पार्टी नेतृत्वले आत्मसुरक्षावादी र पलायनवादी नीति लिएको भन्दै जनपत्रकारद्वारा विद्रोहको चेतावनी

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपाल, केन्द्रीय समितिमा आबद्ध पत्रकारहरूले आफ्नो सङ्गठनले वैचारिक सहयोग गर्दै आएको पार्टी नेपाल कम्युनिस्ट पार्टीको मूल नेतृत्व महासचिव विप्लवले नै आत्मसुरक्षावादी र पलायनवादी नीति लिँदै पार्टी केन्द्रीय समितिको १२ औँ बैठकका निर्णयहरू उल्लङ्घन गरेकाले गलत नीति र निर्णय नसच्याइए जनपत्रकारहरूले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

जनपत्रकार सङ्गठन नेपाल, सम्मेलन आयोजक समितिमा रहेका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष प्रकाश थापा, केन्द्रीय कार्यालय सदस्य केशव सन्ज्याल, निवर्तमान केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष जितेन्द्र महर्जन, केन्द्रीय सदस्य रमाकान्त बास्तोला र केन्द्रीय सदस्य मुक्ति गैरेले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मुलुक र पार्टीभित्र विषम परिस्थिति उत्पन्न भएको समयमा सङ्गठनका संयोजक शेरबहादुर विक मौन रहने मात्र होइन, उल्टै पार्टीका शीर्ष नेतृत्वका विरुद्ध गालीगलौजको स्तरमा उत्रिनुले आफूहरू स्तब्ध भएको उल्लेख गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

हाम्रो जनपत्रकार सङ्गठन नेपाल नेपाली जनताका पक्षमा जनपक्षीय पत्रकारिताको माध्यमबाट सर्वहारावर्गीय दृष्टिकोणमा स्पष्ट भई कलम चलाउँदै आएको गौरवपूर्ण इतिहास छ जुन इतिहासले हामीलाई अनवरत सर्वहारावर्गीय मुक्ति आन्दोलनको क्रान्तिकारी मार्गमा हिँड्न र हिँडाउन सचेत र जिम्मेवार बनाएको छ । हामीले वैज्ञानिक समाजवाद स्थापनाका निमित्त कलम चलाउँदै गर्दा विद्यमान दलाल पुँजीवादी, नोकरशाही संसदीय व्यवस्थाले हामीमाथि पटकपटक दमन, जेल, नेल, यातनालगायत शृङ्खलाबद्ध आक्रमण गरेको छ । दलाल पुँजीवादी राज्यसत्ताले उत्पन्न गरेका अन्यायका विरुद्ध सम्पूर्ण मोर्चाबाट लड्दै र जित्दै आएका छौँ । वैज्ञानिक समाजवाद स्थापनामा लागिरहेको नेपाल कम्युनिस्ट पार्टीको विचारसँग नजिक भएर जनपत्रकार सङ्गठन नेपालले श्रमिक वर्गले सञ्चालन गरेको सङ्घर्षलाई समर्थन र साथ दिँदै आएको छ ।

हामीले साथ दिँदै आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गत चैतमा काठमाडौँमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठक र शिवगढी कपिलवस्तुमा बसेको १२ औँ केन्द्रीय समितिको बैठकमा दलाल पुँजीवादी संसदीय व्यवस्थाले गराउने स्थानीय निर्वाचनमा सहभागी हुने भनी पेस गरेको राजनीतिक प्रतिवेदनले हामीलाई आश्चर्यचकित बनाएको थियो । दलाल संसदीय व्यवस्थालाई खुसी पार्न नेपालको माओवादी जनयुद्ध र कम्युनिस्ट दृष्टिकोणमाथि कब्जा गरिएको दिन दलाल संसदीय व्यवस्था (कथित लोकतन्त्र दिवस) वैशाख ११ गते क्रान्तिकारी हेडक्वार्टरका सदस्य कमरेड कञ्चन र सुदर्शनमाथि अप्रत्याशित एवम् नियोजित निष्कासन र मे दिवस (वैशाख १८) का दिन क्रान्तिको आह्वान गर्नुपर्ने समयमा प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनावमा मतदान गर्न आह्वान गरेको घटनाले हामीलाई अत्यन्त आक्रोशित नै बनाएको छ ।

वर्गसङ्घर्षबाट भाग्ने महासचिवको त्यो प्रस्तावले सम्पूर्ण न्यायप्रेमी, मुक्तिकामी जनसमुदायलाई पनि तरङ्गित पारिरहेको छ । शिवगढीमा पार्टीको बैठक बस्दै गर्दा महासचिव विप्लवका स्वकीय सचिवले रातो खबर साप्ताहिक र ईरातोखबर अनलाइनमा प्रकाशित सम्पादकीय, लेख, समाचारमाथि हस्तक्षेप गर्दै पत्रकारहरूमाथि दबाब दिएको विषय जनपक्षीय सञ्चार क्षेत्रका लागि सुखद होइन । जनपत्रकार सङ्गठनका संयोजक शेरबहादुर विकले सचिवालयको बैठक राखेर रातो खबरमा काम गर्ने सङ्गठनकी एक सदस्यलाई अत्यन्त विवादास्पद लेख ईरातोखबर अनलाइनमा प्रकाशन गर्न लगाएको विषय पनि त्यति प्रिय छैन ।

साथै उक्त घटनाप्रति निष्पक्ष रूपमा प्रेस जगत्को रक्षाका निमित्त हाम्रो सङ्गठनका सम्मेलन आयोजक समितिका संयोजक शेरबहादुर विक बोल्नुपर्ने अवस्थामा मौन बस्नुले हामी आश्चर्यचकित मात्र होइन, विस्मितसमेत भएका छौँ । बरु उल्टै दुई दिनअगाडि उहाँले नेपाल कम्युनिस्ट पार्टीको सैद्धान्तिक बहसमाथि पक्ष–विपक्ष बनाएर सामाजिक सञ्जालको दुरुपयोग गर्दै नेता क. सुदर्शनमाथि गम्भीर विवादास्पद अभिव्यक्ति दिनुभएको छ । उहाँ यस्ता नकारात्मक सन्देश प्रवाह गरी महासचिवको विज्ञप्तिलाई सहयोग पुग्ने गरी फुटपरस्त बाटोमा लाग्नुभएकाले उक्त कार्यको भत्र्सना गर्दै वैचारिक प्रतिरोधात्मक दिशामा उन्मुख हुन बाध्य भएका छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :