निर्वाचन !

कविता

जताततै मेलाको रौनक
ग्राहकको पर्खाइमा
गाउँले र सहरियाहरू
रङ्गीविरङ्गी सपना
आश्वासनका पोका
मासुभात र रक्सीको सगुनले
लठ्याएर
फेरि सौदागरहरू
उधारो सौदाबाजीमा
मुन्टो झुकाएर
झन्डा उठाएर
दुवै हात जोडी
भिक्षान्देहीको शैलीमा
पाँचबर्से जागिर पक्का गराउन
तपाईं/हाम्रो घरआँगनमा ।
नयाँ–पुराना अनुहार
नन्दीभृङ्गी अघिपछि लगाएर
ठूलाठूला बाचा गर्दै
सिनोवरिपरि
झिँगा भन्केजस्तै
फन्को मार्दैछन् फेरि पनि !
हिजो ढाँटेका थिए
आज ढाँट्दैछन्
फेरि पनि ढाँटिरहन्छन्
उनीहरू !
ढाँटेको थाहा हुँदाहुँदै
फेरि पनि
आफ्नो अमूल्य मत
केही पैसा, चिप्ला कुरा र
फोस्रा आश्वासनमा
बेचिरहेका छौँ अझै पनि !
उनीहरू झुक्याइरहन्छन्
झुक्याउन सकेकोमा
दङ्ग छन् उनीहरू
झुक्किए पनि
ठगिए पनि
लुटिए पनि
देख्दादेख्दै
दास भइसक्दा पनि
पछुतो छैन हामीलाई
डरले हो कि करले
वा हो रहरले
हामी झुक्किएजस्तो गरिरहन्छौँ
अनि बेचिरहेका छौँ
आफ्नो अमूल्य मत
कौडीको भाउमा ।
दान दिएको
मेरो अमूल्य मतले
गर्छु भनेको केही गर्दैन
गर्दिनँ भनेको दोहोर्याइरहन्छ
साधुलाई शूली चढाउँछ
चोरलाई चौतारो सुम्पन्छ
विदेशीका पाउमा लम्पसार परेर
राज्यको ढुकुटीमा दाइँ गर्छ
परिवर्तनको संवाहक ठानेको
मेरो अमूल्य मत
भ्रष्टाचार र राष्ट्रघातको
मतियार बनिरहेको छ
तर पनि म मौन छु
खाली पेट, नाङ्गो शरीर लिएर
नारा लगाइरहेको छु
अनि
ओफ्नो अमूल्य मत बेचिरहेको छु
उही पुरानो भिडमा मिसिएर ।

२२ वैशाख, २०७९

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :