगर शिक्षा अधिकारी महेन्द्र पौडेललाई यातायातमा भएको ४५% छूट कार्यान्वयन, शैक्षिक प्रमाणपत्रका नाममा लिइएको असमान शुल्क खारेज गर्नुपर्नेलगायत १४ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

विकल्प खत्रीको हस्ताक्षरसहित विद्यार्थी सङ्गठनले महानगरमा बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ यसप्रकार रहेको छ :

त्याग, बलिदान र सङ्घर्षको रक्तरन्जित इतिहास निर्माण गर्दै सडकबाघका रूपमा स्थापित हाम्रो महान् तथा गौरवशाली सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएको दलालीकरण, माफियाकरण, निजीकरण र भ्रष्टीकरणका विरुद्ध सदैव सङ्घर्ष गर्दै आइरहेको कुरा यहाँहरूमा सर्वविदितै छ । यसै सन्दर्भमा यस भरतपुर महानगरका शैक्षिक क्षेत्रमा रहेका विभिन्न शैक्षिक समस्याहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त शैक्षिक समस्याहरू हल गर्न निम्न मागहरूसहितको ज्ञापनपत्र पेस गरेका छौँ :

मागहरू

१. शैक्षिक प्रमाणपत्रका नाममा लिइएको असमान शुल्क तुरुन्त खारेज गर ।
२. यातायात व्यवसायीहरूसँग भाडामा ४५% छूट सहमति अनिवार्य लागू गर ।
३. संस्थागत विद्यालयहरूमा कक्षा अपग्रेडिङका नाममा बर्सैपिच्छे लिइने शुल्क बन्द गर ।
४. सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमका नाममा लिइने शुल्क बन्द गर्नुका साथै आवश्यक पाठ्यपुस्तक तथा पोसाकको निःशुल्क व्यवस्था गर ।
५. विद्यार्थी सङ्ख्याका आधारमा भौतिक संरचना तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नुका साथै पढाइ हुने दिनको मात्र शुल्क लिने व्यवस्था गर ।
६. सम्पूर्ण विद्यालयहरूमा सेनिटरी प्याडका साथै चिकित्सकसहितको प्राथमिक उपचार सामग्रीको व्यवस्था गर ।
७. विभिन्न शीर्षकमा बर्सैपिच्छे लिइने सम्पूर्ण शुल्कहरू खारेज गर्नुका साथै वृद्धि गरिएको शुल्क समायोजन गर ।
८.CTEVT अन्तर्गत सञ्चालन हुने शैक्षिक संस्थाहरूमा सरकारले तोकेको बाहेक लिइने अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर ।
९. TU/KU अन्तर्गत पढाइ हुने मेडिकल शिक्षामा मेडिकल काउन्सिलले तोकेभन्दा लिइने अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर ।
१०. सम्पूर्ण शैक्षिक संस्थाहरूका शिक्षक कर्मचारीहरूलाई नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक लागू गर ।
११. प्राविधिक शिक्षा अध्यापन गर्नका लागि सर्वसुलभ शुल्कमा पढ्ने व्यवस्था लागू गर ।
१२. उच्च शिक्षा हासिल गरिसकेका दक्ष जनशक्तिलाई नेपालमा नै काम गर्ने व्यवस्था गर ।
१३. हिसान र प्याब्सनसँग भएको सम्झौता तुरुन्त लागू गर ।
१४. निःशुल्क, समान, अनिवार्य वैज्ञानिक शिक्षा लागू गर ।

पुनश्चः हाम्रा यी मागहरूलाई बेवास्ता गरेको खण्डमा हामी कडा सङ्घर्षमा उत्रिनुका साथै त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सम्बन्धित निकायको नै हुने कुरा पनि यसै ज्ञापनपत्रबाट जानकारी गराउँछौँ ।

विकल्प खत्री
संयोजक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :