नवसंशोधनवादका विरुद्ध क्रान्तिकारी झन्डा उठाउने नेकपा दोलखाको उद्घोष

काठमाडौँ : नेकपा दोलखाले नवसंशोधनवादका विरुद्ध विद्रोहको झन्डा उठाउने उद्घोष गरेको छ । नेकपा दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको मूल नेतृत्व दर्शनमा सारसङ्ग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी विसर्जनवादी, वर्गसङ्घर्षको दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिकोणले जुझारु अर्थवादी बनेर क्रान्तिकारी नेता कञ्चन र सुदर्शनमाथि कारबाही गरेकाले उक्त कारबाही फिर्ता लिई आफ्ना कमजोरीहरू नसच्याएमा क्रान्तिकारी विद्रोहको झन्डा उठाउने चेतावनी दिएका छन् ।

सेक्रेटरी आकाश शर्माले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने आन्दोलनमा निरन्तर समर्पित भएर लागिरहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाल र राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्षरत छ । हामी महान् सहिदले देखाएको बाटोमा लामबद्ध छौँ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका समस्याहरू अझ पनि ज्यूँका त्यूँ छन् । दर्शनमा सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी विसर्जनवाद, वर्गसङ्घर्षको दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिकोणले जुझारु अर्थवादका विरुद्ध निरन्तर कम्युनिस्ट क्रान्तिकारीहरू लडिरहेका छन् । क्रान्तिकारी आन्दोलनमा पनि मूल नेतृत्वबाट निरन्तर नेपाली जनतालाई घात हुँदै आएको छ ।’

सेक्रेटरी शर्माले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हालै सम्पन्न पार्टीको आठौँ केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठकको एक मतले आगामी स्थानीय चुनाव प्रयोग नगर्ने, एमसीसीविरोधी, राष्ट्रिय स्वाधीनता पक्षधर, स्वच्छ छवि भएका व्यक्तिलाई सहयोग गर्न सकिने, दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय गरेको थियो । निर्णयको कालोमसी नसुक्दै यही दलाल संसदीय व्यवस्थाले गराएको स्थानीय चुनावमा पार्टी केन्द्रीय सदस्यदेखि पार्टी जिल्ला सेक्रेटरी र सदस्यहरूसम्मलाई स्वतन्त्रको हवाला दिँदै उठाउन दुरुत्साहन गर्दै उठाइयो । यो दृष्टिकोण र विचारले पार्टी महासचिव कमरेड विप्लव र पार्टी प्रवक्ताले नै निर्णय उल्लङ्घन गर्नुभयो । कमरेड कञ्चन र सुदर्शनले बाह्रौँ केन्द्रीय समितिको बैठकको निर्णय पार्टी नेता र कार्यकर्ताले हुबहु लागू गर्नुपर्छ भन्दा कारबाही गरियो । यो निर्णय फुटाऊ र राज गर भन्ने कोणबाट ग्रसित थियो । यो कारबाही तत्काल खारेज गरी पार्टी क्रान्तिलाई एकढिक्का बनाउन आग्रह गर्दछौँ । साथै दोलखा जिल्ला समिति नवसंशोधनवादका विरुद्ध पूर्ण रूपमा क्रान्तिकारी झन्डा झुक्न नदिने प्रतिबद्धता यसै विज्ञप्तिद्वारा गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :